Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

युरोपियन सुपर कप खेलाउने पहिलो महिला रेफ्री बन्दै स्टेफानी

युरोपियन सुपर कप खेलाउने पहिलो महिला रेफ्री बन्दै स्टेफानी

  • नमीन ढकाल
  • सोमबार, साउन २० २०७६


युरोपियन सुपर कप खेलाउने पहिलो महिला रेफ्री बन्दै स्टेफानी

इलाम । गत जुलाई ७ मा सम्पन्न भएको महिला विश्वकपमा अमेरिका र नेदरल्यान्डको फाइनल खेलाउने रेफ्री सवैलाई याद छ । महिला रेफ्री स्टेफानी फ्रेपार्टले खेललाई विवाद रहित रुपमा सम्पन्न गरिन् । तिनै फ्रेपार्ट पहिलो पटक युइएफएको फाइनल खेलाउने महिला रेफ्री बन्ने भएकी छन् । आगामी १४ अगष्टमा टर्किको स्तानाबुलमा हुने युइएफए सुपरकप अन्र्तगत चेल्सी र लिभरपुलबिचको फाइनल खेलमा उनी मुख्य रेफ्रीको भुमिकामा देखिन लागेकी हुन । लिभरपुल युरोपियन च्याम्पियन्स लिग र चेल्सी युरोपा लिगको विजेताको हैसियतमा यो प्रतियोगिताको उपाधिका लागि खेल्नेछन । हालै मात्र युइएफएले अफिसियल रूपमा निर्णय गर्दै पहिलोपटक युरोपियन प्रतियोगितामा पुरुषको ठूलो खेल खेलाउने जिम्मा फ्रेपार्टलाई सुम्पिएको हो । अब उनी कुनै पनि युरोपियन प्रतियोगितामा पुरुषका ठूला खेल खेलाउने पहिलो महिला रेफ्री पनि बन्नेछिन ।
फ्रेपार्टले सन २०१७ को नेदरल्यान्ड र इङल्यान्डबिचको युइएफए महिला युरोको सेमीफाइनल समेत खेलाएकी थिइन् । चेल्सी र लिभरपुलबिचको खेलमा फ्रेपार्टलाई फ्रान्सकी मेनुएला निकोलोसी र आयरल्यान्डकी मिकेल ओ निलले असिस्टेन रेफ्रीको रुपमा साथ दिनेछन् । यि ३ जनाले महिला विश्वकपको फाइनल समेत खेलाएका थिए । फोर्थ अफिसियलको रुपमा टर्कीका कुनेट काकिर रहनेछन् । ‘हामी सांगठनिक रुपमा महिला फुटबलको विकासमा महत्व दिइरहेका छौ । स्टेफेनीले यो स्तरसम्म पुग्न जुन कौशल देखाइन त्यसले युरोपभरीका लाखौ युवतीहरुलाई प्रेरणा दिएको छ ।’ युइएफएका अध्यक्ष अलेक्जेन्डर केफरिनले भने ।


युइएफएको मुख्य रेफ्री अधिकारी रोवर्टो रोसेटीले फ्रेपार्टको क्षमताको तारिफ गर्दै उनले आफनो क्षमता र अवसरको पुर्ण सदुपयोग गदैै उच्च खेल खेलाउनेमा आशावादी रहेको बताए । ‘स्टेफेनी युरोपभरी मात्र होइन विश्वकै सर्वोत्कृष्ट महिला रेफ्री हो ।’ रोसेटीले भने । ३५ बर्षिया फ्रान्सेली फ्रेपार्ट पुरुष फुटबल खेलाउने पहिलो महिला रेफ्री भने होइनन् । यो श्रेय स्विजरल्यान्डकी निकोल पेटिग्रेटलाई जान्छ । उनले सन २००४ देखी २००९ सम्म युइएफए कप छनौट चरण खेलाउने अवसर पाएकी थिइन् । युइएफए सुपरकपको भिडियो असिस्टेन रेफ्रीमा फ्रान्सकै क्लिमेन्ट टुर्पिन, फ्रान्कोइस लेटेक्सियर, जर्मनका मार्क ब्रोस र इटालीका मेसीमिलियानो इराटी रहनेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार