इलाम । च्यासल क्लबका कप्तान सन्तोष साहुखलले शहिद स्मार लिग ए डिभिजन लिगमा १ सय गोलको आंकडा पुरा गरेका छन् । पुर्व राष्ट्रिय खेलाडी समेत रहेका सन्तोषले नेपाल पुलिस विरुद्ध खेलको १७ औ मिनेटमा गोल गर्दै लक्ष्य भेटाएका हुन् । पुलिस विरुद्धको गोलसंगै उनी लिगमा १ सय गोल गर्ने एक मात्र खेलाडी बनेका छन् । जारी लिगको सुरुवाती २ खेलमा ३ गोल गरेसँगै उनको गोल संख्या ९९ पुगेको थियो । तर पछिल्लो २ खेलमा गोल गर्न नसक्दा आंकडा पुरा गर्न पुलिस विरुद्धको खेलको गोल बन्यो ।
सन्तोषको गोल संगै च्यासल र पुलिसले अंक बाडेका छन् । ए डिभिजन प्रतियोगिता खेल्न सुरु गरेको ६ बर्षमा नै उनले २०६६/६७ मा नै ५० गोलको आंकडा पुरा गरेका थिए । तर लिगको अनियमितताका कारण १० बर्षपछि मात्र १ सय गोल पुरा गरे । सन्तोषसँगै ५० गोल गर्नेमा राष्ट्रिय टोलीका पूर्व खेलाडी बसन्त थापा, रमेश बुढाथोकी, सुरेन्द्र तामाङ र जेविश पाण्डे छन् । २०६० सालमा थ्रीस्टारबाट ए डिभिजन लिगमा डेव्यु गरेका सन्तोषले ६ सिजनमा ७१ गोल गरेका थिए । त्यस बाहेक मनाङ, एपिएफ र च्यासलबाट उनले शहिद स्मारक लिग खेलेका छन् ।
मनाङबाट उनले २०६८ सालको सिजनमा १६ गोल गरेका थिए । सो सिजनमा थ्रीस्टारबाट मनाङ आएका उनी तत्कालिन समयमा सवैभन्दा बढी तलबमा अनुवन्ध भएका खेलाडी थिए । मनाङले उनलाई मासिक ५० हजारमा अनुवन्धन गरेको थियो । त्यसअघि मनाङकै बसन्त थापाले २०६५ सालमा मासिक ३० हजार लिँदै सर्वाधिक तलब लिने खेलाडी बनेका थिए । सन्तोषले २०६१ मा एपिएफबाट ६ गोल र च्यासलमा २०७५ र जारी २०७६ को सिजनमा गरी ७ गोल गरेका छन् । थ्रीस्टारमा रहँदै उनले २०६६÷६७ को लिगमा ५० गोलको आंकडा पुरा गरेका थिए । नेपाली राष्ट्रिय टोलीमा सन २००७ देखी २०१४ सम्म २९ खेलमा सहभागी बन्दै सन्तोषले ४ गोल गरेका छन् । उनले २००७ देखी २०१० सम्म ३ सिजन बंगलादेशको चितागाउँ अबहानी लिमिटेडमा बिताएका थिए । २०१४ मा जापान गएको उनले गत सिजनमा च्यासल क्लबबाट ५ खेल खेल्दै ३ गोल गरेका थिए ।