बिर्तामोड । खेलको अन्तिम मिनेटमा कप्तान लक्ष्मी श्रेष्ठको गोलको मद्धतले कनकाई महिला फुटबल टिमले तमु ल्होसार गोल्डकप २०७६ को उपाधि जितेको छ । मंगलबार बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको फाइनल खेलमा सुनसरीको धरान महिला फुटबल क्लबलाई १–० को अन्तरले हराउँदै कनकाई च्याम्पियन भएको हो ।
सरिता शेर्पाले मिलाइदिएको क्रस पासलाई कनकाईकी कुसुम खतिवडाले ‘मिस’ गर्दा श्रेष्ठले हेडर मार्फत गोललाई जाली चुमाएकी थिइन् । फाइनल खेलको वुमन्स अफ दि म्याच निर्णायक गोलकर्ता श्रेष्ठ घोषित भइन् । उनले नगद एक हजार पाइन् ।
प्रतियोगिताको उत्कृष्ट गोल किप्पर विजेता टिमकी छत्रिका चौधरी, बेस्ट डिफेन्स कनकाईकी खुस्मा राई, बेस्ट मिडफिल्ड उपविजेता धरानकी समीक्षा राई, बेस्ट फरवार्ड कनकाईकी सरिता शेर्पा र बेस्ट कोच कनकाईका सन्त रायामाझी घोषित भए । उनीहरुले जनही एक हजार पाए ।
बिर्तामोड फुटबल क्लबको आयोजनामा सम्पन्न ‘तमू ल्होसार गोल्डकप–२०७६’ प्रतियोगिताको विजेताले नगद एक लाख एक हजार १११ रुपैयाँ, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्यो । उपविजेता बनेको धरानले ५१ हजार १११ रुपैयाँ प्राप्त ग¥यो । कार्यक्रममा विजेता र उपविजेतालाई आयोजक अध्यक्ष डिके गुरुङ, कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र पोखरेल, झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइराला, झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख टहलदास मैनाली, कांग्रेस नेता देउमान थेबेलगायतले पुरस्कार वितरण गरेका थिए । फाइनल प्रतिस्पर्धाअगाडि तमु समुदायको विशेष सांस्कृतिक प्रस्तुति रहेको थियो ।