इलाम । नेकपा इलामका अध्यक्ष समेत रहेका प्रदेश सासंद रामबहादुर मगर भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री बनेका छन् । आज विस्तार गरिएको प्रदेशको मन्त्रीमण्डलमा मगरलाई कृषि तथा सहकारी राज्यमन्त्रीको भुमिका प्रदान गरिएको हो । अन्य राज्यमन्त्री पाउनेहरुमा अम्बिरबाबु गुरुङ, जसमाया गजमेर र विजयकुमार विश्वास रहेका छन् । ओखलढुङ्गाका गुरुङलाई भौतिक पुर्वाधार विकास मन्त्रालय, झापाकी गजमेरलाई सामाजिक विकास मन्त्रालय र मोरङका विश्वासलाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको हो ।
संविधानको धारा १६८ को उपधारा ९ मा प्रदेशसभाको कुल सदस्य संख्याको २० प्रतिशत बढी नहुने गरी प्रदेश मन्त्री परिषद् गठन गर्ने व्यवस्था छ । प्रदेश १ मा पूर्व एमाले र माओवादी एकीकरणपछि बनेको नेकपाको स्पष्ट दुईतिहाइ छ । प्रदेशसभामा नेकपाका ६७, कांग्रेसबाट २१,समाजवादी पार्टीबाट ३, राप्रपा १ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट १ जना सांसद छन् । यस आधारमा नेकपाले कुल सदस्य संख्याको २० प्रतिशतले हुन आउने १८ जनासम्म मन्त्री बनाउन पाउँछ । यसअघि मुख्यमन्त्री राईले भने प्रदेश १ मा मन्त्रिपरिषद्का सदस्यको संख्या ११ जनासम्म पुग्ने बताएका थिए । उनले गत कात्तिकमै तिहार लगत्तै मन्त्रिमण्डल विस्तार हुने बताएका थिए । तर त्यसलाई पूर्णता दिन दुईमहिना पूरा लागेको हो । प्रदेश १ मा रहेका सात मन्त्रालय मध्ये भौतिक योजना तथा पुर्वाधार विकास र भूमी, कृषि तथा सहकारी मन्त्रालय मुख्यमन्त्री शेरधन राई आफैले हेर्दै आएका छन् । प्रदेशमा अहिले आन्तरिक मामिला तथा कानुन मन्त्रीमा हिक्मत कार्की, सामाजिक विकास मन्त्रीमा जीवन घिमिरे , उद्योग वन मन्त्रीमा जगदिश कुसियत र आर्थिक मामिला तथा योजना मन्त्रीमा इन्द्रबहादुर आङबो छन् ।
को हुन कृषि तथा सहकारी राज्यमन्त्री मगर
रामबहादुर मगर २०७४ मंसिरमा सम्पन्न प्रतिनिधी एवम प्रदेशसभाको निर्वाचनमा बाम गठबन्धनको तर्फबाट प्रदेशसभाको निर्वाचनको लागी इलाम क्षेत्र नं २ को १ बाट बिजयी बनेका हुन् । उनले नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ३ हजार ५ सय ५२ मतान्तरले हराउँदै प्रदेशसभामा बिजयी बनेका थिए ।
उनले १९ हजार ८ सय ३८ मत पाउँदा खड्काले १६ हजार २ सय ८६ मत पाएका थिए । प्रदेश नम्बर एकमा पहिलो पटक मन्त्रालय गठन हुँदै उनी मन्त्री बन्ने चर्चा चलेको थियो । तर २ बर्षपछि मात्र उनले राज्यमन्त्रीको जिम्मेवारी पाए । गत बैशाखमा पुर्व नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपाको इलाम जिल्ला अध्यक्ष बनेका थिए । जिल्लामा उनी राम रानाको नामबाट चिनिन्छन् ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन बाट विद्यार्थी राजनिती सुरु गरेका मगर २०३७ सालमा इलाम जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए । अध्ययनको सिलसिलामा उनी २०४३ सालको महेन्द्र रत्न बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा सभापती निर्वाचित भएका थिए । २०४४ सालको अनेरास्ववियुको केन्द्रिय सदस्य बनेका मगर इलाममा युवा संघको स्थापना हुँदा संस्थापक सचिव जस्तो पदमा निर्वाचित भएका थिए । २०७१ सालमा एमालेको नवौ जिल्ला अधिवेशनबाट उनी गणेश बराललाई ६५ मतले पछि पार्दै जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए ।
