१५ बर्षिय नेपाली युवा ब्याटसमेन कुशल मल्लले आईसीसी विश्वकप लिग २ अन्तर्गतको खेलमा अमेरिका विरुद्ध अर्धशतक प्रहार गरेका छन् । अर्धशतकसँगै दिवशीय क्रिकेटमा ५० रन पुरा गर्ने उनी कान्छा खेलाडी बनेका छन् । यसअघि कीर्तिमान रोहित कुमार पौडेलको नाममा थियो । गत बर्ष युएईविरुद्धको एक दिवशीय सिरिजमा रोहितले अर्धशतक बनाएका थिए । त्यसबेला उनी १६ वर्ष र एक सय ४६ दिनका थिए ।
कुशल भने १५ वर्ष ३४० दिनका भएका छन् । संयोगवश रोहितको स्थानमा कुशलले खेल्ने अवसर पाएका थिए । उनले ४९ बलमा चार चौका र तीन छक्का प्रहार गर्दै बायाँ हाते व्याट्समेनले अर्धशतक पुरा गरे । २०.५ ओभरमा ४९ रनमा ५ विकेटको रुपमा आरिफ शेख पेभेलियन फर्किपछि क्रिजमा आएका कुशलले विनोद भण्डारीसँगको मिलेर नेपालको इनिङ सम्हालेका थिए । तर ३५ ओभर २ बलमा करिमा गोरेले हुचिन्सको हातबाट क्याच गराउँदै कुशललाई पेभेलियन फर्काएका थिए ।
कुशलपछि क्रिजमा आएका करन केसी २१ बलमा १२ रन बनाएर करन केसीले पेभेलियन फर्किए । उनलाई स्टेभेनसनले विकेटकिपर अक्षय होमराजद्धारा क्याच आउट गराए । करनपछि क्रिजमा आएका सन्दिप लामिछाने २ बल खेल्दै डक आउट भएका छन् । यसअघि उनले ओमन विरुद्ध २८ रन बनाएका थिए । अहिले क्रिजमा विनोद भण्डारी र सुशन भारीले नेपाली इनिङ सम्हालिरहेका छन् । टस हारेर व्याटिङ थालेको नेपालका लागी ओपनर सुवास खकुरेल १० बलमा जम्मा ३ रन जोड्दै पेभेलियन फर्किए। यस्तै, कप्तान ज्ञानेन्द्र मल्ल ३९ बलमा २१ रन बनाउँदै आउट भए। पारस खड्का ५२ बलमा १९ रन, दिपेन्द्रसिंह ऐरी २ बलमा शुन्य रन र आरिफ शेख १६ बलमा २ रन बनाउँदै आउट भएका छन्।