इलाम । माईजोगमाई गाउँपालिकाले बहुबर्से बह्रमासे सडक निर्माणको काम थालेको छ । गाउँपालिकाले ६ वटै वडा जोड्ने बाह्रमासे मोटर बाटोको डिपिआर तयार पारी निर्माणको काम शुरु भएको हो । ६ वटै वडामालाई केन्द्रसँग जोड्ने गरि सडक निर्माणको काम शुरु भएको गाउँपालिकाका अध्यक्ष जितबहादूर राईले बताए । ३ वर्षमा सबै वडादेखि गाउँपालिकाको केन्द्रसम्म जोड्ने सडकलाई स्तरउन्नती गर्दै चालु आर्थिकदेखि नै काम शुरु भएको अध्यक्ष राईले जानकारी दिए ।
पुर्वी इलामकै सूर्योदय नगरपालिकाले पनि शुरु गरेको बह्रमासे सडक निर्माणलाई प्राथमिकता दिएको छ । १४ वटा वडा रहेको सूर्योदय नगरपालिकाले बरबोटे कजीनी सडक खण्डको निर्माण शुरु गरेको हो । नगरका १४ वटै वडामा शुरु गरेको बाह्रमासे सडक निर्माण अन्तरगत सूर्योदय नगरपालिका वडा नम्बर ९ बरबोटे सडक खण्डको निर्माण शुरु भएको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले बताए ।
चालु आर्थिक वर्षदेखि निर्माण शुरु गरि आगामि आर्थिक वर्षसम्ममा नगरपालिकाको केन्द्रदेखि सबै वडा जोड्ने सडक निर्माणलाई प्राथमिकता दिएको प्रमुख राईले जानकारी दिनुभयो ।

नगरपालिकाले चालु आर्थिक वर्षमा डेढ अर्ब बढीको बजेट बिकास योजनामा खर्च गरिरहेको छ । नगरपालिकाको केन्द्रदेखि वडाको केन्द्रसम्म जोड्ने सडकलाई ५० लाख देखि ३ करोड सम्म बजेट विनियोजन गरि २५ बढी योजना टेन्डर आवहान गरि कार्यान्वयनमा लाँदै गरेको नगरपाकाले जनाएको छ । नगरबासीको समन्वयमा सूर्योदय नगरलाई ५ बर्ष भित्रमा पूर्वधारका हिसावले नेपालकै नमुना नगरपालिक बनाउने योजना रहेको छ।
नगरबाट संचालित बाह्रमासे सडक योजना अन्तरगत वडा नम्बर ९, ६ , ८, ११ र १२ का सडक उपभोक्ता समिति मार्फत निर्माण गरिने बाँकि वडाको टेण्डरबाट निर्माण गरिने भएको हो । वडा जोड्ने सडकलाई नगरले ५० लाखका दरले बजेट बिनियोजन गरेको छ ।