Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाम र पाँचथरमा एक सय ३६ सिँचाइ आयोजना

इलाम र पाँचथरमा एक सय ३६ सिँचाइ आयोजना

  • सन्देश सम्वाददाता
  • सोमबार, मंसिर १६ २०७६


इलाम र पाँचथरमा एक सय ३६ सिँचाइ आयोजना

प्रदेश १ का दुई जिल्ला इलाम र पाँचथरमा एक सय ३६ सिँचाइ आयोजना निर्माण गरिने भएको छ । नेपाल सरकार र स्विस सरकारको साझेदारीमा साना सिँचाइ परियोजनामार्फत चार वर्षमा ती सिँचाइ आयोजनाहरू निर्माण हुन भएका हुन् ।
परियोजनाअन्तर्गत पाँचथरमा २५ र इलाममा एक सय ११ सिँचाइ आयोजना निर्माण हुने भएका छन् । पहिलो चरणमा इलाममा १६ र पाँचथरमा चारवटा आयोजना निर्माण हुनेछन् । ती आयोजनाको सम्भाव्यता अध्ययन गरेर परियोजना तयारी प्रतिवेदनको काम भइरहेको परियोजनाका इलाम–पाँचथर क्लस्टर संयोजक केशव लामाले जानकारी दिए ।
इलामका इलाम नगरपालिका, सूर्योदय नगरपालिका, रोङ गाउँपालिका, चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका र सन्दकपुर गाउँपालिकामा सिँचाइ आयोजना निर्माण हुनेछ भने पाँचथरका फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकामा सिँचाइ आयोजनाहरू निर्माण गरिनेछन् ।
पहिलो चरणमा सिँचाइ आयोजना निर्माण गर्न इलाम नगरपालिका र सूर्योदय नगरपालिकाले आयोजनासमेत छनोट गरिसकेका छन् । इलाम नगरपालिकामा नौ आयोजनामध्ये दुई आयोजना पहिलो चरणमा निर्माण गर्ने टुंगो लागिसकेको छ । सूर्योदयका ३३ आयोजनामध्ये तीनवटा योजना छनोट भइसकेका छन् ।
इलाम नगरपालिकाले झुत्रेखोला सिँचाइ आयोजना र निफोक खोला सिँचाइ आयोजना निर्माण गर्नेछ । सूर्योदयले कन्याम फाजी गाउँ सिँचाइ आयोजना, साउने खोला सिँचाइ आयोजना तथा ढकाल गाउँ सिँचाइ आयोजना छनोट गरेको छ । अन्य स्थानीय तहमा पनि आयोजना छनोटको काम भइरहेको लामाले बताए । ‘स्थानीय तहको योजना तर्जुमामा छनोट भएका सिँचाइ आयोजना निर्माण हुने हुन्,’ लामाले भने, ‘ती सिँचाइ आयोजनामा कति रकम आवश्यक पर्छ भन्ने तय हुन बाँकी छ ।’
सिँचाइ आयोजनामा स्विस सरकार र नेपाल सकारबीच लगानी साझेदारीको विषय भने टुंगिइसकेको छैन । चाँडै बस्ने स्टेरिङ कमिटीको बैठकले साझेदारीको मोडालिटी टुंगो लगाएपछि आयोजना निर्माणको काम सुरु हुनेछ । सिँचाइ आयोजना निर्माणमा स्थानीय तहले २० प्रतिशत, उपभोक्ताले १० प्रतिशत र बाँकी रकम प्रदेश सरकार तथा संघीय सरकारले व्यहोर्ने गरी प्रस्ताव गरिएको छ ।
साना सिँचाइ परियोजना कार्यान्वयनका लागि प्रत्येक स्थानीय तहमा कार्यालय स्थापना हुने क्रममा रहेको लामाले बताए । अहिले एकजना प्राविधिकले तीनवटा स्थानीय तह हेर्ने गरी जिम्मेवारी दिइएको छ । आयोजना निर्माणका लागि आवश्यक कर्मचारी थप हुनेछन् । एक नम्बर प्रदेशका आठवटा जिल्लामा सिँचाइ आयोजना निर्माण हुनेछन् । तेह्रथुम, खोटाङ, भोजपुर, उदयपुर, ओखलढुंगा र धनकुटामा पनि आयोजना सञ्चालन हुने जनाइएको छ । यसअघि पनि खोटाङ, उदयपुर र ओखलढुंगामा पहिलो चरणको कार्यक्रम कार्यान्वयन भइसकेको छ । नयाँपत्रिकाबाट

प्रतिक्रिया
सम्बन्धित समाचार