Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

साउने संक्रान्तिको महिमा

साउने संक्रान्तिको महिमा

  • सन्देश सम्वाददाता
  • बुधबार, साउन १ २०७६


साउने संक्रान्तिको महिमा

काठमाडौं : बुधबार आज श्रावणसंक्रान्ति । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन साउने संक्रान्तिका रुपमा मनाइन्छ । यसै दिनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले दक्षिणायन सुरु हुन्छ ।
के के गरिन्छ साउन १ मा
लुतो फाल्ने– अधिकांश नेपालीहरु खेतीकिसानीमा लाग्ने भएकाले असार महिनाभर कृषिकार्यमा व्यस्त हुन्छन् । त्यस क्रममा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिन्छ । परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दा आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ ।छिमेकीहरुको नाम पुकारेर लुतो लैजा भन्ने चलन पनि छ ।
किसानको रमाइलो– एक महिनासम्म निरन्तर खेतमा काम गरेर रोपाईं गर्ने किसानहरु असारभर व्यस्त रहे । मानो रोपेर मुरी फलाउने किसानहरु असारभर थकित रहे । उनीहरुको रमाइलो गरेर थकान मेट्ने र दुःखसुख आदानप्रदान गर्ने दिनका रुपमा साउन १ पर्दछ । उनीहरु यस दिन आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन् । खानपिन पनि चल्ने गर्छ । मीठोमीठो खानेकुराहरु खाएर यो दिनलाई सुखद गराउने गर्छन् ।
शिवपूजन– भगवान शिवको पूजा गर्ने महिनाका रुपमा साउनलाई लिइन्छ । महिलाहरु हरिायो चुरा, हरियो पोते र हरियो सारी लगाएर सजिने गर्छन् ।शिव भगवान प्रकृतिप्रेमी भएकाले पनि उनलाई खुशी तुल्याउन महिलाहरुले उनको आरधना गर्दा हरियो लगाउने चलन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए ।साउनलाई शिवको महिना र सोमबारलाई शिवबार पनि भन्ने गरिन्छ । यो महिनाभर देशभरका शिवालयहरुमा भक्तजनको विशेष भीड लाग्ने गर्दछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार