Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

४० बर्षसम्म पनि सरकारकाे शहिद बन्न सकेनन् बमप्रसाद

४० बर्षसम्म पनि सरकारकाे शहिद बन्न सकेनन् बमप्रसाद

  • नमीन ढकाल
  • शनिबार, बैशाख २८ २०७६


४० बर्षसम्म पनि सरकारकाे शहिद बन्न सकेनन् बमप्रसाद

इलाम । सरकारले विभिन्न चरणमा गरेर जनयुद्धमा ज्यान गुमाउने प्रहरी, जनमुक्ती सेना, तराई आन्दोलनका मृतक लगायत २ हजार भन्दा बढीलाई शहिद घोषणा गरेको छ । तर पनि अझै समाज रुपान्तरणमा प्राण आहुती दिनेहरुको योगदान भने ओझेलमै छ । तिनै मध्येका एक हुन बमप्रसाद बान्तवा । ठिक आजकै दिन ४० बर्ष अघि (२०३६ साल बैशाख २८ गते) तत्कालिन निरंकुश पञ्चायती शासकले बम प्रसादको हत्या गरेको थियो । रत्न कुमार वान्तवासंगै क्रान्ति गरेका बमप्रसाद अझै शहिद घोषणा हुन सकेका छैनन् । पार्टीले शहिद घोषणा ग¥यो तर सरकारबाट अझै हुन सकेको छैन ।
को हुन बमप्रसाद ?
वि.स २००९ साल जंगविर राई र परमेश्वरी राईको कोखबाट उनको जन्म भएको थियो । भानुभक्त मावि मंगलबारेमा एसएलसीसम्म अध्ययन गरेका उनी सानै देखि हक्की स्वभावका थिए । बमप्रसाद बान्तावा रत्नकुमार वान्तवाका बालसखा र विश्वासीलो साथी समेत थिए । रत्नकुमार वान्तवा विएड अध्ययन गरेर इलाम आएपछि बमप्रसाद अझै उनको नजिक भएर काम गर्न थाले । २०३२ सालमा अखिल नेपाल कोअडिनेसन केन्द्र इलाम जिल्ला कमिटीसंग आवद्ध भए जस्को सचिव थिए झलनाथ खनाल । अन्य सदस्यमा रत्नकुमार बान्तवा, गणेश राई, अगम बान्तवा, भक्त देवान, बमप्रसाद वान्तवा र वसन्त पराजुली थिए ।


बुर्जुवा शिक्षा बहिस्कार गर्दै गाउँगाउँमा गएर जनतालाई संगठित गर्नुपर्छ भन्ने मान्यताका साथ रत्नकुमार बान्तवा क्याम्पसको जागिर छाडेर २०३३ सालदेखि पूर्णकालीन राजनीतिमा सक्रिय हुन थालेपछि बमप्रसादले उनको पदचाप पछयाएका थिए । २०३४ सालमा चमैता चित्रेमा रहेको रत्नकुमार वान्तवाको घरमा सुरुङ बनाउने कार्यमा उनी पनि सक्रिय रुपमा लागे । अखिल नेपाल किसान संघ इलामका अध्यक्ष समेत रहेका बमप्रसाद २०३५ फागुन २१ गते सुखानीमा मारिएका पाँच जनाको स्मृति दिवस पारेर रत्नकुमार वान्तवाको नेतृत्वमा इलामभरि व्यापक पर्चा छर्ने कार्यमा सहभागी थिए । शहीदको बदला लिन पंचायती शासन ढाल्ने, राजतन्त्रको उन्मूलन गर्ने र जनवादी शासन स्थापना गर्ने उद्देश्यका साथ पर्चा छरेका थिए । तत्कालिन पञ्चायती सिपाहीले २०३५ साल चैत्र २७ गते इभाङमा रत्नकुमार वान्तवाको हत्या ग¥यो ।
यसरी मारिए
रत्नकुमार बान्तवाको खोजीमा निस्किएको प्रहरीले २०३५ चैत २४ गते इभाङमा रत्नकुमार बान्तवा भन्ने ठानेर गाउँले किसान निमा शेर्पालाई गोली हानेर हत्या ग¥यो । निमा शेर्पाको अनुहार र जिउडाल रत्नकुमार बान्तवासँग मिल्दोजुल्दो थियो । सुराकीले रत्नकुमार भनेर औँल्याएपछि निमालाई प्रहरीले गोली हानेको थियो । रत्नकुमार र निमाको हत्यापछि गाँउमा प्रहरीका ज्यादती बढ्न थाल्यो । सोही समय बमप्रसाद साखेजुंगको ध्वजबहादुर राईको घरमा लुकेर बसेका थिए । त्यो एक महिना चित्रे नजिकको महभीरको जंगल, कालिखोला, सिंखर्क तिर भौतारिएर बसेका थिए ।


राजनीतिक अनि भूमिगत चेत भएका बम रत्नको बदला लिनुपर्छ भनेर बैशाख १ गते रत्नको श्रदान्जली सभामा कसम खाएका थिए । धेरै दिनको अनिन्द्रा भोकले जर्जर भएका बम बान्तावा र उनीसँग हिडी रहेका अशोक राई साखेजुंगको ध्वजबहादुर राईको घरमा बैशाख २८ गते विहानपख पक्राउ परे । पक्राउ परेको दिनभर यातना दिएर राखे । यातनाबाट चार पटक बेहोश भए पनि कुनै गोप्य कुरा खोल्न नमानेको कारण अपराहन्न ३ बजे पुलिसले गोली हानी हत्या गरेको थियो । २०३६ बैैसाख २८ गते बमप्रसाद मारिएपछि प्रहरी प्रशासनको अपरेशन अन्त्य भएको थियो । बमप्रसाद सम्झनामा देउमाई नगरपालिकाको चमैता चित्रेमा रत्नकुमारसंगै पुर्णकदको शालिक बनाइएको छ । त्यसैगरी इलाम नगरपालिकामा अर्धकदको शालिक छ । जस्मा हरेक बर्ष रत्न– बम प्रतिष्ठानले श्रद्धाञ्जली सभा आयोजना गर्दै आएको छ ।
शहिदको सुचीमा समेटिने आश
सभामा हरेक बर्ष बमप्रसादलाई शहिद घोषणको पहल गर्ने प्रतिवद्धता जाहेर हुन्छ । तर उनीसंगै निमा अझै सरकारको शहिदको सुचीमा अट्न सकेका छैनन् । रत्नकुमार बान्तवाले सहादत प्राप्त गरेको ३७ वर्षपछि २०७२ फागुन २२ गते केपी ओली नेतृत्वको सरकारले शहीद घोषणा ग¥यो । रत्न र बमको शालिक निर्माण भएपनि निमाको अझैसम्म शालिक बनाइएको छैन । प्रदेश नं १ का प्रदेशसभा सदस्य एवम नेकपाका केन्द्रिय सदस्य धिरेन्द्र शर्मा रमणले बम बान्तवालाई शहिद घोषणाको लागी पार्टीका तर्फबाट पहल भएको बताए । त्यसैगरी अर्का प्रदेशसभा सदस्य एवम नेकपा इलामका अध्यक्ष राम रानाले बमको योगदानको बिषयमा झलनाथ खनाल, प्रदिप नेपाल, सुवासचन्द्र नेम्वाङ, इश्वर पोखरेल लगायत जानकार रहेकाले चाडै शहिदको सुचीमा नाम देख्न पाइने आशा व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार