विश्वभर सुर्तीजन्य पदार्थ सेवन गर्ने पुरुषको संख्या उल्लेख्य कमी आएको छ। विश्व स्वास्थ्य संगठन डब्लुएचओले सार्वजनिक गरेको पछिल्लो विश्वव्यापी प्रतिवेदनमा १८ वर्षको अवधिमा विश्वभर ६ करोड पुरुष अम्बली घटेका छन्। सुर्तीजन्य पदार्थको सेवन गर्ने पुरुषको संख्या सन् २००० मा १ अर्ब ३९ करोड ७० लाख रहेकामा सन् २०१८ मा यो संख्या १ अर्ब ३३ करोड ७० लाखमा झरेको छ।
अम्बली महिलाको संख्यामा पनि कमी आएको छ। सन् २००० मा ३४ करोड ६० लाख महिलाले सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेकोमा सन् २०१८ मा २४ करोड ४० लाख रहेको प्रतिवेदनमा उल्लेख छ। विश्वभर अहिले सुर्तीजन्य पदार्थको सेवन गर्ने १३ देखि १५ वर्ष उमेर समूहका किशोर किशोरीको संख्या ४ करोड ३० लाख रहेको छ । जसमा १ करोड ४० लाख किशोरी र २ करोड ९० लाख किशोर संख्या रहेका डब्ल्यूएचओले जनाएको छ। प्रतिवेदनमा सरकारको नेतृत्वमा हुने कारवाहीले सुर्तीजन्य पदार्थको लतबाट नागरिकको स्वास्थ्य जोगाउन महत्वपूर्ण सहयोग पुगेको पाइएको उल्लेख छ।
‘यो गिरावट सुर्तीजन्य पदार्थको प्रयोगविरुद्धको संघर्षमा एउटा महत्त्वपूर्ण मोड हो’ डब्ल्यूएचओका महानिर्देशक डा। टेड्रोज अध्नोम घेब्रेयियसले भनेका छन्। कयौं वर्षदेखि सुर्तीजन्य पदार्थको प्रयोग गर्ने पुरुषको संख्या लगातार बढिरहेको थियो। करिब दुई दशकमा यो संख्यामा कमी आउनु सरकार सुर्तीजन्य पदार्थको उत्पादनमा कडा रुपमा प्रस्तुत हुनुको परिणाम भएको डब्लुएचओका महानिर्देशक घेब्रेयियसको भनाइ छ।
डब्ल्यूएचओले यो कमीलाई कायम राख्नका लागि विश्वका मुलुकले सँगै मिलेर काम गर्नुपर्ने आवश्यकता पनि औँल्याएको छ। विश्वभर हरेक वर्ष ८० लाखभन्दा धेरै मानिसको सुर्तीजन्य पदार्थका कारण लाग्ने रोगबाट मृत्यु हुने गरेको छ। त्यसमा ७० लाखको प्रत्यक्षरूपमा सुर्तीजन्य पदार्थ सेवनका कारण र १२ लाख मानिसको त्यसको प्रभावका कारण मृत्यु हुने गरेको डब्ल्यूएचओले जनाएको छ। यो मृत्युदर धेरैजसो न्यून, मध्यम आय भएका देशमा हुने गरेको छ।