इलाम । घरेलु तथा साना उद्योग विकास समिति इलामले सेवा प्रदायक संस्था छनौट गरि संचालन गरेको गरिबि निवारणका लागि लघु उद्यम विकास कार्यक्रमको अनुगमन गरिएको छ । जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालको नेतृत्वमा प्रमुख जिल्ला अधिकार श्रवणकुमार तिमिसना, नेपाल प्रहरी एसपि हिराबहादूर पाण्डे, शसस्त्र प्रहरी बल एक नम्बर गण इलामका गणपति बिदुर खड्का सहितको टोलीले लघु उद्यम विकास कार्यक्रम संचालन भएका स्थानको स्थलगत अनुगमन गरेको हो ।

अनुगमन टोलीले इलाम क्षेत्र नम्बर एकको सूर्योदय नगरपालिका १४ को लक्ष्मीपुर र इलाम क्षेत्र नम्बर २ को इलाम नगरपालिका ३ पुवामझुवाको अनुगमन गरेको हो । लघु उद्यम विकास कार्यक्रम सेवा प्रदायक संस्था छनौट पछि प्रत्येक गाउँपालिका तथा नगरपालिकाका जनप्रनिधिहरुको भेलाबाट पिछडिएको वडा छनौट गरि संचालन गरिँदै आएको छ । इलामको क्षेत्र नम्बर २ मा एकिकृत समाज विकास नेपालले संचालन गर्दै आएको कार्यक्रम पुवामझुवा क्षेत्रमा अनुगमन टोलीले अनुगमन गरिएको थियो ।
अनुगमन टोलीले व्यवसायीक बाख्रापालन र आधारभुत सिलाई कटाई तालिम संचलान लिँदै आएका सहभागिहरुसँग अन्तरक्रिया गरिएको हो । अन्तरक्रिया कार्यक्रममा बोल्दै इलाम नगरपालिका वडा नम्बर ३ का अध्यक्ष तिर्थ गुरुङ्गले कृषि, नेपाली कागज, पशुपालन, जडिबुटी खेतीको प्रशस्त सम्भावना भएपनि सहभागिको छनौट अनुसार बाख्रापालन र सिलाईकटाई तालिम संचालन गरिएको बताए । तालिममा सहभागिहरुले लिएको सीप उद्योग दर्ता गरि प्रयोग ल्याउनका लागि आफुले निरन्तर अनुगमन गर्दै र सहयोग गर्दै जाने वडाध्यक्ष गुङ्गले बताए ।

अन्तरक्रियामा घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख उद्योग अधिकृत सत्यनारायण राईले ग्रामीण क्षेत्र र पिछडिएको क्षेत्रमा संचालन गरि उद्यमी सिर्जना गर्ने कार्यक्रम रहेको बताए । तालिम पछि निःशुल्क रुपमा उद्योग दर्ता गर्न पाइने भएकाले उद्योग दर्ताका लागि काम गर्न तालिमका सहभागिहरुलाई आग्रह गरका थिए । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिसनाले तालिममा सिकेका सिप धिर्यताका साथ उपयोगमा ल्याए उद्यमीसँगै स्वरोजगार बन्ने भएकाले प्रमाणपत्रमा सिमित नराख्न आग्रह गरेका थिए । तालिम पछि उद्योग दर्ता गरेमा सरकारका अन्य निकायले सहयोग गर्ने र उत्पादित सामाग्रीको बजारीकरणमा पहल गर्ने भएकाले थप सिप आवश्यक परे राज्यका निकायमा सहयोग माग्नुपर्ने तिमसिनाको जोड थिए । आधारभुत तालिमले मात्रै व्यवसायीक बनाउन नसकिने भएकाले सिकेको सिपलाई उपयोग गर्दै आगामि आर्थिक वर्षमा थप कार्यक्रम माग गर्नुपर्ने उनको जोड थियो । उनले समाजमा घट्ने अपराधका घटना न्युनिकरणमा स्थानीय स्तरबाट सहयोग गर्ने आग्रह समेत गरेका थिए ।

अन्तरक्रियामा जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले ग्रामीण क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्ने र उद्यमी बनाउने कार्यक्रमबाट सिकेको सिप अधिकतम उपयोग गर्न सहभागिलाई आग्रह गरेका थिए । पुवामझुवा क्षेत्र कृषि, पर्यटन र पशुपालनका लागि संभावना भएको क्षेत्र भएकाले वडा र स्थानीय तहले सडकको स्तरउन्नतीमा ध्यान दिनुपर्नेमा जोड दिए ।
सिप सिकेर उपभोग गरेमा मात्रै राज्यको लगानी खेर नजाने भएकाले सबै सहभागिले उद्योग दर्ता गरि स्वरोजगार बनेमा गाउँमा थप अवसरहरुपनि सिर्जना हुँदा अरुलाई पनि प्रेरणा मिल्ने प्रमुख बरालको भनाइ थियो । कार्यक्रममा व्यवसायी बाख्रा पालन तालिममा सहभागि इन्द्र थापा र सिलाई कटाई तालिममा सहभागि बिनु श्रेष्ठ सिप राम्रोसँग उपभोग गर्ने बताएका थिए ।
अन्तरक्रियामा एकिकृत समाज विकास नेपालका कार्यकारी निर्देशक दिपक कार्कीले घरेलु तथा सना उद्योग विकास समितिसँगको सझौता अनुसारका छोटो, मध्यम र लामो समयका तालिम संचालन गरिएको जानकारी गराएका थिए । एकिकृत समाज विकास नेपालका जिल्ला कार्यक्रम जिल्ला संयोजक बलराम दाहालको उपस्थिति रहेको थियो । व्यवसायीक बाख्रा पालन तालिमको हरि प्रसाद गड्तौला र सिलाईकटाई तालिमको बन्दना राई प्रशिक्षक रहेका थिए ।

यस्तै इलामको क्षेत्र नम्बर १ स्थित सूर्योदय नगरपालिका १४ स्थित लक्ष्मीपुरमा संचालन भएको ढाका बुनाई तालिमको पनि अनुगमन गरिएको थियो । राष्ट्रिय सामुदायीक विकास केन्द्रले संचालन गर्दै आएको कार्यक्रमको टोलीले अनुगमन गरिएको हो । अनुगमन टोलीले तालिममा सहभागि, कार्यक्रम संचालन गर्ने संस्थाका कर्मचारीबिच अन्तरक्रिया गरेको थियो । अन्तरक्रियाका क्रममा राष्ट्रिय सामुदायीक विकास केन्द्रकी कार्यक्रम संयोजक सुनिता बस्नेतले स्थानीय तहमा संचालित कार्यक्रमका बारेमा जानकारी गराइएकी थिइन् । अन्तरक्रियामा वडा नम्बर १४ का अध्यक्ष नरबहादूर सुबेदीले ग्रामीण क्षेत्रमा स्वरोजगार बनाउन संचालन गरिएको कार्यक्रमबाट गाउँमै स्वरोजगारमुखि उद्योग स्थापना हुने र सहयोग गर्नेमा जनाएका थिए । रोजगारमुखि उद्योग संचालनका लागि थप सिप मुलक तालिम आवश्यक परेमा वडा कार्यालयबाट सहयोग हुने वडाध्यक्ष सुवेदीको भनाइ रहेको थियो । अन्तरक्रियामा ढाका तालिममा सहभागि भएका तुलसा समाल, गिता सिंजाली मगरले ढाका बुनाई तालिमबाट सिप राम्रो सिकरहेको र आधारभुत तालिमपछि व्यवसायीकरणका लागि थप सपि चाहने भएकाले प्रदान गर्नुपर्ने बताएका थिए ।
अनुगमन टोलीमा जिल्ला समन्वय समितिका सदस्य भिमकला बस्नेत कार्यक्रममा राष्ट्रिय अनुसन्धान कार्यालयका इलामका प्रमुख तुलसि कट्टेल, कोष तथा लेखा नियन्त्रण,कार्यालयका इलामका प्रमुख भुमिराज भुसाल, जिल्ला समन्वय अधिकारी हरिप्रसाद दाहाल, इलाम उद्योग बाणिज्य संघकी सदस्य दिपा गुरुङ्ग, घरेलु तथा साना उद्योग विकास समितिका प्रुमख सत्यनारायण राई, लेखापाल नारायण दाहाल, प्रमुख शिक्षक खड्ग बस्नेत, नेपाल घरेलु तथा साना उद्योग महासंघ इलामका दिनेश श्रेष्ठ, सूर्योदय उद्योग बाणिज्य संघका सदस्य सुजन तिमसिना, राष्ट्रिय सामुदायीक विकास केन्द्रका अध्यक्ष नारायण कार्कीको सहभागिता रहेको थियो ।