फिक्कल । अखिल नेपाल फुटबल संघ (एन्फा) र सुर्योदय नगरपालिकाको संयुक्त लगानीमा करफोक खेलमैदानमा प्रशिक्षण केन्द्र बनाइने भएकोछ । ५ बर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य सहित एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र सुर्योदय नगरप्रमुख रणबहादुर राईबिच आज सम्झौता गरिएको हो । १ करोड बढीको लागतमा निर्माण हुने प्रशिक्षण केन्द्रका लागी दुवै पक्षले बराबर रकम व्यर्होनेछन । एन्फाले देशका १५ वटा स्थानमा प्रशिक्षण केन्द्र निर्माण गरी संचालन गर्ने योजना अनुसार इलाम जिल्लाका लागी करफोक मैदानमा प्रशिक्षण केन्द्र बनाइएको हो ।
करफोक माध्यमिक विद्यालयको स्वामित्व रहेको ७० रोपनी क्षेत्रको खेलमैदानमा भौतिक एन्फाले भौतिक पुर्वाधार निर्माण गरेर २० बर्षेसम्म प्रयोग गर्नेछ । १० बुदे सम्झौतापत्रमा खेलमैदान विद्यालयले निःशुल्क भोगाधिकार गर्न पाउने, सम्झौता समयावधीभित्रमा प्रथम पक्ष सुर्योदय नगरपालिकाले द्धितिय पक्षलाई हटाएमा उक्त प्रशिक्षण केन्द्र निर्माण लागतको दोव्वर रकम क्षतिपुर्ती भुक्तान गर्नुपर्ने, द्धितिय पक्षले भोगाधिकार छाडदा निर्माण भएका संरचना सहित छोडनुपर्ने लगायत रहेका छन ।
कार्यक्रममा बोल्दै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले पुर्वाधार निर्माण एन्फाको पहिलो प्राथमिकता भएको बताए । ‘ फुटबल विकासको लागी पहिला पुर्वाधार, प्रशिक्षण अनि मात्रै प्रतियोगिता’ उनले भने ‘आउँदो चैत्रसम्ममा प्रशिक्षण केन्द्र संचालनमा आउने गरि काम गरिनेछ ।’मोफसलका खेलाडीहरु काठमाण्डौ पुग्दा उमेर अनुसारको खेल प्रर्दशन गर्न नसक्दा नेपाली फुटबल पछाडी परेको उल्लेख गर्दै शेर्पाले स्थानिय तहहरुबाट क्षमता विकासका लागी प्रशिक्षण केन्द्रको अवधारणा अगाडी सारेको जानकारी दिए ।
एन्फाले स्थानिय तह र जिल्लामा प्रशिक्षण केन्द्र बनाउनुका साथै प्रदेशमा महिला र पुरुषको टेक्निकल सेन्टर संचालन गर्ने तयारी रहेको शेर्पाले बताए । खेलाडीहरुको विकासको निम्ती स्थानिय, जिल्ला प्रदेश हुँदै राष्ट्रिय लिग आयोजनाको काम अगाडी बढाइएको बताउँदै उनले नेपाली फुटबललाई व्यवसायिक बनाउन योजना रहेको सुनाए । ‘नेपाली फुटबल अर्धव्यवसायिक मात्र छ व्यवसायिक बनाउन क्लबहरुलाई प्रालिमा लगेर छुट्टै प्रक्रियाबाट दर्ता गरिने छ ।’ उनले भने
कार्यक्रममा बोल्दै एन्फाका केन्द्रिय सदस्य निरोज खड्गीले इलाम खेलकुद क्षेत्रमा अग्रणी भएपनि पुर्वाधार अभावमा अपेक्षा अनुसार विकास हुन नसकेको बताउँदै ढिलो भएपनि प्रशिक्षण केन्द्र निर्माणको प्रक्रिया अगाडी बढेकोमा खुशी व्यक्त गरे
सुर्योदय नगरप्रमुख रणबहादुर राईले एन्फाको निर्णयको स्वागत गर्दै पुर्वाधार निर्माणका लागी आवश्यक लगानी उपलव्ध गराउन कन्जुस्याई नगर्ने बताए । उनले सुर्योदयलाई खेलकुद पर्यटनको रुपमा चिनाउने लागी पर्ने बताए ।
इलाम नगर प्रमुख महेश बस्नेतले खेल क्षेत्रमा लगानी नहुँदा खेलाडीहरुबाट अपेक्षा अनुसार नतिजा निस्कने नसकेको बताए । उनले नेपाली खेलकुदमा क्षमतावान खेलाडीहरु भएपनि पुर्वाधार र प्रोत्साहनको अभावमा व्यवसायिकता तर्फ उन्मुख हुन नसकेको जिकिर गरे
रोङ गाउँपालिका अध्यक्ष शम्शेर राईले पुर्वाधार निर्माणसंगै जिल्लाका अन्य क्षेत्रमा समेत प्रशिक्षण केन्द्र निर्माणमा जोड दिन एन्फा अध्यक्षसंग आग्रह गरे । उनले अहिलेको अवस्थामा पुर्वाधार निर्माण पहिलो आवश्यक्ता रहेको औल्याए ।
फाकफोकथुम गाउँपालिका उपाध्यक्ष सरस्वती राईले सर्योदय नगरपालिकामा प्रशिक्षण केन्द्र निर्माणले इलामका मात्र नभई छिमेकी जिल्लाका खेलाडीहरु समेत लाभान्वित हुने धारणा राखिन । उनले देश चिनाउन खेलकुद क्षेत्र महत्वपुर्ण हुने बताइन । कार्यक्रममा माई नगरपालिका प्रमुख दिपककुमार थेवे, माइजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राई लगायतको उपस्थिती रहेको थियो ।