चुलाचुलीः झापाको दमकदेखि इलामको चुलाचुली गाउँपालिका जोड्ने रतुवा खोलाको पुल निर्माण सम्पन्न नहुँदा स्थानीयबासी समस्यामा परेका छन् । पुल निर्माण सम्पन्न नभएपछि शिक्षा, स्वास्थ्य र व्यापारीक कामका लागि झापाको दमक जाने चुलाचुलीबासी चिन्तित भएका हुन् । २०७२ साल कात्तिक महिनामा निर्माण संम्झौता भई २०७५ कात्तिकमा सम्पन्न गर्नका लागि इलाइट निर्माण सेवाले काम गरेपनि अहिले पुलको काम ६० प्रतिसत मात्रै सकिएको छ । पुल निर्माणको म्याद सकिएको ३ महिना पछि पनि प्रगति ६० प्रतिशत मात्रै भएपछि वर्षायामको समयमा चुलाचुलीबासीले झापा र सदरमुकाम जान समस्या भोग्नुपर्ने चुलाचुली गाउँपालिका ३ का वडाध्यक्ष नरेन्द्र लावतीले बताए ।
१५ करोड २८ लाख २१ हजारमा सम्झौता भएको पुलको निर्माण प्रगति राम्रो नभएको र चाँडो काम गर्न निर्माण कम्पनीका प्रतिनिधिलाई पत्राचार गरिएको पुर्वी पुल सेक्टर नम्बर एक धरानका प्रमुख कैलाश शाहले बताए । पुल निमार्णको जिम्मा पाएको कम्पनीले म्याद थपका लागि दिएको निवेदनमा स्पष्ट कारण नभएकाले स्वीकृति नगरिएको प्रमुख शाहले बताए । चुलाचुली गाउँपालिकाबाट इलाम सदरमुकाम जान समेत रतुवा खोला तर्नुपर्ने भएकाले स्थानीयबासीले वर्षातका ६ महिना समस्या भोग्दै आएका छन् ।