काठमाडौं । पारस खड्काको कप्तानी इनिङसँगै नेपालले यूएईविरुद्धको तेस्रो एकदिवसीय खेल ४ विकेटले जितेको छ । यससँगै तीन खेलको श्रृङ्खला २–१ ले आफ्नो पक्षमा पारेको छ ।
गत चैतमा एकदिवसीय मान्यता पाएको नेपालले दोस्रो सिरिजमै उपाधि जितेर ऐतिहासिक सफलता हात पारेको हो । यसअघि नेदरल्यान्ड्ससँग भएको पहिलो एकदिवसीय सिरिज भने १–१ को बराबरी टुंगिएको थियो ।
पारस खड्काको कप्तानी इनिङ
आईसीसी क्रिकेट एकेडेमीमा यूएईले दिएको २५५ रनको लक्ष्य नेपालले ४४।४ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।
खड्काले उत्कृष्ट प्रदर्शन गर्दै शतक बनाए । छैटौं विकेटको रुपमा आउट हुनुपूर्व उनले ११५ रन बनाए । उनले १०९ बलमा १५ चौका र एक छक्का प्रहार गरे ।
नेपालले पहिलो विकेट भने सस्तैमा गुमेको थियो । नेपालको स्कोर १९ रन हुँदा ओपनर विनोद भण्डारी ९ रनमा आउट भए । तर, पारसले उपकप्तान मल्लसँग दोस्रो विकेटका लागि ६२ रनको साझेदारी गर्दै नेपालको पारी उकासे ।
ज्ञानेन्द्र ३१ रनमा आउट भए । त्यसपछि आएका व्याट्म्यानहरु दीपेन्द्र सिंह ऐरी र सन्दीप जोराले ठूलो पारी खेल्न सकेनन् । तर, एउटा एण्डमा पारस टिकिरहे ।
पाँचौं विकेटका लागि पारस र रोहितकुमार पौडेलले ५४ रनको साझेदारी गरे । रोहित १६ रनमा आउट भए । आशिफ शेखसँग ३२ रनको साझेदारी गरेका पारस ३८।५ ओभरमा ११५ रनमा आउट भए तर, जितको आधार बनाइसकेका थिए ।
आरिफ र सोमपालले त्यसलाई पूर्णता दिए । सोमपाल २६ र आरिफ २१ रनमा नटआउट रहे ।
मध्यक्रमको बलमा यूएईको राम्रो स्कोर
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २५४ रन बनाएको थियो ।
यूएईको सुरुवात खराब थियो । ४७ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो तर, मध्यक्रमका ब्याट्सम्यानले पारी सम्हाले । साइमान अनवर र सीपी रिजवानले शतकीय साझेदारी गरे ।
यूएईको स्कोर १४५ रन हुँदा पाँचौं विकेटका रुपमा रिवाज ४५ रनमा आउट भए । उनलाई करण केसीले आउट गरे ।
तर, सातौं नम्बरमा आएका मोहम्मद बुटाले अनवरसँग मिलेर आक्रामक पारी खेलेपछि यूएईले राम्रो स्कोर बनायो । दुबैले छैटौं विकेटका लागि ८० रनको महत्वपूर्ण साझेदारी गरे । अनवर ८७ रनमा आउट भए ।
आक्रमब ब्याटिङ गरेका बुटाले मात्र ३१ बलमा अविजित ५९ रन बनाए । मोहम्मद नाबिद ११ रनमा नटआउट रहे ।
नेपालका लागि करण केसीले दुई विकेट लिए । सन्दीप लामिछाने, कप्तान पारस खड्का र सोमपाल कामीले समान १–१ विकेट लिए ।
सन्दीप जोराको डेब्यू
यूएईविरुद्धको खेलमा युवा ब्याट्सम्यान सन्दीप जोराले डेब्यू गरे । कञ्चनपुरको भीमदत्त नगरका जोरी घरेलु क्रिकेटबाट चम्किएका ब्याट्सम्यान हुन् ।
सुरुवाती दुई खेलमा पवन शरार्फलाई खेलाइएको थियो । तर, अन्तिम म्याचमा उनको स्थानमा जोरालाई खेलाइएको हो ।
‘एकदिवसीय सिरिजमा पहिलो जित, पहिलो शतक, १६ वर्षे खेलाडीको विश्व कीर्तिमान, उत्कृष्ट सोमपाल साथै सबै खेलाडी र प्रशिक्षकको योगदान’ नेपाली क्रिकेट टिमका पूर्वकप्तान विनोद दासले सबैलाई सम्झँदै यसरी खुशी व्यक्त गरेका छन् ।
अहिले नेपाली महिला टिमका प्रशिक्षक रहेका दासले मात्रै होइन अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त व्यक्तिहरु, नेपाली राजनीतिज्ञ, कलाकारसहित सर्वसाधारणले पहिलो एकदिवसीय सिरिज र कप्तान पारस खड्काको शतकका लागि सामाजिक सञ्जालमार्फत बधाई दिइरहेका छन् ।
कप्तान पारससहित नेपाली क्रिकेट टीमलाई बधाईको ओइरो
नेपाली टिमका पूर्वकप्तान पवन अग्रवालले ‘पहिलो एकदिवसीय सिरिजका लागि सम्पूर्ण टिमलाई बधाई’ भन्दै खुशी व्यक्त गरेका छन् ।
अफगानिस्तानका क्रिकेटर रसिद खानले ट्वीट गर्दै लेखेका छन्, ‘एकदिवसीय क्रिकेटमा नेपालको पहिलो शतक, हेर्दा पनि असाध्यै अदभूत, पारस तिम्रो पहिलो शतकका लागि खुशी छु ।’
आईसीसीले पनि कप्तान पारस खड्कासहित नेपाली क्रिकेटलाई पहिलो एकदिवसीय सिरिजका लागि बधाई दिएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि नेपाललाई पहिलो अन्तर्राष्ट्रिय सिरिजमा सफलता दिलाउने नेपाली क्रिकेट टोलीलाई धन्यवाद र बधाई दिएका छन् ।
उनले भनेका छन् ‘ एकदिवसीय क्रिकेटका कप्तान पारस खड्काले उत्कृष्ट प्रर्दशन गर्दै शतक बनाउने पहिलो खेलाडी हुन सफल भएकोमा र शनिवारको खेलमा रोहित पौडेलले सबैभन्दा कलिलो उमेरमा अर्धशतक बनाउने खेलाडीको विश्व रेकर्ड तोड्न सफल भएकोमा दुबै खेलाडीलाई बधाई दिँदै आगामि दिन अझै राम्रो प्रदर्शनको लागि उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।’
ट्वीटरमा नागरिक गुनासा सुन्न बनाइएको हेलो सरकाले पनि आईसीसीको ट्वीट रिट्वीट गर्दै ‘नेपालले युएईसँग एकदिवसीय सिरिज जितेको छ । नेपाली क्रिकेटका लागि यो अर्को मिलको पत्थर र ऐतिहासिक क्षण हो । अब नेपाली टिम विस्तारै विश्व क्रिकेटमा परिचित देखिन थालेको छ । अभियान जारी रहोस्’ लेख्दै बधाई दिएको छ ।
ट्वीटरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘नेपाली क्रिकेट टिमलाई धेरै धेरै बधाई भन्दै पारस खड्कालाई मेन्सन गरेका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि ‘बधाई नेपाली टिमका खेलाडी साथीहरु’ भनेका छन् ।
नेपाली कांग्रेसका नेता गगन थापाले आईसीसीको ट्वीट रिट्वीट गर्दै बधाई दिएका छन् ।
युएईसँगको तीन खेलको एकदिवसीय सिरिजमा पहिलो खेल ३ विकेटले हारेको नेपालले दोस्रो खेल १ सय ४५ रनले र तेस्रो खेल चार विकेटले जितेको हो ।
तेस्रो एकदिवसीयमा २ सय ५५ रनको लक्ष्य पछ्याउँदा कप्तान खड्काले नेपालका लागि पहिलो शतक बनाएका थिए । उनले १ सय ९ बलमा १ सय १५ रन बनाएका थिए ।
नेपालले अब युएईसँग तीन खेलकै टी ट्वान्टी सिरिज खेल्ने छ । भारतको बि बि के न्युजले नेपाल क्रिकेट टीम ने रचा इतिहास, मिला वनडे क्रिकेट टीम का दर्जा को समाचार प्रकाशित गरेको छ ।