सुर्योदय । सुर्योदय नगरपालिकाको मेची राजमार्गको सडक क्षेत्राधिकारभित्र पर्ने निर्माण भएका संरचनाहरु आगामी चैत्र १५ गतेसम्म हटाउने सहमती भएको छ । नगरपालिकामा सडक क्षेत्राधिकार कायम गराउने समिती र पिडित संर्घष समितीबिच भएको छलफलपछि सहमती गर्दै सडक क्षेत्रभित्र रहेको संरचनाहरु आफै भत्काउने सहमती गरिएको हो । नगर क्षेत्रको पाल्टाङ्गे देखी भालुखोप क्षेत्रसम्मको राजमार्गमा पर्ने संरचनाहरु चैत्र १५ भित्रमा नहटे नगरपालिकाको अगुवाइमा भत्काउने लिखित सहमती गरिएको छ । सडकको क्षेत्राधिकार कायम गर्दा विस्थापित हुने सुर्योदय नगरपालिका–१० का स्थानियबासिन्दाहरुको भौतिक सम्पती (घरजग्गा) को मुआव्जाको लागी सम्वन्धित निकायमा पहल गर्ने निर्णय गरिएको छ ।
नगरपालिका क्षेत्रमा पर्ने मेची राजमार्गको क्षेत्राधिकार दायाँबायाँ साढे ७ मिटर कायम गर्नुपर्ने स्थानिय जनसमुदायको मागलाई कदर गर्दै बैकल्पिक मार्ग सहित वडा नं १० को अगुवाइमा पहल गरिने भएको छ । सडकको क्षेत्र कायम गर्दा विस्थापित हुने व्यवसायीहरुको हितका लागी नगर उद्योग वाणिज्य संघ र वडा नं १० का प्रतिनिधीहरुको छलफलले उचित निकास निकाल्ने सहमती गरिएको छ । विस्थापित हुने व्यवसायीहरुलाई पुनः स्थापित गर्नका लागी वाणिज्य संघसंग विभिन्न चरणमा छलफल गरेर निकास निकालिने वडाध्यक्ष पेमा उगेन लामाले बताउनुभयो ।
नगरपालिका क्षेत्रको सडक विस्तार रोक्न लागी उच्च अदालत विराटनगर इलाम इजलासमा हालिएको उजुरी फागुन १३ गतेसम्म फिर्ता लिएर सडक क्षेत्राधिकार कायम गराउन सवै पक्षबाट सहयोग सहमती गरिएको हो । छलफलमा नगरपालिकाको भौतिक पुर्वाधार विकास समितीका संयोजक एवम वडा नं ३ का अध्यक्ष होम कार्की, सडक खाली गराउने समितीका संयोजक शिवकुमार बस्नेत, वडा नं १० का अध्यक्ष पेमा उगेन लामा, नेपाली कांग्रेस क्षेत्र नं १ का सभापती दुर्गा बराल, उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राई लगायत विभिन्न संघसंस्थाका प्रतिनिधी, स्थानियबासिन्दाहरुको उपस्थिती रहेको थियो ।
नगरपालिकाले गत बर्ष पुषबाट नै सडकको क्षेत्राधिकार कायम गराउने बिषयमा सुचना जारी गर्दै आएको थियो । तर स्थानियबासिन्दाको अवरोधका कारण पटक पटक सुचना बाहेक क्षेत्राधिकार कायम गराउने काम भने अगाडी बढन सकेको थिएन । यसअघि गत बर्ष सडक ऐन २०३१ ले तोके बमोजिम राजमार्गबिचबाट दाँयाबाँया १५ मिटर कायम गर्ने नगरपालिकाले सुचना जारी गरेपछि स्थानियले संर्घष समिती बनाएर नै विरोधको कार्यक्रमलाई अगाडी बढाएका थिए । नगरले पहिलो चरणमा गत बर्ष हर्कटे क्षेत्र देखी कन्यामसम्मको सडक क्षेत्राधिकार कायम गरेको थियो ।
दोश्रो चरणमा पाल्टाङ्गे देखी नगरको सिमाना रहेको भालुखोपसम्मको क्षेत्र विस्तार गर्न लाग्दा विरोध सुरु भएको थियो । स्थानियको विरोधपछि नगरले आफनो निर्णयलाई परिमार्जन गर्दै साढे ७ मिटर बनाउने मौखिक सहमती गरेको थियो ।
नापजाँचका क्रममा अव्यवहारिक रुपमा सडक नाप्न थालेको भन्दै सूर्योदय नगरपालिका १० का किरण कुमार प्रधानले सडक क्षेत्राधिकार कायम रोक्नका लागी उच्च अदालतमा रिट हालेका थिए । स्थानियको माग बमोजिम अदालते आगामी १५ दिनसम्म सूर्योदय नगरपालिकाका नाममा अन्तरिम आदेश जारी गर्दै निवेदकको माग बमोजीम के कति कारणले आदेश जारी गर्नु नपर्ने हो आफना प्रमाण १५ दिन भित्रमा प्रमाण पेश गर्न बिपक्षी सूर्योदय नगरपालिकाका नाममा आदेश जारी गरेको थियो । आजको छलफलमा उजुरी फिर्ता लिने सहमतीपछि सडक विस्तार गर्ने नगरपालिकालाई बाटो खुल्ला हुनेछ ।