इलाम । मेची राजमार्ग अन्तरगत इलाम र पाँचथरको सीमा क्षेत्रमा पने पौवाभञ्ज्याङ राँके सडक खण्ड बीचमा पर्ने पाङ्ग्रेभीरमा केही दिन अगाडि गएको पहिरोको कारण अनियन्त्रिण ढुङ्गा गिट्टि उत्खनन्का कारण पहिरो गएको स्थानीयबासीले बताएका छन् ।
निर्माण कम्पनीहरुले भीरमा एक्साभेटर लगाएर गरेको ढुंगा, रोडाको अनियन्त्रित उत्खनकै कारण रहेको नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष लवदेव ढुङ्गानाले बताउनुभयो । साँघुरो सडक क्षेत्रमो सडकलाई चौडा गर्न सडक डिभिजन कार्यालय, इलामले केही साता अघिदेखि सडक मुनिपट्टि मेसिनरी वाल लगाउने कामको ठेक्का निर्माण कम्पनीलाई दिएको थियो ।

तर वाल लगाउने ठेकेदारले सडकको माथिल्लोपट्टिको ढुंगा, गिट्टि अनियन्त्रित ढंगले निकालेकाले पहिरो गई ठूलो क्षति हुन पुगेको हो ढुङ्गानाको भनाइ छ । रातारात त्यहाँबाट निकालिएको ढुंगा, रोडा अन्यत्रका आयोजनामा ठूलो परिणाममा सप्लाई गरिएको स्थानीयको भनाइ छ ।
ठेकेदारले ढुंगा, रोडा बेचेर लाखौं कमाएको नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष ढुङ्गानाले बताउनुभयो । निर्माण कम्पनीको नाफा कमाउने उदेश्यले गर्दा सडकमा समस्या आएको वहाँले बताउनुभयो । सडक विभागका ईञ्जिनियर, प्राविधिकको अनुगमन नगर्दा निर्माण कम्पनीहरुले जथाबाभि सडकको काम गर्न बाहानामा उत्खनन् गरेका कारण सडक माथिबाट थाम्नै नसक्ने गरि पहिरो गएको पाँचथर जिल्ला समन्वय समितिका प्रुमख विमल सापकोटाले बताउनुभयो ।

लापरवाही साथ काम गरिएको र ढुङ्गा उत्खनन् भएको पाइन्छ वहाँले भन्नुभयो–‘ सडक विभागका इञ्जिनियरहरुले पनि अनुगमन गरिएको पाइँदैन यो कामको परिणामतः जमिनले थाम्न नसकेर पहिरो गएको र लामो समयसम्म राजमार्ग बन्द हुने अवस्था आएको हो । ठुलो पहिरो जानुमा कुनै सर्भेक्षण नगरी आयोजनाको नाममा कानुनविपरित कार्य गराउन आँखा चिम्लने कार्यालयका प्राविधिक र कर्मचारी, ठेकेदारलाई कारबाही गर्नुपर्ने प्रमुख सापकोटाको भनाइ छ ।
पहिरो अझै झर्ने क्रम जारी रहेकाले बैकल्पिक सडक निर्माणको काम भइरहेको सडक डिभिजन कार्यालय इलामका प्रमुख कृष्णनाथ ओझोले बताउनुभयो । सडकको तल्लो क्षेत्रको उत्खनन्का बारेमा आफु नयाँ भइकाले थाहा नभएको प्रमुख ओझाले जानकारी दिनुभयो ।