इलाम : इलाम सदरमुकाम स्थायी घर भई हाल बेलायतमा बसोबास गर्दै आएका एक परिवारले आफ्ना दिवंगत मातापिताको स्मृतिमा इलाम नगरपालिका वडा नं। २ को पाँच वटा विद्यालयलाई खेलकुद सामाग्रीहरु प्रदान गरेका छन् । इलाम नगरपालिका वडा नंं २ सुम्बेक गैरीगाउँमा जन्मिएर इलाम बजार देउराली निवासी बिट्रिस सेनाबाट क्याप्टेन पदमा निवृत्तिभरण प्राप्त गरेका स्वदिलबहादुर देवान र उनकी धर्मपत्नी स्व सुकमाया देवानको स्मृतिमा उक्त सामाग्रीहरु बुधबार एक कार्यक्रम बिच प्रदान गरिएको हो ।
सामाग्री प्राप्त गर्ने पाँच विद्यालयहरुमा सुम्बेक माध्यमिक विद्यालय, सिद्धिविनायक आधारभूत विद्यालय, सिंहदेवी आधारभुत विद्यालय, सुम्बेक स्टार अंग्रेजी स्कुल र खेलकुद विकास समिति सुम्बेक रहेका छन् । उनीहरुलाई करिब ४० हजार मुल्य बराबरको चेस, लुडो, फुटबल, क्यारामबोर्ड, भलिबल नेट लगायतका सामाग्री प्रदान गरिएको हो । कार्यक्रममा वडाध्यक्ष नारद लम्साल, वडा सदस्यहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक, शिक्षक शिक्षिक, खेलकुद विकास समितिका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
स्मरण रहोस स्वर्गीय देवानले अवकास पश्चात लामो समय बिट्रिस वेलफेयर नामक संस्थाबाट सामाजिक कार्यमा सक्रिय रहेका थिए । उनले २०३८ सालमा इलाम नगर पञ्चायतको उपप्रधान पञ्चमा निर्वाचित भई चार वर्ष र बाँकी एक वर्ष प्रधान पञ्च भई इलाम नगरको सेवामा समेत योगदान गरेका थिए । उनका छोराबुहारी क्रमशः यन्दुकुमार देवान, पदम तथा अनिता देवान, रविन देवान, एकराम र कल्पना देवान, एकराज र शोभा देवान, बालचन्द्र र प्रेमकला देवान तथा ओमप्रकाश र प्रभा देवान रहेको नाति संजिव राईले जानकारी दिएका छन् ।