इलाम । दुई पार्टी एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीले इलाममा बृहत कार्यकर्ता प्रशिक्षण गर्ने निर्णय गरेको छ । पार्टी जिल्ला कार्यालयको भाद्र ८ मा बसेको बैठकले बृहत रुपमा कार्यकर्ता प्रशिक्षणको आयोजना गर्ने निर्णय गरेको हो । प्रशिक्षण कार्यक्रम भाद्र २७ र २८ गरि २ दिनसम्म चल्नेछ । प्रशिक्षणमा जिल्ला कमिटीका पदाधिकारी, सदस्यहरु, सल्लाहकार कमिटीका पदाधिकारी, सदस्यहरु, प्रतिनिधिसभा क्षेत्रीय समन्वय कमिटीका सदस्यहरु,प्रदेशसभा क्षेत्रीय समन्वय कमिटीका सदस्यहरु सहभागि हुने प्रचार विभाग प्रमुख नवराज संकरले बताए ।
यसैगरि प्रशिक्षणमा जिल्लास्तरीय विभागका सदस्यहरु, नगर र गाउँ कमिटी पदाधिकारी, कार्यालय सदस्यहरु, वडा कमिटीका पदाधिकारी अध्यक्ष, सचिव र जनसंगठनका केन्द्रीय सदस्य जिल्ला पदाधिकारी सहभागि हुनेछन् ।
प्रशिक्षणमा नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, स्थायी कमिटी सदस्य सुबासचन्द्र नेम्बाङ्ग, स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल, स्थायी कमिटी सदस्य बेदुराम भुसाल, केन्द्रिय सदस्य तथा प्रदेश संयोजक देवराज घिमिरे र डा. विजय पौडेलले प्रशिक्षण दिनेछन् । प्रशिक्षण कार्यक्रम सफल बनाउने नेकपा जिल्ला पार्टी कार्यालयले तयारी तिब्र पारेको छ ।