इलाम । पर्यटकीय नगरि इलामको सूर्योदय नगरपालिका ३ मा प्रदेश सरकारले बुद्ध पार्क निर्माणलाई तिब्रता दिएको छ । बजेट अभावमा निर्माणको काम शुस्त भएको पार्क क्षेत्रमा चालु आर्थिक वर्षमा वुद्धको प्रतिमा राखिनेछ ।
चार वर्षदेखि निर्माणाधिन बुद्ध पार्कमा गत आर्थिक वर्षदेखि प्रदेश नम्बर एकको सरकारले लगानी शुरु गरेको हो । १५ रोपनी क्षेत्रफलमा फैलिएको वुद्ध पार्क निर्माणका लागि गत आर्थिक वर्षमा एक करोड ३५ लाख खर्च भएको थियो ।
प्रदेश सरकारबाट विनियोजित बजेटमा सूर्योदय नगरपालिकाले २० प्रतिशत थप गरि योजना कार्यान्वयन हुँदै आएको वडा नम्बर ३ का अध्यक्ष होम कार्किले बताउनुभयो ।
बुद्ध पार्क निर्माणका लागि १५ लाख बराबरको खड्ग बहादूर कार्कीले ३ रोपनी जग्गा दान गर्नुभएको थियो । सो जग्गाले नपुग्ने भएपछि २ रोपनी जग्गा खरिद गरिएको थियो १२ रोपनी सरकारी जमिन थप गरिएको छ । वुद्ध पार्क निर्माणमा प्रदेश सरकारले चालु आर्थिक वर्षमा १ करोड बजेट विनियोजन गरेको छ । सो बजेटबाट चालु आर्थिक वर्षमा भगवान वुद्धको स्तुपा निर्माण गरिनेछ ।
बुद्ध पार्क क्षेत्रमा वुद्धको मुर्ति सहित भ्यु टावर, रेलिङ्ग, पदमार्ग र पर्यटकले सिल्फे खिच्ने ट्रष्ट निर्माण गर्ने योजना रहेको छ ।