देउमाइ । इलामको देउमाई नगरपालिकाले एकल महिला सरह एकल पुरुषलाई पनि मासिक भत्ता दिने भएको छ । ३५ वर्षदेखि माथि ६० वर्षसम्मका पुरुषलाई मासिक एक हजारको दरले भक्ता प्रदान गर्ने निर्णय अनुसार तथ्याङ्क संकलनको काम अन्तिम चरणमा पुगेको छ ।
आर्थिक बर्ष २०७५÷०७६ का लागि नगर सभाले पारित गरेको निर्णय अनुसार देउमाई नगरपालिकाले नगर क्षेत्रमा रहेका एकल पुरुषलाई मासिक रुपमा १ हजार रुपैयाँ दिन तेस्रो चौमासिकमा एकैचोटि नगद उनीहरुको खातामा लगाउने प्रमुख प्रशासकिय अधिकृत प्रेमप्रसाल दाहालले बताउनुभयो । नगर सभाको निर्णय अनुसार देउमाई नगरपालिकामा रहेका १ सय ७० जना एकल पुरुषले श्रावण महिनाबाट भत्ता पाउने छन् । नगर सभाले १३ लाख रुपैयाँ एकल पुरुष भत्ता शिर्षकमा बिनियोजन गरेको छ ।
नगरपालिकाले अहिले एकल पुरुषहरुको विवरण संकलन अन्तिम चरणमा पु¥याएर बैंक खाता खोल्न आग्रह गरेको छ । नगर प्रमुख सूर्य पोखरेलले एकल पुरुषको भरणपोषण र प्रोत्साहनका लागि नयाँ कायक्रम ल्याईएको बताउनु भयो । नगर प्रमुख पोखरेलले भन्नु भयो ‘एकल पुरुषलाई भत्ता दिने कार्यक्रम देशमै पहिलो हो, हामी यसलाई नमुना बनाउने छौ ।’ वहाँले नयाँ कार्यक्रम भएकाले बिनियोजन गरेको बजेट अपुग भए थप गरीने बताउनु भयो । नगरपालिकाले दिने उक्त सुविधा लिन नगरपालिकाको स्थाई बासिन्दा हुनु पर्ने छ ।
भत्ता पाउने भए पछि एकल पुरुषहरुले नगरले आफनो सम्मान गरेको बताएका छन । स्थानीय एकल पुरुष टिका खनालले नगरपालिकाले दिईने भत्ताले आफुहरुलाई हौसला बढाएको बताउनु भयो । चालु आर्थिक बर्ष २०७४÷०७५ मा नगरपालिकाले कोख देखि शोक सम्म शिर्षकमा ल्याएको कार्यक्रम प्रभावकारी बनेको थियो । उक्त कार्यक्रम अन्र्तगत नगरले नगर भित्र बच्चा जन्मदा आमाको स्याहारका लागि ५ हजार र मर्दा काजक्रिया खर्चका लागि ५ हजार दिने निर्णय गरेको थियो ।
कार्यक्रम अन्र्तगत गत आर्थिक बर्षमा नगरले ५ हजार रुपैयाँका दरले २ सय ८६ जनालाई १४ लाख ३० हजार रुपैयाँ दिईसकेको थियो । यो कार्यक्रमलाई आगामी आर्थिक बर्षमा पनि कायम राखीएको नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत प्रेम प्रसाद दाहालले जानकारी दिनुभयो ।
यस्तै नगरपालिकाले देउमाई नगरपालिकामा बसाई सरी आउनेलाई घर निर्माणका लागि ५ हजार र जस्ता पाता दिने कार्याक्रम कार्यान्वयनमा ल्ष्याएको छ । कृषि , पर्यटन र शैक्षिक क्षेत्रको बिकास र बसाई सराई रोक्नका लागि वित्तिय सहयोग स्वरुप यस्तो कार्यक्रम शुरु गरीएको नगरपालिकाले जनाएको छ ।
नगरले फुसका छाना हटाउएर टिनका घर बनाउने कार्यक्रम अनर्तगत प्रति घर ५ बण्डल जस्ता दिन थालेको ४ नम्बर वडाका वडा अध्यक्ष राजेन्द्र बास्तोलले जानकारी दिनुभयो । वडा अध्यक्ष बास्तोलाका अनुसार देउमाई नगरपालिका ४ का केन्द्र प्रसाद लिम्बुको घर नगरपालिकाले निर्माण गरीदिएको छ ।
४० हजार रुपैयाँको लागतमा अति बिपन्न लिम्बुको घर नगरले स्थानीयको श्रमदान समेत गरी निर्माण गरीदिएको हो । वडाअध्यक्ष बास्तोलाले स्थानीय सरकारको आभास हुने गरी नगरले काम गरीरहेको बताउनुभयो । नगर प्रमुख पोखरेलले बसोबास योग्य क्षेत्र बनाएर नागरिकलाई सुबिधा दिए बसाई सराई कम गर्न सकिने बताउनु भयो ।
गत आर्थिक बर्षमा सत प्रतिशत काम सम्पन्न गरेको नगरले चालु आर्थिक बर्षका लागि ५४ करोड ६० लाख ८५ हजार रुपैया बराबको रकम बिनियोजन गरेको छ । नगर सभाले ९ वटा वडा कार्यालयलाई ६० लाखका दरले सिलिङ बजेट बिनियोजन गरेको ।