जर्मनका पुर्व कप्तान तथा बार्यन म्युनिखका पुर्व मिडफिल्डर वास्टियन स्वेन्सटाइगरले व्यवसायिक फुटबलबाट सन्यास लिएका छन् । सन २००२ देखी २०१५ सम्म १३ बर्ष वार्यनमा विताएका उनले करिब ५ सय खेलमा ६८ गोल गरेका छन् । वार्यनमा रहँदा उनले ८ वुन्डेसलिगा, एक/एक लिग कप र च्याम्पियनस लिग दिलाएका थिए । सन २०१४ को विश्वकप विजेता जर्मन टिमको उनी मुख्य सदस्य हुन् । देशबाट १२१ क्याप जितेका स्वेन्सटाईगरले जर्मन टोलीका लागी २४ गोल गरेका छन् ।
विश्वकपपछि कप्तान फिलिप ल्हामले सन्यास लिएपछि उनले सन २०१६ सम्म जर्मन टिमको कप्तानी गरेका थिए । स्वेन्सटाइगर सन २०१५ मा वार्यन छाडेर इङग्लिस प्रिमियर लिग क्लब म्याचेस्टर युनाइटेडमा आवद्ध भएका थिए । युनाइटेडबाट ३५ खेलमा सहभागीता जनाउँदै एफए कप र युरोपा लिगको उपाधी दिलाउन महत्वपुर्ण भुमिका खेलेका थिए । २ सिजन युनाइटेडमा विताएपछि उनी अमेरिकन फुटबल क्लब सिकागो फायरबाट खेले । उनले सिकागोबाट ९२ खेलमा सहभागी हुँदै ८ गोल गरेका छन् । आइतबार ओरलान्डो सिटीमाथी ५–२ गोल अन्तरको जितपछि उनले व्यवसायिक फुटबलबाट सन्यास लिएका हुन् ।
‘समय आइसकेको छ र म यस सिजनको अन्त्यमा मेरो सक्रिय करियर समाप्त गर्दैछु । ’ स्वेन्सटाइगरले टविटर मार्फत घोषणा गरे । उनले जर्मन राष्ट्रिय फुटबल टिम, पुर्व क्लबहरु, उनको परिवार र उनकी पत्नी पुर्व विश्व नम्बर एक टेनिस खेलाडी आना इभानोभिचलाई धन्यवाद दिएका छन् । ‘एक सक्रिय खेलाडीको रुपमा अलविदा भन्नु पर्दा मलाई उदास महसुस गराएको छ तर चाडै नै मेरो लागी उत्साहजनक चुनौतीको प्रतिक्षा गर्दैछु । म फुटबल प्रति सधै वफादार रहनेछु । ’ उनले भने ।
The Time has now come: I would like to thank both, you and my teams @FCBayern, @ManUtd, @ChicagoFire and @DFB_Team and of course @AnaIvanovic and my family for their support!
Thank you! pic.twitter.com/jNSrXGNpxF
— Bastian Schweinsteiger (@BSchweinsteiger) October 8, 2019
स्वेन्सटाइगरले आफनो सन्यासपछिको योजना सार्वजनिक गरेका छैनन् । तर उनको संभावित गन्तव्य जर्मन फुटबल संघ हुन सक्ने अन्तराष्ट्रिय संचारमाध्यमले अनुमान गरेका छन् । ‘उनको लागी सधै यहाँ स्थान रहनेछ ।’ जर्मन राष्ट्रिय टोलीका प्रशिक्षक जोचिम लो ले भने ‘उनको योजना के हो मलाई थाहा छैन तर प्रशिक्षक बन्न चाहने कुनै पनि पुर्र्व खेलाडीलाई सधै स्वागत छ । ’ स्वेन्सटाइगरका पुर्व सहकर्मी मिरोस्लाभ क्लोजको सन्यासपछि लो ले जर्मन टिमको कोचिङ स्टाफमा समावेश गरेका छन् । डर्टुमन्डको जर्मन फुटबल संग्राहलयमा बोल्दै लो ले स्वेन्सटाइगरलाई जर्मनीको अहिलेसम्मको महान खेलाडी भनेर वर्णन गरेका छन् । (अन्तराष्ट्रिय संचारमाध्यमकाे सहयाेगमा)