Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

भालुढुङ्गामा सांस्कृतिक एवम धार्मिक संरचना अनावरण

भालुढुङ्गामा सांस्कृतिक एवम धार्मिक संरचना अनावरण

  • सन्देश सम्वाददाता
  • शनिबार, फाल्गुन १० २०७६


भालुढुङ्गामा सांस्कृतिक एवम धार्मिक संरचना अनावरण

इलाम : इलाम नगरपालिका वडा नं ६ मा रहेको उत्कृष्ट पर्यटकीय गन्तव्य ओढारे भालुढुङ्गाू मा निर्माण भएका सांस्कृतिक तथा धार्मिक महत्त्वपूर्ण संरचनाहरुको अनावरण कार्यक्रम आज सम्पन्न भयो ।भालुढुङ्गा सामुदायिक पर्यटन प्रवर्द्धन विकास संस्थाका अध्यक्ष श्री हरि गुरुङ्गको अध्यक्षता एवं इलाम नगरपालिका प्रमुख श्री महेश बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न मूर्ति सहितका संरचनाहरुको अनावरण गरिएको थियो ।


कार्यक्रममा डिभिजन वन कार्यालय इलामका प्रमुख, इलाम नगरपालिका वडा नं। ६ का वडाअध्यक्ष श्री माधव भट्टराई, जिल्ला युवा समितिको कार्यालय इलामका अध्यक्ष श्री नवराज शंकर, इलाम नगर पर्यटन प्रवर्द्धन समितिकी कार्यवाहक अध्यक्ष श्री सुशिला सापकोटा, भालुढुङ्गा सामुदायिक वनकी अध्यक्ष श्री पवित्रा ढकाल, हरितनगर महिला समूहकी अध्यक्ष श्री रिना घिमिरे लगायतले सफलताको लागि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


अनावरण कार्यक्रममा इलाम नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्यहरू र विभिन्न संघ, संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । संस्थाका उपाध्यक्ष श्री रजिन खडकाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका सल्लाहकार सुदिप श्रेष्ठले गरेका थिए । पर्यटकीय गन्तब्य भएपनि ओझेलमा परेको सो क्षेत्रमा बिगत दुईबर्षदेखि पर्यटन बिकासका निम्ति काम भइरहेको छ । ११ हेक्टर क्षेत्रफलमा फैलिएको ओडारे भालुढुङ्गा सामुदायिक वनभित्रको चार हेक्टर क्षेत्रफलमा संस्थाले पर्यटन बिकासको गतिबिधि गर्दै आएको छ । सो ठाउँमा दुईवटा भालुढुङ्गा र चमेरे गुफा रहेको छ । इलाम बजारदेखि ३ किलोमिटर टाढा रहेको यो क्षेत्र छोटो समयमा नै स्थानीयको प्रयासले पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको हो ।


हराभरा जंगल, गुफा, धार्मिकस्थल लगायतले भरिएको शान्त भालुढुङ्गा क्षेत्रमा अब संस्थाले पर्यटकलाई जंगल सफारी समेत गराउने गरी जंगलभित्र बाटो निर्माण र चौतारो बनाउने कामलाई अघि बढाउन लागेको छ । भालुढुङ्गासम्म पुग्न ग्राभेल सडक विस्तार भएको छ । चियाबारीको मनोरम दृष्यावलोकन गर्दै पुगिने भालुढुङ्गा पारिवारिक घुमघाम र तन्नेरीका लागि रोजाईमा पर्ने गरेको छ ।
यो क्षेत्र दृश्यावलोकनका लागि पनि अब्बल मानिन्छ । छिन्टापु, सन्दकपुर, जौवारीलगायत जिल्लाका अग्ला थुम्कासहित बेंसीका फाट र घोडाको मुख जस्तो लाग्ने पुवाखोलाले फन्को मारेको दृष्य यहाँवाट देख्न सकिन्छ । यस क्षेत्रमा रहेका सिंहदेवी, जलपादेवी, जलकन्यादेवीको मन्दिरले धार्मिक आस्था बोकेकाहरूको मन भुलाउछ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार