बिर्तामोड । बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा जारी ‘तमु ल्होसार गोल्डकप २०७६’ दोस्रो दिनको खेलमा बिजयी बन्दै धरान महिला फुटबल क्लब फाइनल प्रवेश गरेको छ । शनिबार भएको खेलमा नेहा चौधरीको निर्णायक गोलको मद्धतमा इलामलाई हराउँदै धरानले कम्तीमा ५१ हजार १११ रुपैयाँ सुरक्षित गरेको छ ।
खेलको १० औँ मिनेट गोल गरेर अग्रता दिलाइन् । त्यसको एक मिनेटपछि अर्को गोल प्रहार गर्ने क्रममा इलामकी गोलकिप्पर इन्दिरा राईसँग जुद्धा उनको प्रहार गोलमा परिणत हुन सकेन । गलामा सिक्री लगाएका कारण उनलाई रेफ्री रञ्जना चौधरीले पहेँलो कार्ड देखाइन् । खेलको वुमन्स अफ दि म्याच निर्णायक गोलकर्ता चौधरी घाषित भइन् ।
उनलाई प्रमुख अतिथि बिर्तामाड नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेले नगद एक हजार ५ सय प्रदान गरे । तेस्रो दिनको खेल कनकाई महिला फुटबल टिमका विरुद्ध आयोजक बिर्तामोड महिला फुटबल टिमले खेल्नेछ । कनकाईले पहिलो खेलमा मोरङ महिला फुटबल टिमलाई ३–१ ले पराजित गर्दै आयोजकसँगको भेट पक्का गरेको हो ।