Local Sandesh मंगलबार, चैत्र ६ २०८०
  • ट्रेण्डिङ :

इलाममा ‘७२ को विस्मय’ र ‘एघार नोभेम्बर’ माथि विमर्श

इलाममा ‘७२ को विस्मय’ र ‘एघार नोभेम्बर’ माथि विमर्श

  • सन्देश सम्वाददाता
  • मंगलबार, चैत्र २६ २०७५


इलाममा ‘७२ को विस्मय’ र ‘एघार नोभेम्बर’ माथि विमर्श

इलाम : इलाममा एउटै मञ्‌चबाट दुई कृतिकोमाथि विमर्श गरिएको छ । लेखक तथा पत्रकार वसन्त बस्नेतको ‘७२ को विस्मय’ र लेखक काङमाङ नरेश राईको ‘एघार नोभेम्बर’ माथिविमर्श गरिएको हो । सदरमुकामस्थिम जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा दुवै कृतिमा समेटिएको विषयवस्तुको चर्चा गरिएको थियो ।
‘फरक आयाम’ नामक साहित्यिक संस्थाको आयोजना भएको कार्यक्रममा लेखक तथा पत्रकार वसन्त बस्नेतद्वारा लिखित ‘७२ को विस्मय’ ले उत्पीडित मधेसी जनताको आवाज प्रतिविम्बित गरेको वक्ताहरुले बताए । बस्नेतले मूलधारको संचारमाध्यममा रिपोर्टिङ गर्ने क्रममा देखेका अनुभूति पुस्तकमा समेटेको बताए ।
वक्ता हाङयुग अज्ञातले देश र मधेस बुझ्न उपयोगी भएको बताए । मधेस आन्दोलनका समयमा भएका घटनालाई यथार्थपूर्ण किसिमले प्रस्तुत गर्दै बस्नेतले मधेसी र उत्पीडित नागरिकको विभेद र यथार्थलाई कृतिमा प्रस्तुत गरेकाले अझ महत्वपूर्ण रहेको बताए । उनले राज्य संचालनमा ब्राह्मण र क्षेत्रीबीचको लडाई भइरहेको जनाउँदै यस्तो अवस्थामा बस्नेतद्वारा मधेस र मधेसीको यथार्थलाई समेटेर कृति लेखिनु महत्वपूर्ण रहेको उल्लेख गरे । उनले अझैपनि रङको आधारमा विभेद भइरहेको उल्लेख गर्दै समानता र न्यायको पक्षमा लाग्न यो कृति उल्लेखनीय रहने बताए ।
अर्का वक्ता डा देवी क्षेत्री दुलालले मधेस र मधेसीमाथि विगत लामो समयदेखि विभेद कायम रहेको बताउँदै उनीहरुको आवाजलाई बस्नेतले कृतिमार्फत प्रतिविम्बित गरेको बताए । मधेस आन्दोलनलाई तथ्यपूर्ण ढंगमा उजागर गर्दै मधेसमा बस्ने जाति, समुदाय एवं इतिहासको विषयमा लेखिएको पुस्तक महत्वपूर्ण रहेको बताए । कार्यक्रमको सहजीकरण साहित्यकार प्रकाश थाम्सुहाङले गरेका थिए ।बस्नेतले २०७२ सालका तीन महत्वपूर्ण घटना भुइँचालो, संविधान र नाकाबन्दीको सेरोफेरोमा ‘७२ को विस्मय’ कृति लेखेका छन् ।

त्यस्तै अर्का लेखक काङमाङ नरेश राईको ‘एघार नोभेम्बर’ माथि समेत विमर्श गरिएको छ । कथाकार राईले कृतिमा ७ वटा युद्ध सम्बन्धी कथाहरु समेटेका छन् । युद्ध साहित्य सिद्धान्तका अभियान्ता राईले प्रथम विश्वयुद्धदेखि अहिलेसम्म गोर्खाली सेनाहरुले भोगेको अनुभूतिहरु समेटेका छन् । गोरखालीहरु बेलायती सेनामा भर्ना भएर अर्काको देशका विरुद्ध युद्ध गर्दाको अनुभितिहरु समेटिएको छ । नेपालभित्रको पहिचानको संघर्ष र बाहिर लाहुरेहरूले बेलायतमा गरिरहेको संघर्षलाई उनले कथामा समेटेका छन् । कथामा लाहुरेको चित्र र युद्धमा नेपाली सहभागिताको चित्र पाएको छ । त्यस्तै युद्धले नेपाली समाजमा पारेको प्रभाव, मानवीय जीवनमा पारेको प्रभावहरु लगायतका विषय समेटेका छन् ।

साहित्यकार जितेन मुस्कानले सहजीकरण गरेको कार्यक्रममा वक्ताका रुपमा सुरेन्द्र राई र तीर्थ निरौला थिए ।फरक आयमका महेन्द्र विरहीको अध्यक्षता र सिर्जनशील अराजकताका अभियान्ता राजन मुकारुङको प्रमुख आतिथ्यतामा भएको कार्क्रमको स्वागत शन्धिभक्त शंकर र संचालन अतित योङहाङले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार