के तपाईंले नारीको जननेन्द्रीय (योनी) जस्तो आकारको रंगशाला देख्नुभएको छरु छैन भने नेपालीहरुको बैदेशिक रोजगारको प्रमुख गन्तव्य कतारमा देख्न पाइन्छ। सन २०२२ को विश्वकपलाई लक्षित गरेर कतारमा योनी जस्तो आकारको अल वक्राह रंगशाला निर्माण गरिएको छ। विश्वकप आयोजना सुरु भएको ९२ वर्षपछि पहिलो पटक खाडीमा प्रतियोगिता हुने भएपछि सबैलाई आर्कषित गर्न कतारले नयाँ स्वरुपको रंगशाला निर्माण गरेको हो ।
अल वक्राह नाम दिइएको रंगशाला झट्ट हेर्दा योनी झैं देखिन्छ। विश्वकप आयोजना हुनुभन्दा ३ वर्ष अघि नै अर्थात १६ मे २०१९ मा यो रंगशाला अनावरण गरिएको थियो। यो रंगशालामा उदघाटन देखि क्वाटरफाइनलसम्मको खेल आयोजना गरिनेछ। कतारको तापक्रमलाई ध्यानमा राखेर रंगशालामा ४० हजार दर्शकका लागि एयर कन्डिसनरको प्रयोग गरिएको छ।
रंगशालाको डिजाइन स्व वृटिस–इराकी आर्किटेक्टर डेम जहाँ हदिदले गरेकी थिइन् । रंगशाला निर्माण नसकिदै ६५ बर्षको उमेरमा सन २०१६ मा उनको निधन भयो । कतारले विश्वकप आयोजनाको छानिएको ३ बर्षपछि सन २०१३ मा रंगशाला निर्माणको परिकल्पना गरिएको थियो । तर नक्सा सार्वजनिक भएपछि टिप्पणीकर्ताहरुले महिलाको गोप्य अंगको रुपमा चित्रित गरेपछि रंगशाला भाइरल भएको थियो ।
तत्कालिन समयमा आर्किटेक्चर डेम जहाले टिप्पणीहरुकाबाट असन्तुष्ट हुँदै भनिन ‘ उनीहरु अत्यन्त मुर्ख छन की उनीहरुले यस प्रकारको वकवासलाई अगाडी ल्याए । तिनीहरु के भनिरहेका छन ? यसमा प्वाल भएको सवै कुरा महिलाको गोप्य अंग हो ? त्यो हास्यास्पद छ । ’ इराकमा जन्मिएकी हदिद सन २०१२ को लन्डन ओलम्पिकको एक्वाटिक्स सेन्टर, इटालीको म्याक्सएक्सआई संग्रहालय र चीनको ग्वान्जाउ सहरको ओपरा हाउस निर्माणमा समेत संलग्न थिइन् । उनले थपिन ‘ यदि कुनै मान्छेले यो परियोजना गरेको भए त्यहाँ त्यस्तो स्तर आलोचना हुने थिएन ।’

कतारको राजधानी दोहाबाट करिब १२ माइलको दुरीमा २.१ विलियन कतारी रियलको लागतमा रंगशाला निर्माण गरिएको छ । विश्वकप पछि रंगशालाको दर्शक क्षमता ४० हजारबाट घटाएर २० हजारमा ल्याइनेछ । र कतार स्टार्स लिग टिम ल बक्राह स्र्पोटस क्लबको घरेलु मैदानको रुपमा प्रयोग गरिने जनाइएको छ । रेगिस्तानको गर्मीबाट मुक्त गराउनका लागी एसी सहितको निर्माण गरिएको छ । अल वक्राह रंगशाला निर्माणको क्रान्तिकारी कदम भएको जनाइएको छ । वातानुकुलन प्रविधीको प्रयोग गर्दै खेलाडी र दर्शकहरुको लागी तापक्रम ७२ डिग्री फरेनहाइट सम्म तल ल्याउन सकिने भनिएको छ । यो रंगशालामा १ सय भेन्टिलेसन इकाईको माध्यमबाट चिसो हावालाई पाइपबाट प्रवेश गराइने छ । जसमा पिचलाई छाया प्रदान गर्नका लागी छत निर्माण गरिएको छ । खाडीको तापमानबाट बच्नका लागी प्रतियोगितालाई गर्मी सिजनमा सारिएको छ ।
जुन १० देखी १२ जुलाईसम्म आयोजना हुँदै आएको विश्वकप कतारमा २१ नोभेम्बर देखी १८ डिसेम्बरसम्म आयोजना हुँदैछ । जब विश्वकप समाप्त हुनेछ रंगशालाको माथिल्लो तह भत्काएर विकास भइरहेको देशमा पठाइनेछ । जसको फाइदा नेपालले समेत उठाउन सक्नेछ । कतार विश्वकपको रंगशाला निर्माणमा खटेका आप्रवासी कामदारले चर्को घाममा काम गर्नुपर्दा उनीहरुको हृदयघात लगायतका कारण मृत्यु हुने एक प्रतिवेदनमा बताइएको थियो । केही समयअघि जर्मन ब्रोडकास्टर डब्लूडीआरले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २००९ देखि २०१९ सम्ममा नेपालको मात्र १२ सय २६ कामदार रंगशाला निर्माणका क्रममा मरेका छन् । जसको क्षतिपुर्ती स्वरुप नेपाललाई एउटा रंगशाला प्रदान गरिने चर्चा चलेको छ ।
अल वक्राह रंगशाला डिजाइनका लागी सम्झौता गरिएको डेम जहा हदिदको कम्पनी ऐकोमले आफनो प्रचार सामाग्रीमा डिजाइनको बारेमा भनेको छ ‘ परम्रापगत धु वोटबाट प्रेरित भएर स्थानिय मछुवार र मोती गोताखोरहरुको पुस्ताको लागी स्टेडियममा कतारको अतितलाई एकै साथ बुन्यो । र भविष्यको प्रगतीशिल दृष्टिलाई पनि ।’ कम्पनीका अनुसार पर्सियाको खाडीको धारमा मोती गोताखोरहरुले प्रयोग गर्ने परम्परागत धु बोटबाट प्रेरित भएर रंगशाला डिजाइन गरिएको हो । घुमाउरो छत र बाहिरी सन्र्दभले अल बक्राह रंगशालाले समुद्रीकरणको इतिहासलाई झल्काउँछ । जसले दर्शकहरुलाई जहाजमा भएको महसुस गराउँछ । धनुष आकारको बिमले छानालाई समातेको छ । जुन जहाज खियाउने पतवार जस्तो देखिन्छ । २३० मिटर लामो रंगशालाको छत खोल्न मिल्ने गरी पीटीएफई कपडा र केबुलबाट बनाइएको छ ।

‘टिकाउ सामाग्री र अभ्यासहरु स्टेडियमभरी प्रयोग गरिन्छ । पिच र दर्शक बस्ने प्यारापिट फुटबलका लागी उत्तम तापमानमा चिस्याइनेछ ।’ ऐकोमले जनाएको छ । कतारले ३२ देश सम्मिलित विश्वकपको लागी धमाधम ८ वटा रंगशाला निर्माण गरिरहेको छ । रसिया विश्वकप अघि विश्व फुटबल महासंघ (फिफा ) अध्यक्ष गियानी इन्फान्टिनोले कतार विश्कपमा ४८ देशलाई सहभागी गराउन चाहेको बताएपछि छिमेकी अरबी राष्ट्रहरुलाई सह आयोजकको रुपमा राखेर प्रतियोगिता गर्नुपर्ने अवस्था सृजना हुने खतरा थियो । यदपी २०२६ को विश्वकपमा भने ४८ देशको सहभागीता रहने छ ।
आतङ्कवादलाई सघाएको भन्दै साउदी अरब, संयुक्त अरब इमिरेट्स, इजिप्ट र बहराइनले कतारमाथि ५ जुन २०१७ बाट सुरु गरेको नाकाबन्दी अझै जारी छ । यदपी कतारमा त्यसको प्रभाव खासै देखिदैन । समुद्रसँग पहुँच रहेको कतारलाई टर्की र मध्यपूर्वको एउटा शक्ति देश इरानले सहयोग गरेका छन् ।
विश्वकप आयोजनासम्बन्धी सर्वोच्च निकाय ’सुप्रिम कमिटी फर डेलिभरी एण्ड लेगेसी’का प्रमुख हसन अल थवाडीले बीबीसीसँगको एउटा अन्तर्वार्तामा भनेका छन् ‘हामीले चीन, मलेसिया, टर्की र ओमानबाट निर्माण सामाग्री मगाउन थालिसकेका छौँ । यसअघि सजावटका सामानहरु संयुक्त अरब इमिरेट्स मगाउने गरिएकोमा अब ओमानबाट मगाउन थालिएको छ ।’ पुर्ननिर्माणपछि सन १९७६ मा निर्माण गरिएको खलिफा अन्तराष्ट्रिय रंगशाला विश्वकपको लागी अनावरण गरिसकिएको छ ।