Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

संचालनमा आएको ६ दशकपछि दानाबारी–राजदुवाली सडक कालोपत्रे शिलान्यास

संचालनमा आएको ६ दशकपछि दानाबारी–राजदुवाली सडक कालोपत्रे शिलान्यास

  • चन्द्र तामाङ
  • सोमबार, माघ १३ २०७६


संचालनमा आएको ६ दशकपछि दानाबारी–राजदुवाली सडक कालोपत्रे शिलान्यास

माई । ६ दशक अघि यातायात चल्न सुरु गरेको झापा देखी इलाम जोड्ने–दानाबारी (सुखानी) –राजदुवाली (इलाम) सडक कालोपत्रे हुने भएपछि स्थानिय हर्षित छन् । २०१७ सालमा इलामका तत्कालिन वडा हाकिम सन्तबीर लामाले ट्याक्सी चढेर इलाम गएको बाटो बिभिन्न कारणबाट ओझेलमा परेको थियो । तर प्रदेश सरकारको पहलमा सडक कालोपत्रे हुने भएपछि स्थानिय हर्षित भएका हुन् । स्थानिय व्यवसायी सावित्रा ढकाल कालोपत्रे सडक निर्माणपछि दानाबारी क्षेत्रले विकासमा फडर्को मार्ने आशा रहेको बताउँछिन् । ‘यत्रो बर्ष हिलोमैलोमा गाडी ठेल्दै व्यपार गर्न हिडियो अब केही राहत होला की ?’ उनले भनिन्
हिम्ङुङ्ग एण्ड थोकर कन्स्ट्रक्सन प्रा.लि. धापासी काठमाण्डौले ४५ करोड ४७ लाख १५ हजार ८ सय १९ रुपैया ६० पैसामा सडक निर्माणको ठेक्का पाएको छ । आगामी २०७९ असार मसान्तमा सम्पन्न गर्ने गरी सडक कालोपत्रेको सम्झौता गरिएको छ । सात मिटर चौडा रहेने कालोपत्रे पहिलो चरणमा सुखानी देखि लोदिया बगैचासेरो सम्म १४ दशमलव ७ किलोमिटर सम्पन्न गरिने भौतिक पुर्वाधार मन्त्रालय प्रदेश नम्बर १ का सचिब राजेश घिमिरेले जानकारी दिए ।
सडकको एक नम्बर प्रदेशका अर्थमन्त्री इन्द्रबहादुर आङबोले शिलान्यास गरेपछि स्थानियको मुहारमा खुशी छाएको हो । शिलान्यासपछि बोल्दै मन्त्री आङबोले विगतमा भएका राजनितिक अस्थिरताको सिकारमा परेको सडक आगामी ३० महिनामा सम्पन्न हुने बताए । ६ दशकसम्म इलामका दक्षिण क्षेत्रका बासिन्दाले इलाम सदरमुकाम र झापा जान भोग्नुपर्ने सास्ती अव अन्त्य भएको आङबोको भनाई छ । प्रदेश सांसद धिरेन्द्र शर्मा रमणले गुणस्तरिय सडक निर्माणका लागी स्थानियबासिन्दा जागरुक हुनुपर्ने धारणा राखे । त्यसैगरी सो क्षेत्रबाट प्रदेशसभामा विजयी सांसद काजीमान कागतेले जनताको आवश्यकता र बर्षौ देखी भोगेको सास्तीलाई बुझेर सडक कालोपत्रे माग गरेको बताए । उनले प्रदेशसभाको चुनाव ताका गरेको प्रतिवद्धता पुरा भएकोमा खुशी व्यक्त गरे ।
नगर प्रमुख दिपककुमार थेवेले इलाम र झापा जोडने यो सडक मेरुदण्ड भएको बताए । बर्खाको समयमा हुने सास्तीबाट नगरबासी मुक्त हुने भन्दै उनले खुशी व्यक्त गरे । सडक कालोपत्रे भएपछि इलामबाट झापा झर्नेका लागी सहज हुनेछ । सो बाटो हुँदै इलाम सदरमुकामबाट झापाको विर्तामोड पुग्न करिव ५३ किलोमिटर यात्रा गर्नुपर्ने हुन्छ ।
गाग्रेभञ्ज्याङ– सोक्तिम सडकको पनि शिलान्यास
देउमाई नगरपालिकाको गाग्रे भञ्ज्याङ्–जितपुर–बेलासे– सोक्तिम २२.५ कि.मि सडक कालोपत्रेको समेत शिलान्यास गरिएको छ । ३९ करोड ८६ लाख १० हजार ५ सय ९ रुपैयामा काठमाण्डौको प्यासिफिक इलाइट जेभीले सडक निर्माण गर्ने गरी सम्झौता गरिएको छ । २ बर्ष भित्र सम्पन्न हुने यो सडक हरेक दृष्टिले अति नै महत्वपूर्ण र उपयोगी रहने अर्थमन्त्री इन्द्र आङबोले बताए । डेनमार्क सरकारको सहयोगमा उन्नति समावेशी परियोजना अन्तर्गत ट्रयाक खोलिएको सडक कालोपत्रेको लागी गत जेठमा पुर्वाधार विकास कार्यालय झापाले टेन्डर आहवान गरेको थियो ।


गाग्रेभञ्ज्याङ–जितपुर–सोयाक–बेलासे–चिसापानी सडक निर्माण भएसँगै जिल्लाका पश्चिमी क्षेत्रका बासिन्दालाई तराई झर्न सहज हुनेछ । मंगलबारेबाट मेची राजमार्ग हुँदै इलाम–फिक्कलबाट झापा करीब ११० किलोमिटर पार गर्नुपर्छ । तर, सो सडक निर्माणपछि करीब ६० किलोमिटर सडक पार गर्दा झापाको विर्तामोड पुग्न सकिन्छ । उक्त क्षेत्रका बासिन्दाले उत्पादन गरेको वस्तु तराई लैजान, दैनिक उपभोग्य वस्तु घर भित्र्याउन, बिरामी हुँदा चाँडो अस्पताल जान र व्यापारिक दृष्टिले समेत स्थानीयलाई सहजता हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार