इलाम । भारतीय आधिकारिक नक्सामा नेपाली भूमिलाई समावेश गरेर प्रकाशन गरिएको विरोधमा अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु) इलाम नगर कमिटीले शुक्रबार इलाम सदरमुकाममा विशाल विरोध प्रदर्शन गरेको छ । युवा, विद्यार्थीहरुको विशाल विरोध जुलुसपछि आयोजित विरोध सभालाई अनेरास्ववियु इलाम नगर कमिटीका नेताहरु डिकेन्द्र दाहाल, सचिनजंग रायमाझी र बिशाल कार्कीले सम्बोधन गरेका थिए ।
इलामको ठूलो टुँडिखेलबाट शुरु भएको विरोध जुलुसका सहभागिहरुले भारतीय विस्तारवाद मूर्दावाद, #GO BACK INDIA, नरेन्द्र मोदी मूदावाद, मोदी सरकार होसियार, लिपुलेक–कालापानी–लिम्पीयाधुरा हाम्रो हो, सम्पूर्ण नेपाली एक होऔं लगायतका नारा लाउँदै इलाम बजार परिक्रमा गरी चोक बजारमा पुगेर सभामा परिणत भएको थियो ।
विरोध जुलुस तथा सभामा पाँच सयभन्दा बढी युवा, विद्यार्थीहरुको सहभागिता रहेको थियो । यसैगरी भारतीय अतिक्रमणको विरुद्धमा अनेरास्ववियु इलाम नगर कमिटीले इलाम सदरमुकामस्थित चोक बजारमा हस्ताक्षर संकलन शुरु गरेको छ । “आज र भोली हस्ताक्षर संकलन गर्नेछौं” अनेरास्ववियु इलामका नेता डिकेन्द्र दाहालले भने– “संकलित हस्ताक्षर र नेपालको नक्सा जिल्ला प्रशासन कार्यालय, इलाममार्फत् दबावस्वरुप प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा पठाउँछौं ।” भारतले नियतबस गरेको यो कमजोरी कमजोरी नसच्याएसम्म विभिन्न रचनात्मक आन्दोलनका कार्यक्रमहरु जारी रहने उनले बताए ।