इलाम । नेपालका खेल पत्रकार प्रज्जवल ओलीले लेखेको खेल समाचार विश्वमै उत्कृष्ट भएको छ । स्पेन र अर्जेन्टिनाका पत्रकारलाई पछि पार्दै ओलीले ‘बेस्ट कोलम राइटिङ’ तर्फ विश्वकै उत्कृष्ट बन्न सफल भएका हुन् । खेल पत्रकारहरुको साँझा संस्था एआईपीएसले प्रदान गर्ने स्र्पोटस मिडिया अवार्डसँगै ओलीले ८ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)का महासचिव ओलीले गत असार १९ गते काठमाडौं पोस्टमा ‘मुस्किल’ले ५० खेल खेलिने नेपालमा झन्डै २०० खेल संघ पालिएका छन ’ भन्ने शीर्षकमा समाचार लेखेका थिए । सोमबार राति हङगेरीको राजधानी बुडापेस्टमा भव्य कार्यक्रमबीच ओलीलाई विजेता घोषणा गरिएको हो ।
एनआईपीएस अवार्ड जित्ने ओली पहिलो नेपाली खेल पत्रकार बनेका छन् । विश्वभरका करिब १ सय ८० देशका पत्रकारले पठाएका समाचारमध्ये ओलीले लेखेको समाचार उत्कृष्ट भएको हो । डेढ दशकदेखि उनी खेलकुद पत्रकारितामा सक्रिय छन् ।