Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

नेपाली जातको चियाका बिरुवाको विकास गर्दै चिया तथा कफि विकास बोर्ड

नेपाली जातको चियाका बिरुवाको विकास गर्दै चिया तथा कफि विकास बोर्ड

  • सन्देश सम्वाददाता
  • सोमबार, चैत्र ११ २०७५


नेपाली जातको चियाका बिरुवाको विकास गर्दै चिया तथा कफि विकास बोर्ड

इलाम । विक्रम सम्बत १९२० चिया रोपण थालिएको नेपालमा नेपाली जातकै चियाको बिरुवाको उत्पादनका लागि अध्ययन थालिएको छ । प्रधानमन्त्री जंगबहादूर राणाले चीन भ्रणमबाट उपाहार पाएको चियाको बिऊबाट विस्तार गरिएको इलाम र सोक्तिम चिया बगानका बिरुवा छनौट गरि नेपाली जातको बिरुवा उत्पादन सुरु गरिएको चिया तथा कफि विकास बोर्ड चिया विस्तार योजना प्रमुख इन्द्र अधिकारीले बताए ।
भारतीय जातको चियाका बिरुवाले झाँगिएको नेपाली चिया बगान र विस्तार योजना अन्त्य गर्न नेपाली जातकै बिरुवाको उत्पादन थालिएको छ । भारतीय चिया विज्ञ एस के प्रधान बोलाएर नेपाली जातकै बिरुवा उत्पादन थालेको चिया तथा कफि विकास बोर्ड अहिले आफ्नै प्राविधिकबाट अध्ययन र विरुवा उत्पादन गर्दैछ । बिऊबाट रोपण गरिएको इलाम र सोक्तिम चिया बगानका निरोगी बिरुवाको हाँगा काटेर पूर्वी नेपालका ७ चिया विस्तार योजनामा नेपाली जातको विरुवा उत्पादन गरिदैँछ । २०६५ सालबाट थालिएको अध्ययन र बिरुवा उत्पादनको कामपछि १० वर्षमा ५ सय विरुवा किसानलाई वितरण गरिएको अधिकारीले बताए ।
इलाम र सोक्तिमका १०÷१० वटा चियाका बोटको हाँगा कटिङ्ग गरेर चिया विस्तार योजनाले पुनः ५ सय विरुवा रोपण गरेको छ । इलाममा भन्दा केहि वर्षअघि मात्र चिया रोपिएको भारतमा आफ्नो जातको चियाको बिरुवा विकास गरेपनि नेपालमा अहिलेसम्म भएको छैन । नेपाली चियाको जात (क्लोन ) नहुँदा भारतीय जातका चियाको रोपण बढ्दै गएकाले आफ्नै जात विकासको काम आर्थिक वर्ष २०६४÷०६५ सालमा शुरु गरिएको थियो ।
चिया तथा कफि विकास बोर्डको सिमित बजेटबाट भारतीय चिया विज्ञ ल्याएर शुरु भएको अध्ययनका काम बिचमा २ आर्थिक वर्ष बजेट नभएपछि समस्या भएको थियो । बजेट अभावले भारतीय चिया विज्ञले काम छोडेपनि अहिले बोर्डका आफ्नै प्राविधिक बाट काम भइरहेको छ । प्राविधिक टोलीले नयाँ विरुवा उत्पादन गर्ने र यस अघि किसानलाई रोपणका लागि वितरण गरिएको बिरुवाको उत्पादन क्षमताका बारेमा अध्ययन भइरहेको चिया विस्तार योजना प्राविधिक विवेक भण्डारीले बताए ।
जंगबहादूरले उपहार पाएको चियाको बिऊबाट विक्रम सम्बत १९२० मा इलाम चिया बगान रोपिएको र त्यसको ३ वर्षपछि सोक्तिमा रोपिएको थियो । विऊबाट रोपिएका दुई बगानका चिया बोटबाट आफ्नै जातको चियाको बोट बनाउन लागेको चिया तथा कफि विकास बोर्डले अध्ययनलाई वृहत बनाउन स्थानीय, प्रदेश र संघीय सरकारसँग बजेट थप गर्न आग्रह गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार