इलाम । दक्षिण एसीयाली खेलकुद (साग) मा पदक विजेता इलामका खेलाडी सम्मानित हुने भएका छन्। पदक विजेता खेलाडीलाई सहिद रत्नकुमार बान्तवा खेलकुद केन्द्रले सम्मान गर्न लागेको हो। फुटबलबाट स्वर्ण पदक विजेता सन्दकपुर गाउँपालिकाका छिरिङ गुरुङ, उसुबाट स्वर्ण विजेता देउमाई नगरपालिकाकी जूनी राई, महिला फुटबलबाट रजत पदक विजेता सूर्योदय नगरपालिकाका एञ्जिला तुम्बापो, जुडोबाट कास्य पदक विजेता फाकफोकथुम-६ की सुमित्रा राई, बिच भलिबलबाट कास्य पदक विजेता माङसेबुङ गाउँपालिकाकी विनिता बुढाथोकी र बास्केटबलबाट कास्य पदक विजेता सन्दकपुर–३ सुलुवुङका बिजय बुर्जालाई सम्मान गरिने केन्द्रका अध्यक्ष सन्जिप राईले जानकारी दिए।
पूर्वप्रधानमन्त्री झलनाथ खनाल र संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङको उपस्थितिमा पुस ५ शनिबार काठमाडौंमा कार्यक्रम गरी सम्मान प्रदान गरिने अध्यक्ष राईले बताए। सहिद रत्नकुमार बान्तवा खेलकुद केन्द्रसँगको सहकार्यमा काठमाडौंमा बसोबास गर्दै आएका इलामका युवा तथा विद्यार्थीले आर्थिक संकलन गरेर खेलाडीलाई सम्मान गर्न लागेका हुन्। यस अघि इलाम विकास समाजको आयोजनामा युवा समाजसेवी डम्बर खडकाले सम्मान गरेका थिए ।