इलाम । विश्वकै महँगो र दुर्लभ कृषि उपज मानिने केशर खेती इलाममा सुरु भएको छ । इलामको जौवारी मल्टी परपोज एग्रीकल्चर एण्ड इन्भाइरोमेन्ट सेन्टरले माइजोगमाई गाउँपालिका–६ को थुम्केडाँडा र जौवारी क्षेत्रमा केशरको खेती शुरु गरेको हो । बैजनी रङ्गका कोमल पातहरुको बीचबाट वर्षमा मुश्किलले १० दिन केशर (अङ्ग्रेजीमा स्याफ्रोन भनिने) को फूल फुल्दछ । यी फूलको बीच भागबाट निस्कने परागकेशर वा पुँकेशर नै बहुमूल्य केशर हो । यी अति साना परागकेशर प्रतिकेजी १० हजार अमेरिकी डलर भन्दा बढीमा अन्तराष्ट्रिय बजारमा विक्री हुँदै आएको छ । नेपालमा केशरको व्यवासयिक खेती न्युन रुपमा हुँदै आएको छ । नेपालको पछिल्लो तथ्याङ्कका अनुसार ७ देखि १० केजि सम्म मात्रै यसको उत्पादन भएको पाईन्छ । अन्यौलका बिचबाट सुरु गरेको खेतीले प्रतिफल दिन थालेको अध्यक्ष विरबहादुर कटुबालले बताए । परिक्षणको लागी कास्मिरबाट दुई मन केशरको विउ ल्याएर थुम्के र जौवारी क्षेत्रमा लगाइएको उनले बताए । केशर खेतीको लागि धेरै गर्मी र धेरै जाडो नहुने हावापानी उपयोगी हुन्छ । केही मात्रामा हिउँ पर्ने तुषारो पर्ने ठाउँमा यसको उत्पादन गर्न सकिन्छ । १५ सय देखि २५ सय मिटर सम्म गर्न सकिने केशर खेतीको लागि पानी नजम्ने, बलौटे, दोमट, अलि अलि क्षारयुक्त माटो उपयुक्त हुन्छ ।
केशरको प्रयोगले नसा बलियो पार्ने, दुखाई कम गर्ने, अपचमा उपयोगी, झाडा पखालामा उपयोगी, कलेजो सम्बन्धि रोगमा उपयोगी, मुटुको रोगमा उपयोगी, पिसाव खुलाउने, महिनावारी नियमित गर्ने, प्रसवपछि पाठेघर सफा गर्ने, अनुहार सफा बनाउने गर्छ ।
एउटा फूलमा दश देखि १५ मिलिग्राम केशर प्राप्त हुने भएकाले करिव डेढ लाख फूलबाट एक किलो केशर प्राप्त हुने गर्दछ । नेपालमा केशर खेती २०१९ सालमा मकवानपुरको टिष्टुङमा खेती परिक्षण गरिएपनि २०४० सालमा तत्कालिन महाराजाधिराज सरकारबाट जुम्लामा केशर खेती गर्न निर्देशन दिएको पाइन्छ । २०४४ सालमा जुम्ला र डोल्पामा र २०४६ र २०४७ सालमा ललितपुरको गोदाबारीमा केशरको परिक्षण खेती गरिएको थियो ।
फ्रान्स एग्रीमरको सन् २०१३ को प्रतिवेदनअनुसार केशर उत्पादनमा इरान पहिलो स्थानमा आउँछ । उसले बार्षिक रुपमा १५० टन भन्दा बढी केशर निर्यात गर्दै २४० मिलियन भन्दा बढी अमेरिका डलर भित्र्याउने गरेको छ । छिमेकी देश भारत दोस्रो स्थानमा छ भने त्यसपछि ग्रीस, अजरबैजान, अफगानिस्तान र स्पेन आउँछन् । इरानमा सबैभन्दा बढी केशरको उत्पादन राजधानी तेहरानबाट करिब ७०० किलोमिटर पूर्वमा रहेको टोर्बात–ए हेदारियामा हुने गर्दछ । फ्रान्स एग्रीमरका अनुसार विश्वको कूल केशर उत्पादनमा यो ठाउँ तेस्रो स्थानमा छ ।