इलाम । इलाम नगरपालिका ९ का देबेन्द्र बस्नेत अहिले मृगौला रोगबाट छट्पटिरहेका छन् । घरको आर्थिक अवस्था कमजोर भएपछि वैदेशिक रोजगारीका लागि कतार गएका बस्नेतको दुई वटै मृगौलाले काम गर्न छोडेपछि अहिले नेपाल फर्किएर डाइलोसिस गरि जीवन बचाइरहेका छन् ।
हेल्पर पदमा काम गर्दै बस्नेतको एक्कासि मृगौलाले काम गर्न छोडेपछि नेपाली कामदारको सहयोगमा उपचारका लागि कतारकै अस्पताल पुर्याएपछि थाहा भयो दुवै मृगौलाले काम गर्न छोडेको रहेछ–‘सहयोगको याचना गर्दै बस्नेत भन्छन्–‘काम गर्ने कम्पनीले घर फर्किने टिकटको मात्रै व्यवस्था ग¥यो , अस्पतालको खर्च र नेपाली कामदारहरुको सहयोगमा नेपाल आए ।
नेपाल फर्किएपछि बस्नेतले काठमाडौँ, धरान र झापाको विर्तामोडका अस्पतालमा स्वास्थ्य जाँच गराएका थिए । अस्पतालको पछिल्लो रिपोटले पनि दुवै मृगौलाले काम गर्न छोडेको र चाँडै फेर्नुपर्ने बताएपछि बस्नेत खर्च जुटाउन सहयोगको याचना गरेका छन् । एक छोरा श्रीमती रहेका बस्नेतले अहिले मृगौला परिवर्तनका लागि सबै नेपालीलाई सहयोगको अपिल गरेका छन् ।
३६ वर्षिय बस्नेत अहिले मेची अञ्चल अस्पताल झापामा मृगौलाको डाइलोसिस गराउँदै घरमै आराम गरिरहेका छन् । उनी भन्छन्–‘चार वर्ष अघिदेखि ब्लड प्रेसरको औषधिको असरका कारण मृगौलामा खराबी रहेको अस्पतालले जानकारी दिएको छ, मृगौला फेर्नका लागि खर्च जुटाउन सबै परिवार लागेका छौँ ।’
देउमाई नगरपालिका ४ का भगिरथ खतिवडाको फोक्शोको क्यान्सर रोगले गर्दा ज्यान नै लियो । ६४ वर्षका खतिवडा एक्कासी बिरामी भएर अस्पताल पुर्याउँदा फोक्शोमा समस्या देखिएपछि पछि थप उपचारका लागि भरतपुर लगिएको थियो । भरतपुर अस्पतालमा पुर्याएपछि थाहा भयो बुबालाई फोक्शोको क्यान्सर भएको पत्ता लाग्यो, कान्छा छोरा प्रकाश खतिवडा भन्छन्–‘क्यान्सरको रोग तेस्रो स्टेजमा पुगेको रहेछ ।’ अस्पतालमा उपचारको काम भएपनि सुधार नभएपछि घर फर्काउँदै गर्दा बुबाको बाटैमा मृत्यु भयो । चुरोट र बिडि खाने भगिरथले पछिल्लो ७ वर्षदेखि छोडेपनि फोक्सोको क्यासर रोगले ज्यानै लियो ।
माई नगरपालिका २ निवासी राधिका कार्कीको दैनिकी श्रीमान् र एक छोराको हेरचाहमा नै बित्छ । क्यान्सरले थलिएका छोरा सुवर्ण कार्की र घनेन्द्र कार्की अहिले उपचार पछि घरमा फर्किए पनि स्वास्थ्यमा सुधार भएको छैन । घनेन्द्र कार्की कन्काई माध्यमिक विद्यालयका शिक्षकबाट अवकाश लिएका हुन् । हाइड्रो सबन्धी इञ्जिनियर छोरा सुवर्ण कार्की एक्कासि बिरामी भएपछि भक्तपुर क्यान्सर अस्पतालमा छोराको उपचार गराउँदै घनेन्द्र कार्की पनि बिरामी परे । ब्रेन ट्युमरबाट पिडित सुबर्णको उपचार गराउन बसेका बाबु बिरामी भएपछि शिक्षक पेशामै काम गर्ने राधिका कार्कीले जागीरबाट राजिनामा नै दिनुपर्ने बाध्यता भयो ।
‘छोराको उपचार गराउन जाने मान्छे नै ब्रेष्ट क्यान्सरबाट पीडित भएपछि जागिर नै छोड्नुपर्ने अवस्था आयो,राधिका कार्किले भन्नुभयो–‘ दुवै जनाको उपचार गर्न ३१ लाख बढी खर्च भैसकेको छ ।’
आधाजति दुवै जनाको जागिरबाट आएको पैसाले पुग्यो बाँकी ऋण गरेर उपचार गर्यौ अझै औषधिमा खर्च महिनै पिच्छे हुन्छ,कार्की भन्नुभयो । घरका दुई सदस्य नै बिरामी भएपछि राधिका कार्कीले अन्नपूर्ण न्यूरो र भक्तपुर क्यान्सर अस्पतालमा अहिलेपनि नियमित रुपमा उपचार गराइरहनु भएको छ । राधिका कार्कीले भन्नुभयो–‘छोराको उपचार पछि पनि राम्रो स्वास्थ्य सुधार आएको छैन, श्रीमान्को राम्रो नै थियो अहिले फेरि स्वास्थ्य बिग्रिएको उपचार गर्न लानुपर्ने खर्च अभाव छ ।’
बस्नेत, खतिवडा र कार्की परिवार इलामका प्रतिनिधि घटना मात्रै हुन् । इलामका स्थानीय तहको तथ्याङ्ग हेर्दा सर्ने रोग सरह नसर्ने रोग प्रकोप झै फैलिरहेको छ । जिल्लामा मधुमेह, उच्च रत्तचाप, क्यानसर, मिर्गौला र मुटुरोगसम्बन्धी बिरामीको संख्या बढ्दै गएको हो । स्थानीय तहको स्वास्थ्य शाखाको तथ्याङ्क अनुसार इलामका नसर्ने रोग मध्येपनि घातक क्यानसर, मिर्गौला र मुटुरोग पनि संख्या बढेको देखिन्छ । जसको उपचारका लागि सरकारले प्रदान गरेको दीर्घ रोगी विपन्न नागरिक सहयोग कार्यक्रममा बिरामीका परिवारले सहयोग लिँदै आएका छन् ।
इलामका १० स्थानीय तह मध्ये देउमाई नगरपालिकामा घातक नसर्ने रोगीको संख्या बढी देखिन्छ । आर्थिक वर्ष २०७५÷०७६ मा यस नगरपालिकामा १० जना क्यान्सरका रोगि, ६ जना मुटु रोगि र ३ जना मृगौला रोगिले दिर्घ रोगि विपन्न नागरिक सहयोग कार्यक्रमबाट सहयोग लिन देउमाई नगरपालिकाको स्वास्थ्य शाखाबाट सिफारिस लिएका थिए ।
इलामको उत्तरी माईजोगमाई गाउँपालिकामा मुटु रोगी दुई, इस्पाइन इञ्जिुरी, ब्रेन ट्युमर, बनोम्यारो, क्यान्सर र पार्किनसन् डिजिज सम्बन्धि एक÷एक बिरामीको उपचारका लागि सेवा लिएको थिए । जिल्लाको दक्षिणी माई नगरपालिकामा मुटुरोगी ४, मृगौला २ र क्यान्सर ४ जना बिरामी फेला परेको नगर स्वास्थ्य शाखा प्रमुख काशिराम यादवले बताउनुभएको छ ।
जिल्लाको उत्तरी सन्दकपुर गाउँपालिकाको स्वास्थ्य शाखाबाट ४ जना कडा रोगिले दिर्घ रोगि विपन्न नागरिक सहयोग कार्यक्रमबाट सेवा लिएका छन् । स्वास्थ्य शाखा प्रमुख मनोजकुमार यादवका अनुसार मृगौला, कारसिनोमा स्टोम्याक(पेटको क्यानसर), मोलार प्रिगनेन्सि, स्पाइनल इन्जिुरी, ब्ऋक्,एयकतभचयष्लाभचष्यच धबिि क्ष् ल्क्त्भ्ःक्ष् रोगका एक÷एक बिरामी छन् । दक्षिणि इलामको चुलाचुली गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार ११ जना नसर्ने मध्येपनि घातक रोगको उपचारका लागि सरकारले प्रदान गर्ने दिर्घ रोगि विपन्न नागरिक सहयोग कार्यक्रमबाट सहयोग लिएका छन् । सहयोग लिइएकामा मृगौला, क्यानसर, मुटु सम्बन्धि बिरामीहरु रहेका छन् । इलामका बाँकी चार स्थानीय तहको तथ्याङ्कमा पनि कडा रोगिको संख्या उस्तै रहेको छ ।
अध्ययन भन्छ : इलाम नसर्ने रोगको उच्च जोखिम
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेकाे अध्ययनले इलाम नसर्ने रोगको उच्च जोखिममा रहेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले इलामका साविक १२ वटा गाविसमा गरेको अध्ययनले इलाम नसर्ने रोगको उच्च जोखिमा रहेको देखाएको छ २०७१ चैत पहिलो सातादेखि ९ महिना लगाएर अध्ययनले मधुमेह, उच्च रक्तचाप, मोटोपन,कोलस्ट्रोल मुटु, कलेजो, मृगौला र क्यान्सर रोगका कारक रहेका छन् । अनुसन्धान परिषद्ले साविक दानाबारी, चुलाचुली, महमाई, लक्ष्मीपुर, सोयाङ, नामसालिङ, नयाँबजार, जोगमाई, जमुना, मावु, माइपोखरी र माइमझुवा गाविसका एक हजार ४ सय ४ जनामा अध्ययन गरेको थियो ।
अध्ययनले सुर्तीसेवन, मादकपदार्थ सेवन, शारीरिक व्यायामको कमी, सागसब्जी र फलफूल सेवनको कमीका कारण मोटोपन, रगतमा हुने चिल्लो पदार्थ, मधुमेह र उच्च रक्तचापजस्ता नसर्ने रोगको अवस्था भयानक बन्दै गएको निष्कर्ष निकालेको छ ।
अध्ययनकर्ताका अनुसार इलाममा १३ प्रतिशत मधुमेहका रोगी छन् । यो समग्र देशको तुलनामा नौ प्रतिशतले बढी हो, परिषद्को तत्कालिन सदस्य सचिव डा खेम कार्कीले तथ्याङ्क सार्वजनिक गर्दै भनेका थिए–‘ समयमै यसप्रति ध्यान दिइएन भने समस्या थप विकराल बन्दै जानेछ ।’
अध्ययन अनुसार इलाममा २२ प्रतिशत स्थानियमा मोटोपनको समस्या छ । मधुमेह, उच्च रक्तचाप, मुटुरोग तथा हाडजोर्नी समस्याको कारक मानिने मोटोपन स्वास्थ्य समस्याका रुपमा देखापरेको छ ।
इलामका २७ प्रतिशत मानिस उच्च रक्तचापका बिरामी छन । महिलाको तुलनामा धेरै पुरुष यस रोगबाट ग्रस्त छन् । २५ प्रतिशत महिला र ३१ प्रतिशत पुरुष उच्च रक्तचापबाट पीडित छन् । उच्च रक्तचाप भएका अधिकांशले औषधि नै प्रयोग नगरेको पाईएको अध्ययनमा संलग्न डा कृष्ण अर्यालले बताए ।
इलामका १२ प्रतिशतमा कोलस्ट्रोलको समस्या देखिएको छ । नेपालको औषत तथ्यांकभन्दा इलाममा कमलाई कोलस्ट्रोलको समस्या भएपनि ग्रामीण क्षेत्रमा रगतमा चिल्लो पदार्थ धेरै भएका नागरिक पाइएकाले हृदयघात, मस्तिष्कघात र पक्षघातको समस्या हुने गरेको स्वास्थ्यकर्मीको भनाइ छ । इलाममा तत्कालिन नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा खेमबहादुर कार्कीको नेत्तृवमा १८ जनाको टोलीले छनोटमा परेका साविक गाविसमा अनुसन्धान गरेको थियो ।
सरकारको नसर्ने रोग नियन्त्रण कार्यक्रम
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययन पछि सरकारले इलाममा आर्थिक वर्ष २०७३÷०७४ बाट नसर्ने रोग नियन्त्रण कार्यक्रम शुरु गरेको छ । पहिलो चरणमा यो कार्यक्रम इलाम र कैलालीमा संचालन गरेको थियो । अध्ययनमा ३५ बर्षभन्दा कम उमेर समुह मानिसहरु समेत नसर्ने रोगबाट ग्रस्त भएकाले यसको रोकथामका लागी पहिलो चरणमा पूर्वको इलाम र कैलाली पश्चिमको कैलालीबाट शुरु गरेको थियो । नेपालीको जीवन शैली र आनीवानी परिर्वतन भएका कारण नसर्ने रोगबाट ग्रस्त हुनेको संख्या बृद्धि हुँदै गएपछि यो कार्यक्रम संचालन गरिएको स्वास्थ्य सेवा विभागको भनाइ छ । सन् २०१० अघि ५१ प्रतिशत नसर्ने रोगका कारण मृत्यु हुने गरेकोमा सन् २०१४ मा आएर यो प्रतिशत ६० पुगेको अवस्थामा स्वास्थ्य विभागले नसर्ने रोग सम्वन्धिको कार्यक्रम इलाम र कैलालीबाट शुरु गरेको छ ।
यस्ता रोगहरुको नियन्त्रणका लागी स्वास्थ्य विभागले प्रमुख ४ नसर्ने रोगका विरामीहरुलाई निःशुल्क औषधी जिल्ला अस्पताल, स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रबाट दिँदै आएको छ । राष्ट्रिय स्वास्थ्य निती २०१४ र राष्ट्रिय स्वास्थ्य क्षेत्र ५ बर्षे रणनिती २०१५–२०२० ले पनि नसर्ने रोग निवारणलाई उच्च प्राथमिक्तामा राखेकाले यसलाई सामाजिक स्वास्थ्य विमा कार्यक्रमसँगै स्वास्थ्य मन्त्रालयले कार्यक्रम अघि बढाउदै आएको छ ।
नसर्ने रोग नियन्त्रण कार्यान्वयनका लागी इलाम र कैलालीमा २ बर्षको अवधीमा ३ करोड ७६ लाख ६० हजार र मानव संसाधनका लागी नेपाल सरकारबाट २५ लाख रुपैया विनियोजित गरेको थियो । नसर्ने रोगबाट ग्रसित विरामीहरुको अन्तिम परिक्षण स्वास्थ्य सेवा महाशाखामा गरिने र त्यहाँबाट दिइएको पुर्जी लिएर हेल्थपोष्टबाट निःशुल्क औषधी लिन व्यवस्था गरिएको छ ।
रोग रोकथामका लागी हेल्थ पोष्टमा उच्च रक्तचाप , मधुमेह, क्यान्सर र मुटुरोगको पहिचान र सल्लाह सुझाव दिनुका साथै निःशुल्क औषधी वितरण गरिँदै आएको छ । इलाममा नसर्ने रोग सम्वन्धि अनुसन्धान गरिरहेका डा. भक्तराज दाहालका अनुसार ५० वटा नसर्ने रोगमध्ये उच्च रक्तचाप, मधुमेह, क्यान्सर र मुटुरोगबाट मात्रै ८० प्रतिशत मृत्यु हुने गरेको छ । तरकारीमा पाइने एन्टीअक्साइड नाम तत्व बिषादीका कारण ह्रास हुँदै गएकाले इलाम क्यान्सर संक्रमणमा पहिलो स्थानमा रहेको दाहालको भनाइ छ ।
यस्तो छ स्थानीय तहको तयारी
स्थानीय सरकारको गठन भएसँगै दीर्घरोगीको बारेमा कतिपय स्थानीय तहले योजना कार्यान्वयन गर्दै आएका छन् भने केहिले चासो दिएका छैनन् । इलामको देउमाई नगरपालिकाले मृगौला प्रत्यारोपण गरेका बिरामीलाई प्रति व्यक्ति मासिक पाँच हजार रुपियाँ निर्वाहा भत्ता दिन थालेको छ । बिरामी भई अशक्त भएकालाई जिवनयापनमा सहज बनाउन मृगौला प्रत्यारोपण गरेका बिरामीलाई मासिक भक्ता दिन पाँचौ नगर सभाले निर्णय गरेको प्रमुख सुर्य पोखरेलले बताए ।
जिल्लाको पश्चिमि माङ्सेबुङ्ग गाउँपालिकाले संघीय सरकारको जस्तै दिर्घ रोगि विपन्न नागरिक सहयोग कार्यक्रम प्रथम नगरसभाबाट निर्णय गरि कार्यान्वयन गर्दै आएको छ । गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गो भन्छन्–‘ आठ वटा कडा रोगिलाई उपचार खर्च २० हजारका दरले सहयोग गरिँदै आएको छ र गाउँटोलमा सचेतनामुलक कार्यक्रम संचालन निरन्तर हुँदै आएको छ ।’
उत्तर पुर्वी माईजोगमाई गाउँपालिकाले कडा रोगमध्ये मृगौला, मुटु र क्यान्सर रोगीलाई १० हजारदेखि ३५ हजारसम्म उपचारात्मक सहयोग गर्दै आएको अध्यक्ष जितबहादूर राईले बताए । जनप्रनिधिको नेतृत्व आएपछि पहिलो नगरसभाबाटै कडा रोगि बिरामीलाई आर्थिक सहयोगको निर्णय भएको हो, प्रमुख प्रशासकिय अधिकृत चन्द्रप्रकाश बस्नेतले भने–‘गत आर्थिक वर्षसम्ममा हाम्रो गाउँपालिकाले ३० बढी मृगौला, मुटु र क्यान्सर रोगिलाई उपचार खर्च दिएका छौ ।’ बस्नेतका अनुसार यो कार्यक्रम चालु आर्थिक वर्षमा पनि निरन्तरता पाएको छ ।
दक्षिणि चुलाचुली गाउँपालिकाले चेतनामुलक कार्यक्रम संचालनका लागि चालु आर्थिक वर्षमा २५ लाख बजेट विनियोजन गरेको छ । सबैभन्दा बढी टिभि रोगि रहेको गाउँपालिमा नसर्ने रोगीको संख्या बढ्दै गएकाले स्वास्थ्य शिविर र चेतनामुलक कार्यक्रम संचालन गर्न बजेट विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत काजिमान राईले बताए । दिर्घ रोगिको संख्या बढी रहेको दक्षिणको माई नगरपालिकाले मेरो स्वास्थ्य मेरो जिवन नाराका साथ सबै नागरिकलाई स्वास्थ्यप्रति जागरुप गराउँन चेतनामुलक कार्यक्रम गदैए आएको छ ।
नगर प्रमुख दिपक थेवे भन्छन्–‘हाम्रो नगरपालिकामा पर्ने चिलिमकोट र सोत्तिम चिया बगानमा अत्याधिक बिषादी प्रयोगले चिया बगानका वरिपरिका बजार र बस्ति क्यान्सर पकेट क्षेत्र भएका छन् ।’ ‘वितग तिन वर्षको अध्ययनले क्यान्सर रोगि बढ्दै गएको देखिन्छ, प्रमुख थेवेले भन्नुभयो–‘गत वर्षको एक महिनामा ८ जनाको मलामी गए, ती सबै क्यानसर रोगले ज्यान गुमाएका थिए ।’ कडा रोग फैलाउन सहयोग गर्ने बिषादीको प्रयोगमा रोक लगाउने तयारी छ, प्रमुख थेवेले भने–‘चेतनामुलक कार्यक्रमसँगै अर्गानिक नगर घोषणाको योजना रहेको छ ।’
उत्तरी सन्दकपुर गाउँपालिकाले नसर्ने रोग सुगर, प्रेसर र दमबारे चेतनामुलक कार्यक्रम गर्दै आएको छ । गाउँपालिका अध्यक्ष उदयबहादूर राईका अनुसार प्रत्येक स्वास्थ्य संस्थामा दम रोगिका लागि नबुलाइजेसन सेवा र सुगर, प्रेशरको रोग जाँचको व्यवस्था गरिएको छ ।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मनोजकुमार यादवका अनुसार रोग प्रतिको चेतना बढाउनका लागि प्रत्येक विद्यालयमा प्रत्येक महिना स्वास्थ्य शिक्षा कार्यक्रम गर्ने तयारी समेत भएको छ । इलामका स्थानीय तह मध्ये रोङ गाउँपालिकाले भने नसर्ने रोगका बारेमा कुनै कार्यक्रमको तयारी गरेको छैन । गाउँपालिका अध्यक्ष समसेर राईले भने–‘ संघीय र प्रदेश सरकारको कार्यक्रम बाहेक हाम्रो नसर्ने रोग नियन्त्रणबारे कुनै कार्यक्रम छैन ।’ नेपाल पत्रकार महासघ केन्द्रिय कार्यालयका लागि तयार गरिएको सामग्री