बिर्तामोड — पाँच सातादेखि चिया क्षेत्र ठप्प हुँदा झापाका उद्योगीले २० प्रतिशत नोक्सानी बेहोरेका छन् । श्रम ऐन कार्यान्वयनको माग गर्दै श्रमिकहरू अनिश्चितकालीन आन्दोलनमा उत्रिंदा बगानमा चियाको हरियो पत्ती झाङ्गिएको छ ।
आन्दोलनका कारण जिल्लामा कार्यरत करिब ३० हजार श्रमिकलाई पनि करोडौंको नोक्सानी पुगेको छ । चियाको फस्ट फ्लस ९पहिलो टिपाइ० सुरु भएकै समयमा श्रमिकहरूले आन्दोलन सुरु गरेका हुन् । यो सिजनको अहिलेसम्म हरियो पत्ती चार राउन्ड टिपिसक्नुपर्ने थियो । श्रमिक आन्दोलनका कारण हरियो पत्ती एक राउन्ड मात्रै टिपाइ भएको छ । काम ठप्प हुँदा बगानमा चिया पत्ती आवश्यकताभन्दा निकै बढेर पहेंलिएको छ । आन्दोलनका कारण २० प्रतिशतभन्दा बढी नै क्षति पुगिसक्यो, भद्रपुर नगरपालिकास्थित बुधकरण एन्ड सन्स टी कम्पनीका सञ्चालक राजेन्द्रसिंह राजवंशीले भने, आन्दोलन नभएको भए यो अवधिमा हाम्रो कारखानाले ७० हजारभन्दा बढी तयारी चिया उत्पादन गथ्र्यो । यसपालिको आन्दोलनले उद्योगीहरूलाई निकै ठूलो क्षति पुगेको उनले बताए ।
बुधकरण टी कम्पनीको साढेतीन सय बिघा जमिनमा चिया बगान छ । आन्दोलनको ३६ दिनसम्म करिब ४० लाख तयारी चियामा क्षति पुगेको छ, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका प्रमुख रामएकवाल यादवले भने, न्यूनतम एक सय ६० रुपैयाँ प्रतिकेजीका दरले जोड्ने हो भने पनि ६४ करोडभन्दा बढीको नोक्सानी भइसक्यो ।
जिल्लामा वाषिर्क दुई करोड तयारी सीटीसी चिया उत्पादन हुने गरेको नेपाल चिया उत्पादक संघले जनाएको छ । ७ हजार ७ सय २५ हेक्टर जमिनमा ठूला चिया बगान छन् । ती बगानहरूबाट वाषिर्क एक करोड २० लाख केजी तयारी चिया उत्पादन हुने गरेको बोर्डले जनाएको छ ।
जिल्लामा ३ हजार साना चिया किसान छन् । उनीहरूले करिब ४ हजार हेक्टर जमिनमा गरिरहेको चिया खेतीबाट वाषिर्क ८० लाख केजी तयारी चिया उत्पादन हुने गरेको छ । समग्रमा जिल्लामा साढे ११ हजार हेक्टर क्षेत्रफलमा चिया खेती गर्ने गरिन्छ । चिया उत्पादक संघमा दर्ता भएका २६, साना किसानका ४ र अन्य गरी जिल्लामा ३४ वटा चिया प्रशोधन कारखाना सञ्चालनमा छन् ।
ुउद्योगीको मात्र होइन, मजदुरतर्फ पनि करोडौंको क्षति पुगिसक्यो, ट्रेड युनियन महासंघ का प्रदेश १ उपाध्यक्ष सन्तकुमार राईले भने । यो सिजन श्रमिकहरूले आफ्नो दैनिक ज्यालाभन्दा बढी आम्दानी गर्ने सिजन भएको उनले बताए ।
हरियो चिया पत्ती टिप्ने श्रमिकहरूले कम्पनीले तोकेको एक दिनको तौलभन्दा धेरै टिपेर ओटी कमाउने गरेको उनले बताए । ुदैनिक ज्याला २ सय ७८ भए पनि यो सिजनमा श्रमिकहरूले ओटी कमाएर दैनिक ४ सयसम्म ज्याला र्पुयाउछन्, उनले भने, यो हिसाबले ३६ दिनसम्मको हिसाब गर्ने हो भने जिल्लाको करिब ३० हजार श्रमिकको ४० करोडभन्दा बढी क्षति भएको छ ।
झापासहित इलाम, धनकुटा, पाँचथरलगायतका चिया श्रमिक श्रम ऐन ०७४, श्रम नियमावली ०७५ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयनको माग गर्दै चैत १७ गतेदेखि आन्दोलनमा छन् । सरकारले चालु वर्षको साउन १ देखि नै चिया बगानमा कार्यरत श्रमिकलाई श्रम ऐनअनुसार सेवा सुविधा दिनुपर्ने नियम लागू गरिसकेको छ । तर, उद्योगीले ऐन कार्यान्वयन गर्न नसक्ने जनाउँदै पुरानै ज्याला र सेवा सुविधा दिएपछि श्रमिक आन्दोलित बनेका हुन् ।
चिया मुलुकको प्रमुख नगदे बालीमा पर्छ । चिया निर्यातबाट मुलुकमा वाषिर्क अर्बौं रुपैयाँ विदेशबाट भित्रिने गरेको छ । नेपालबाट ०७१र७२ मा २ अर्ब ६८ लाख, ०७२र७३ मा २ अर्ब ४० करोड, ०७३र७४ मा २ अर्ब ५० करोड र ०७४र७५ मा ३ अर्ब २५ करोडभन्दा बढीको तयारी चिया निर्यात भएको थियो । यो आन्दोलनले हामी उद्योगीलाई मात्रै होइन, मुलुकको समग्र आर्थिक क्षेत्रलाई नै असर र्पुयाउँछ, राजवंशीले भने ।