पाँचथर । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र बिष्टलाई स्वतन्त्रता सेनानी पुरस्कारबाट पुरस्कृत तथा सम्मानित गरिने भएको छ ।
नेपाल पत्रकार महासंघका पूर्व सभापति हरिहर बिरही र डा.महेन्द्र बिष्ट सहित सात जना पत्रकार पुरस्कृत गर्ने निर्णय भएको हो । नेपाल पत्रकार महासंघ पाँचथर शाखाले प्रदान गर्दै आएको स्वतन्त्रता सेनानी पत्रकारिता पुरस्कार तथा सम्मानबाट महासंघका पूर्व अध्यक्षद्वय बिरही र बिष्ट पुरस्कृत हुने शाखा अध्यक्ष लवदेव ढुङ्गानाले बताए ।
३३ हजार तीन सय रुपैंयाँ रासीको स्वतन्त्रता सेनानी पत्रकारिता पुरस्कार तथा सम्मान २०७६ बाट बिरहि र २०७७ बाट बिष्टलाई पुरस्कृत तथा सम्मानित गर्ने निर्णय भएको नेपाल पत्रकार महासंघ पाँचथर शाखाले जनाएको छ । उक्त पुरस्कार तथा सम्मान २०७७ जेठ १५ गते गणतन्त्र दिवशका दिन प्रदान गरिनेछ । सो अवशरमा नेपाल पत्रकार महासंघ पाँचथर शाखाको नवनिर्मित भवनको उद्घाटनसँगै मिडिया सम्मेलन गरिने अध्यक्ष ढुंगानाले बताए । महासंघ पाँचथर शाखाको हालै बसेको कार्य समिति बैठकले उक्त निर्णय गरेको हो । बैठकले फिदिम नगरपालिकाबाट प्राप्त हुँदै आएको नगर बिकास पत्रकारिता पुरस्कारबाट पत्रकार कविन्द्र शेर्मा र गिरिराज बाँस्कोटालाई प्रदान गर्ने निर्णय गरेको छ ।
नगर बिकास पत्रकारिता पुरस्कार २०७६ बाट पाँचथर मिडिया प्रा.लि.का अध्यक्ष पत्रकार कविन्द्र शेर्मा र २०७७ सालको नगर बिकास पत्रकारिता पुरस्कार नागरिक दैनिकका पाँचथर संवाददाता गिरिराज बाँस्कोटालाई प्रदान गर्ने निर्णय भएको हो । पुरस्कारको राशी दश हजार रुपैंयाँ रहेको छ । त्यस्तै हरिचरण–भद्रमाया वातावरण पत्रकारिता पुरस्कार २०७६ बाट सुम्हात्लुङ एफ.एम.की पत्रकार शान्तिदेवी राई २०७७ बाट इगल एफ.एम.मा कार्यरत पत्रकार उपेन्द्र येक्तेनलाई पुरस्कृत गर्ने निर्णय बैठकले गरेको छ । पाँच हजार ५५५ रुपैंयाँ रासीको उक्त पुरस्कार आफ्ना दिवाङ्गत माता–पिताको स्मृतिमा फिदिमका व्यवसायी नरेन्द्र अधिकारीले स्थापना गर्नुभएको हो । यसरी नै प्रजापति–जालपादेवी खेलकुद पत्रकारिता पुरस्कार भने नेपाल न्यूज अनलाईमा कार्यरत पत्रकार जंग तामाङलाई प्रदान गरिने भएको छ ।
नेपाल पत्रकार महासंघ पाँचथर शाखाको निर्णयमा फिदिम स्पोर्टिङ क्लवले वितरण गर्दै आएको उक्त पुरस्कारको रासी १० हजार रुपैंयाँ रहेको छ । स्वर्गिय माता–पिताको स्मृतिमा पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दीपक नेपालको परिवारले उक्त पुरस्कारको स्थापना गर्नुभएको हो ।