नागरिक एकता समाजले जापानमा इलामको चिया पसल संचालन गरेका जापानी नागरिक ताचुया माइखावालाई सम्मान गरेको छ । इलामको चिया प्रबर्द्धन गरेको भन्दै समाजले शनिबार काठमाडौंमा ताचुयालाई अन्तरराष्ट्रिय नागरिक सेवा सम्मान २०१९ प्रदान गरेको हो ।
जापानको तोकुशिमामा ताचुयाले आफ्नै ठाउँमा टी पार्टी कम्पनी लिमिटेड अन्तरगत इलामको चिया बेच्न चिया इलाम पसल खोलेका छन् । उनी तोकुशिमामै जन्मिएका हुन् । उनले आफ्नो पसलमा इलामको मात्रै चिया बेच्ने गरेका छन् । ताचुयाले इलाम आफै आएर चिया लैजाने गरेका छन्। इलामलाई जापानमा ब्रान्डिङ गरेको भन्दै उनलाई सम्मान गरिएको हो ।
उनी २० पटक भन्दा बढी नेपाल आइसकेका छन् । चितवन, स्वयम्भु, बौद्ध लगायत यहाँका बिभिन्न पर्यटकीय र पुरातात्विक क्षेत्र घुमेका छन् । ‘नेपालीको आतिथ्यता राम्रो लाग्छ । त्यसैले यता आउन मन लागिरहन्छ,’ उनले भने, ‘नेपालका धेरै ठाउँ घुम्ने र ट्रेकिङ जाने पनि मन छ ।’