इलाम । सरकारले मुलुकको कृषि क्षेत्रको बिकासलाई पहिलो प्राथमिकतामा राख्ने गरेको भएपनि काम भने सुस्त देखिएको छ । सरकारी नारा लोकप्रिय देखिएपनि अपेक्षा अनुसार प्रतिफल न्युन देखिएको हो । सरकारले कृषि क्षेत्रको विकासवाटै मुलुकको अर्थतन्त्रको समग्र विकास गर्न सकिने जनाइरहँदा त्यस क्षेत्रको विकासका लागि छुट्याइएको करोडौ बजेट भने हरेक बर्ष खर्च नभई फ्रिज हुने गरेको छ । गत आर्थिक बर्षमा इलाम जिल्लामा कृषिको व्यवसायिक प्रर्वद्धनका लागी छुट्याएको ६२ प्रतिशत रकम फ्रिज भएको छ ।
प्रदेश सरकार भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मार्फत विनियोजन गरिएको ४ करोड १५ लाख २० हजार रकम मध्ये २ करोड ५८ लाख २० हजार ६ सय १९ रुपैया खर्च हुन नसकेको हो । अदुवा मिसन कार्यक्रम, चैते धान विशेष कार्यक्रम, खाद्यान्न बीउ आत्मनिर्भर कार्यक्रम, नमूना कृषि फार्म, सुन्तला जात बगैंचा व्यवस्थापनका नाममा आएको रकम खर्च नभई फिर्ता भएको कृषि ज्ञान केन्द्र इलामका दिनकरमणी आर्चायले बताए ।
अलैंची प्रशोधन केन्द्र स्थापना, कफी खेती विस्तार, व्यावसायिक फलफूल बगैंचा स्थापना र कृषि बजार तथा संकलन केन्द्र निर्माणका लागि विनियोजित रकमसमेत खर्च हुन सकेन् ।
कृषि ज्ञान केन्द्रमा बजेट कार्यान्वयन र कार्यक्रम सञ्चालनका लागि प्रदेश मन्त्रालयले समयमै निर्देशिका र कार्यविधि नपठाएका कारण कार्यक्रम सञ्चालन गर्न नसकिएको आर्चायले जानकारी दिए । प्रदेश नं एकमा ११ वटा कृषि ज्ञान केन्द्र रहेका छन । केन्द्रिय सरकार मातहतमा रहेको जिल्ला कृषि विकास कार्यालयलाई प्रदेश सरकारलाई हस्तान्तरण गर्दै समन्वय कार्यालयको रुपमा कृषि ज्ञान केन्द्र बनाइएको थियो । ज्ञान केन्द्रले स्थानिय तह मातहतमा रहेको कृषि शाखासंग समन्वय गर्दै आएको छ ।