पाकिस्तानी क्रिकेट बोर्डले विदेशी टोलीलाई आफनो देशमा खेल्न सुरक्षित छ भनेर विश्वस्त गराउनको लागि पाकिस्तान सुपर लिग (पीएसएल) को सबै खेल घरेलु भुमीमा खेलाउने भएको छ । पाँचौ संस्करणको सबै खेल पाकिस्तानको चार ठूला शहरहरूमा आयोजना गरिने भएको हो । पीसीबीले कराँची, लाहोर, रावलपिन्डी र मुलतानमा आगामी फ्रेव्रअरी २० देखी पीएसएलको ३४ खेल आयोजना गर्नेछ मार्च २२ सम्म प्रतियोगिता चल्नेछ । सन २०१६ बाट सुरु भएको प्रतियोगिताको पहिलो संस्करणका २४ खेल युनाइटेड अरब इमिरेट्स (युएई) मा सम्पन्न भयो । त्यसपछिका प्रतियोगिताका केही खेलहरु पाकिस्तान भए । बाँकी खेलहरु युएईमा नै गरियो ।

सन २०१७ मा पीसीबीले लाहोरको गदाफी स्टेडीयममा पेशेवर जलामी र क्वेटा ग्लाडिएर्टसबिच फाइनल खेलाएको थियो । सन २०१८ को तेश्रो संस्करणमा एलिमिनेटरको २ वटै खेल गदाफी रंगशाला लाहोर र पेशेवर जलामी र इस्लामावाद युनाइटेडबिचको फाइनल खेल पीसीबीको स्वामित्वमा रहेको नेसनल स्टेडीयम कराँचीमा गरिएको थियो । नेपाली लेग स्पिनर सन्दिप लामिछाने समेत सहभागी भएको गत संस्करणमा ८ खेल कराँचीमा आयोजना गरिएको थियो । जसमा समुह चरणका अन्तिम ३ खेल सहित प्लेअफका खेलहरु समावेश थिए । पहिलो पटक नेपाली खेलाडीको रुपमा सहभागी भएका सन्दिपले लाहोर कलन्दर्सबाट खेलेका थिए । कलन्दर्स पहिलो संस्करणबाटै समुहको अन्तिम स्थानबाट यात्रा समाप्त गर्दै आएको थियो ।
सुरक्षित रहेको विश्वास दिलाउने कदम
पाकिस्तानले लामो समयदेखी आफनो देश सुरक्षित रहेको विश्वास दिलाउन खोजिरहेको थियो । सन २००९ पछि पाकिस्तानमा अन्तराष्ट्रिय क्रिकेट हुन सकिरहेको थिएन् । पाकिस्तानको अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजनाको ढोका त्यती बेला देखी बन्द थियो जुन समय श्रीलंकाली खेलाडी चढेको बस एम्बुस आक्रमणमा परेको थियो । आक्रमणमा आठ जनाले ज्यान गुमाउनुका साथै केही श्रीलंकाली खेलाडी र अफिसियल घाइते भएका थिए । त्यसपछि आइसीसीले पाकिस्तानमा अन्तराष्ट्रिय खेल आयोजनामा प्रतिबन्ध लगाएको थियो ।
पछिल्लो केही बर्षपछि पाकिस्तानले जिम्बाबे, वेस्ट इन्डिज, विश्व एघार र श्रीलंकालाई सिमित अवधीको क्रिकेटको लागी आतिथ्यता प्रदान गरेको थियो । गत महिना मात्रै श्रीलंका विरुद्ध २ वटा टेस्ट सिरिज रावलपिन्डी र कराँचीमा सफलतापुर्वक सम्पन्न गरेको थियो ।

‘टेस्ट क्रिकेटलाई पाकिस्तानमा फिर्ता ल्याएपछि सम्पुर्ण पाकिस्तान सुपर लिग आयोजना गर्नु हाम्रो ठुलो उपलब्धी हो ।’ पीसीबीका अध्यक्ष एहसान मणीले एक विज्ञप्तीमा भने । ‘मलाई कुनै पनि शंका थिएन यो पाकिस्तानको लीग हो र यसलाई घरेलु दर्शक माझ खेल्नुपर्छ ।’ प्रतियोगिताको क्वेटा ग्लाडिएटर्स र इस्लामावाद युनाइटेडबिच उद्धघाटन सहित ९ वटा खेल कराँचीमा आयोजना हुनेछ । पाकिस्तानले १० बर्षपछि टेस्ट क्रिकेटमा फिर्ती पाएपछि पहिलो टेस्ट खेलेको भुमी रावलपिन्डीमा ८ वटा र मुल्तानमा तीनबाट खेल हुनेछ । लाहोरमा १४ खेल हुनेछ ।
३६ विदेशी खेलाडी खेल्दै, नेपाली खेलाडीले पाएनन् अवसर
घरेलु भुमीमा नै प्रतियोगिताको सबै खेल हुने पाँचौ संस्करणमा कुल ६ वटा फ्रेन्चाइज टिमबाट ३६ विदेशी खेलाडीहरु समावेश हुने भएका छन् । जसमा इङल्यान्डका व्याट्समेन जेसन रोय, दक्षिण अफ्रिकी पेसबलर डेल स्टेन, वेस्ट इन्डिजका व्याटसमेन लिन्डे सिमोन समेत छन् । पीएसएलका लागी २२ देशका ४२५ खेलाडीहरु ड्राफटमा परेका थिए । जसमा नेपालका लेग स्पिनर सन्दिप लामिछाने, पुर्व कप्तान पारस खड्का, शरद भेष्वाकर, बिनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी र आरिफ शेख थिए ।

सन्दिप प्लाटिनम विधामा पर्दा अन्य ७ जना सिल्भर विधामा परेका थिए । तर अन्तिम समयमा नेपालका कोही पनि खेलाडीले विदेशी खेलाडीको कोटामा खेल्ने अवसर पाएनन् । सन्दिपसँगै प्लाटिनम विधामा विश्व क्रिकेटका चर्चित हस्तीहरु इमरान ताहिर, डुएन बाभ्रो, मोइन अली, क्रिस लीन, डेल स्टेन, एन्जेलियो म्याथ्युज, कोलिन मुन्रो र सुनिल नारायण थिए । अघिल्लो संस्करण सन्दिपले खेलेको टिम लाहोर कलन्दर्सले प्लाटिनम विधाबाट क्रिस लीनलाई लिएको छ । सन्दिप सन २०१९ को संस्करणको लाहोर टिमका सवैभन्दा बढी विकेट लिने खेलाडी समेत हुन् । उनले ७ खेलमा १८९ रन खर्चदै ११ विकेट लिए । सन्दिपले मुल्तान सुल्तान विरुद्ध पीएसएलकै डेव्यु खेलमा ४ ओभर बलिङ गदैै ४६ रन खर्चिएर महत्वपुर्ण ३ विकेट समेत लिएका थिए ।