एजेन्सी । कोपा अमेरिका फुटबलमा आयोजक ब्राजिलले सुखद सुरुवात गरेको छ । आज भएको उद्धघाटन खेलमा उपाधीको दावेदार मानिएको ब्राजिलले बोलिभियाको चुनौती ३–० गोल अन्तरले पन्छाएको हो । ब्राजिलको जितमा फिलिपे काउटिन्हो र एभरटन सोरेसले गोल गरे । पहिलो हाफ बराबरीमा सकिएको खेलको ५० औ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै काउटिन्होले ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । बोलिभियाका डिफेन्डर एड्रिएन जुसिनोले डिवक्सभित्र ह्यान्ड गरेपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहयोगमा निर्णय लिएका थिए ।
३ मिनेटमा नै काउटिन्होले अग्रता दोव्वर बनाए । रोवर्टो फर्मिनोको क्रसमा अनमार्क रहेका काउटिन्होले हेडर मार्फत गोल गरे । खेलको ८५ औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका विंगर एभरटनले गोल गर्दै सहज जित पक्का गरे । उनले मैदानको बायाँ विङ्गबाट बलमा उत्कृष्ट नियन्त्रण देखाउँदै गोल गर्न सफल रहे । खेलमा ब्राजिलका काउटिन्हो र बोलिभियाका फर्नान्डो सौसेडोले पहेलो कार्ड पाए । जितसंगै ब्राजिल ३ अंकको साथ समुहको शिर्ष स्थानमा छ । खेलको म्यान अफ दि म्याच काउटिन्हो घोषित भए ।
हालसम्म ब्राजिल र बोलिभियाले २९ खेल खेलेका छन । जसमा ब्राजिलले २० खेल जितेको छ भने बोलिभिया ५ खेलमा विजयी रहेको छ । ४ खेल बराबरीमा सकिएका छन । ब्राजिलले खेलेको पछिल्लो ५ खेलमा ४ जित र १ बराबरी खेलेको छ । यता बोलिभिया भने पछिल्ला ५ खेलमा जितविहिन रहँदै ३ हार र २ बराबरीको नतिजा रहेको छ । आइतबार राती १२ः४५ बजे दोश्रो खेलमा पेरु र भेनेजुएला आमनेसामने हुँदैछन ।