Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

प्रचार भन्दा पनि तिब्र विकासका काम मार्फत समाजवादको यात्रामा छौँ : देउमाई नगरपालिका नगर प्रमुख सूर्य पोखरेल

प्रचार भन्दा पनि तिब्र विकासका काम मार्फत समाजवादको यात्रामा छौँ : देउमाई नगरपालिका नगर प्रमुख सूर्य पोखरेल

  • सुजन तिमसिना
  • सोमबार, माघ १४ २०७५


प्रचार भन्दा पनि तिब्र विकासका काम मार्फत समाजवादको यात्रामा छौँ : देउमाई नगरपालिका नगर प्रमुख सूर्य पोखरेल

सूर्य पोखरेल देउमाई नगरपालिकाको प्रमुख हुन । मुलुक संघियतामा प्रवेश गरेपछि भएको स्थानिय तहको निर्वाचनपछि जनप्रतिनिधी निर्वाचित भएको डेढ बर्ष वितेको छ । लामो समय स्थानीय निकायमा काम गरेको अनुभव भएका पोखरेलसंग नगर सरकारको प्रमुखमा निर्वाचित भएपछि हालसम्म गरेको काम र भावि योजनाका बारेमा स्थानीय प्रधान–सम्पादक सुजन तिमसिनाले गरेको कुराकानिको अंश

पहिलो आर्थिक बर्षको प्रगतीलाई सम्झदा पर्दा मुख्य मुख्य के हुन् ?
स्थानिय तह निर्माणपछि हामीले स्थानिय सरकारको रुपमा काम गरेको डेढ बर्ष भयो । पहिलो आर्थिक बर्षको बजेट निती तथा कार्यक्रमलाई पास गरिसकेका छौ । दोश्रो बर्षको बजेट सार्वजनिक गरेर कार्यान्वयनको चरणमा छौ । गत बर्ष देउमाइ नगरले ३४ करोडको बजेट निर्माण गरेको थियो । त्यो निती बजेट सम्पन्न गरेर दोश्रो बर्षमा छौ । अघिल्लो बर्ष नै देउमाइ नगरलाई चिनाउने, जनतलाई समृद्ध बनाउने र निर्वाचन ताका जनतासंग गरेको कबुलहरु पुरा गर्ने हिसाबले काम सुरु गर्यौ ।
जनतासंग गरेको प्रतिवद्धता अनुसार विकास निर्माण तर्फ क्रमागत योजनाका कामहरु निरन्तर छन । सामाजिक विकासका काम तर्फ गत बर्ष जेष्ठ नागरिकहरुलाई पोषाक सहयोग भनेर १२ सय रुपैया सुरु गरेका थियौ । यो बर्ष बढाएर २ हजार पुर्याएका छौ । मृत्यु संस्कारको लागी भनेर ५ हजार दिने गरेका थियौ त्यसलाई निरन्तरता दिएका छौ । सुरक्षित मातृत्व अन्र्तगत आमा बच्चा सुरक्षा भनेर हस्पिटलमा बच्चा जन्माएपछि आमाले दिने गरिएको ५ हजार रुपैया निरन्तरता दिइरहेका छौ ।

दिर्घरोगीहरुको उपचारका लागी गत बर्षबाट सुरु गरिएको यातायात खर्च ५ हजारलाई निरन्तरता दिइरहेका छौ । साथमा थप नयाँ कार्यक्रमको रुपमा महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई खाजा भत्ता भनेर प्रति महिना ५ सय रुपैया खर्च दिने गरेका छौ । त्यसैगरी देउमाइ नगरपालिका भरी यो बर्ष फुसको छाना विस्थापन गरी कर्कटपाता छाउने कार्यक्रम ल्याएका छौ कार्यान्वयनको चरणमा छौ । संघिय सरकारले एकल महिलालाई मासिक १ हजार भत्ता जुन दिने गरेको छ त्यसै अनुरुप हामीले नगर क्षेत्रका एकल पुरुषलाई यो बर्ष देखी एकल भत्ताको रुपमा मासिक १ हजार रुपैया दिने गरेका छौ । सरकारले निजामती कर्मचारी र राष्ट्रसेवकहरुलाई पोसाक भत्ताको बर्षमा एक पटक व्यवस्था गरेको छ । हाम्रो देउमाइ नगरको ८३ जना बालविकासका कार्यालय सहयोगीलाई बार्षिक रुपमा १० हजार पोसाक भत्ताको व्यवस्था गर्ने योजना बनाएका छौ ।
पहिलो नगरसभाको बेला संघ र प्रदेशको निर्वाचनको माहोल थियो । दलहरुले घोषणापत्र सार्वजनिक गर्दा तपाई कार्यान्वयको चरणमा हुनुहुन्थ्यो कसरी सम्भव भयो ?
देउमाइ नगरपालिकाको पहिलो निती कार्यक्रम बजेट जुन हिसाबले सार्वजनिक गरे यसमा बाहिर बुद्धिजिवी साथी अन्य मित्रहरुले यति ठुलो परिमाणको बजेट कार्यान्वयको शंका पनि गर्नुभयो । तर यो सहज रुपमा गयो । अन्य स्थानिय तहका प्रमुखहरुले यस्तो का गर्दा धरापमा पर्नेमा शंका पनि गर्नुभयो । तर स्थानिय सरकार संचालन ऐन प्राप्त छ त्यसलाई टेकेर अगाडी बढदा हुन्छ भन्ने हिसाबले कुरा पनि गरियो । कार्यान्वयको चरणमा बाह्य क्षेत्र, कर्मचारीको ठुलो सहयोग छ । यहाँ राजनितिक आग्रहपुवाग्रह विनै काम भएको छ । काम गर्न सहज नै भएको छ ।
देउमाई नगरपालिका संचालनका लागी ऐन नियमहरु कसरी र कति बने ?
हामीले संघिय सरकारबाट स्थानिय सरकार संचालन ऐन २०७४ जारी भएपछि त्यसलाई टेकेर ऐन बनाएका छौ । संघ सरकारबाट आएको नमुना ऐन अनुसार नै बनाइएको छ । १५÷२० वटा ऐन बनाएर कार्यान्वयनको चरणमा छन । संघ सरकार र प्रदेश सरकारसंग बाझिने प्रकारको ऐन हामीले बनाएका छैनौ । २÷३ वटा ऐन तत्काल आवश्यक रहेको देखिएपछि अहिले निर्माणको चरण छन । शिक्षा र स्वास्थ्यका ऐनहरु बनाइएका छैनन् । साझा सुचीमा रहेको ऐन बाझिने हिसाबले हामीले बनाएका छैनौ
गाँउका विकासको अपेक्षा पुर्तीका लागी नगर विकास संरचनाको गुरुयोजना कसरी अघि बढेको छ ?
अहिले देउमाई नगरपालिका भइसकेपछि एकिकृत सहरी विकास योजनाको नामबाट विकासको मोडल अगाडी सारिएको छ । संघबाट सर्भेको लागी टोली समेत आइसकेको छ । एकिकृत सहरी विकास निर्माणको लागी नगर प्रोफाइल तयार गरिरहेका छौ । फागुन मसान्तसम्ममा प्रोफाइल तयार भइसक्ने छ । मुलुक संघियता प्रवेश गरेपछि भनिए जस्तै गाँउँ नगरमा सिंहदरबारको अभ्यासको क्रममा नै छौ । ३ तहको सरकार आफनै गतिमा अगाडी बढिरहेको छ । तर अधिकार विनियोजनको कुरामा भने समस्या देखिएपछि केही खटपट भएको देखिन्छ । स्थानिय सरकार अयोग्य छन भनेर जुन कुरा गाँउघरमा चल्ने गरेको छ । पहिलो पटक मुलुकमा संघियता आएकाले सवै जनप्रतिनिधी कामकारवाहीमा पोख्त छैनन् । हामी सिक्ने क्रममा नै छौ । विक्रेन्द्रिकरण अनुसार जति जिम्मेबारी बाडफाड हुन्छ उति नै जनप्रतिनिधीले समेत जिम्मेवारी वहन गरेर कार्यसम्पादन गर्नुपर्ने हुन्छ । अहिले हामीले प्रत्येक वार्डलाई ६० लाखको बजेट सिलिङ पठाएका छौ । आफना वार्डमा छनौट गरिएको योजनालाई अगाडी बढाउन वडाध्यक्षलाई निर्देशन समेत दिइसकिएकोछ । वार्ड सिलिङबाट सम्भव नहुने योजनाहरु नगरबाट अगाडी बढाउदैछौ । हामी नगर क्षेत्रमा शिक्षाको गुणस्तर बढाउनलाई समेत कटिवद्ध भएर लागेका छौ । सामुदायिक र निजी विद्यालयको द्धन्द्ध अन्त्यको लागी कक्षा ८ को परिक्षा निजीको सामुदायिक र सामुदायिकको निजीले लिने परिपाटी सुरु गर्न छलफल अगाडी बढाएका छौ ।
शिक्षाको स्तर बढाउन नगर शिक्षकको व्यवस्था समेत गरिएको छ । प्रति शिक्षक मासिक २० हजार तलब दिने व्यवस्था गरी नगर क्षेत्रको ७ मध्ये ६ माध्यमिक विद्यालयमा २÷२ नगर शिक्षकको व्यवस्था समेत गरेका छौ । आधारभुत विद्यालयको हकमा भने १४÷१५ विद्यालयमा थप १÷१ जनाको व्यवस्था गरिएको छ । शिक्षकहरुको लागि मात्र बार्षिक ६२ लाख रुपैया तलवभत्ताको व्यवस्था गरिएको छ । सामुदायिक विद्यालयमा अंग्रजी, गणित र विज्ञानलाई प्राथमिक्तामा राखेको कारण निजी विद्यालयमा आर्कषण हुने परिपाटी परिर्वतन हुँदै गएको छ ।
स्वास्थ्य सेवा जनताको प्राथमिक अधिकार भएको यसको विकास र विस्तारमा लागेका छौ । सरकारले गरेको लगानीमा थप व्यवस्थापन गर्दै स्वास्थ्यमा अभाव रहेको कर्मचारी परिपुर्ती गरेका छौ । ल्याव टेक्निसिय, फार्मेसीको व्यवस्था गरेका छौ । स्वास्थ्य विमामा जनताको पहुँच विस्तार गरेका छौ । संघबाट विनियोजित बजेटमा नसर्ने रोग नियन्त्रणका लागी औषधी निःशुल्क वितरण गर्न २० लाख रुपैया नगर कार्यपालिकाबाट छुट्याएका छौ
सडक, विद्युत, खानेपानी योजनाहरु विस्तार गर्ने के कस्ता योजना छन ?
एकिकृत सहरी योजनापछि सवै विकास निर्माणका कार्यहरु के कसरी अघि बढ्छन भन्ने कुरा यकिन हुनेछ । आवश्यक्ता अनुसार विकास निर्माणका कार्यहरु अगाडी बढाउछौ । सवै वडाबाट अहिले सडक निर्माण पहिलो प्राथमिकतामा राखिएको छ । १२ महिना चल्ने ग्राभेल सडकको अवधारणा अगाडी सारिएकोछ । सडकहरु अन्य स्थानिय तहहरुसंग जोडने क्रममा छौ । देउमाइबाट झापाको दमक जोडने सडक ट्रिपल आर ले पिच सुरु गरिसकेको छ । नगरपालिकाको केन्द्र मंगलबारेबाट फाकफोकथुमको एकतप्पा जोडने सडकको समेत कालोपत्रे गर्ने टेन्डर भइसकेको छ । राँकेबाट देउमाइ नगरपालिका– माइ नगरपालिका हुँदै झापाको विर्तामोड जोडने सडकको काम समेत तिव्र रुपमा अगाडी बढेको छ । डेढ करोडमा कटिङको कार्य भइरहेको छ । डिपिआर समेत तयार गरेका छौ । आगामी आर्थिक बर्षमा चमैता देउरालीबाट विर्तामोड जोडने सडक खोल्न सक्छौ । यो सडक खुल्दा तराई जोडन हालको भन्दा निक्कै छोटो पर्छ ।
मुहान पर्याप्त भएपनि स्वच्छ खानेपानीको अभाव छ । व्यवस्थित गर्ने काम कसरी अगाडी बढेको छ ?
खानेपानी समस्या समाधानको लागी वडाहरुमा नगरबाट २÷३ सय मिटरका दरले पाइप वितरण गरिएको छ । मिटर सिस्टममा जानका लागी देउमाइ र लुती माइको खानेपानी उपभोक्ता समिती मार्फत काम भइरहेको छ । नगर साझेदारी कार्यक्रम अगाडी बढाइरहेका छौ । हाल खानेपानी योजनामा कार्यरत कर्मचारीहरुको वेतन न्युन रहेकाले थप नगरबाट व्यवस्थापन गरेर नगरबासीलाई स्वच्छ खानेपानी पु¥याउने कार्यमा अगाडी बढेका छौ ।
विद्युतको पहुँचको अवस्था कस्तो छ ? काठका पोल परिर्वतनको अवस्था के छ ?
देउमाइ नगरपालिकामा निर्वाचन ताका नै काठका पोल हटाउने, १५÷२५ को साना ट्रान्सफर्मर हटाएर ठुलो लगाउने बाचा गरेका थियौ । त्यसलाई उच्च प्राथमिकतामा राखेका छौ । र्दुभाग्य नै भन्नुपर्छ गत बर्ष १ करोड बजेट विनियोजन गरेका थियौ तर खर्च हुनसकेन । कच्चपर्दाथको मुल्य बढदा स्टिमेट अनुसार सामाग्री पाउन कठिन भयो । २ पटकसम्म इ विड गरेका थियौ । तर यस बर्ष २ करोड नगर कार्यपालिकाबाट विनियोजित छ । नेपाल विद्युत प्राधिकरणले १ करोड २० लाख रुपैया सहयोग गरेको छ । गत बर्ष ७०० को संख्यामा पोलहरु फेरिएको छ । यस बर्ष १ हजार स्टिल पोल लगाउने कार्य अगाडी बढेको छ । आगामी आर्थिक बर्षमा काठका पोल फ्री नगरपालिका बनाउँछौ ।
काठका पोल कति छन भन्ने तथ्यांकहरु केही छन ?
यकिन तथ्यांक छैन । कारण चाही विद्युत प्राधिरकणको तथ्यांकमा २ हजार काठका पोल भएको देखिन्छ । कतिपय ठाँउमा जनता आफै उत्साहित भएर ओ थ्री को तार गाँउमा पाइने सखुवा, चिलाउने, टिकका लाथ्राबाट विस्तार गरेका छन । जस्ले गर्दा यकिन कति संख्या भन्ने जानकारी पाउन सकिएन । तर गत बर्ष ७०० र यो बर्ष १ हजार फलामे पोल विस्तार गर्दा केही संख्या न्युन हुन सक्छ ।
नगरको अर्थतन्त्र बलियो बनाउने कृषिको संभावना कसरी कोरिदैछ ?
गत बर्षबाट कृषि र पशुपालन अगाडी बढाउन सामुहिक र सहकारीको माध्यमबाट व्यवसायिकरण तथा प्रर्वद्धनको काम गरेका छौ । गाईपालन, कुखुरापालन, गोठ सुधार र कृषिको पकेट क्षेत्रका कार्यक्रमहरु छन । हालसम्म ८÷९ सयको बढी संख्यामा दर्ता भएका छन । गोठ सुधार र बाख्रापालनको लागी लगानी गर्छौ । बिउ बोका पाल्नेहरुका लागी १५ हजारका दरले अनुदानको व्यवस्था गरेका छौ । १५÷२० वटा डेरीको लागी २५ हजारका दरले अनुदान दिनेको लागी बजेट विनियोजना गरेका छौ । गाईको गोठमा म्याट राख्नको लागी बजेटिङ गरेका छौ । कृषि, तरकारी, मौरी र किबीको लागी पकेट छुटयाएका छौ । हाल १० वटा पकेट स्विकृत भएका छन जस्का लागी हरेकलाई ३ लाख रुपैया बजेट विनियोजन गरेका छौ । लोपोन्मुख झयाले आलुको पकेटको लागी चमैतामा घोषणा गरिएको छ ।
सडक संजाल जोडिएपछि पर्यटनको केन्द्र समेत बनेको छ । यसको प्रर्वद्धन र प्रचारपसारका लागी के कस्ता कार्य भएका छन ?
हाल प्रचारपसारको काम मात्र भएको छ । जुन गतिमा काम हुनुपने हो सो हुन सकेको छैन । पुर्वाधार विकासको कार्यमा अगाडी बढेका छौ । सिद्धिथुम्काको रत्न गुफा, पङखेलुङ झर्ना विकास अगाडी बढाएका छौ । रत्न गुफामा ढुङगाको आकृती पाइन्छ त्यसका लागी कम्पाउन्ड लगाएका छौ । चुलीमा सिडी, पाङसिङ डुप्लिङ गुम्बा, झयाउ पोखरी संरक्षण, पानीटारमा सिडी निर्माण, गजुरमुखी हाम्रो नगरमा नपर्ने भएपनि त्यहासम्म पुग्ने बाटो निर्माण गरिरहेका छौ । जटेश्वर मन्दिर, देवीडाँडा, शिखरबाबा धाम पुग्ने बाटो १० मिटरको बनाउँदैछौ । गुफाथुम्की व्यवस्थापन, विश्वको ठुलो लालीगुरास पुग्ने बाटो, कुहिभिर पुग्ने बाटो निर्माणलाई प्राथमिक्ता दिएका छौ । प्रचारभन्दा पनि हामी ठोस विकास गर्न लागेका छौ ।
देउमाई नगरपालिकाको १५ बर्षे सहरी विकास योजनामा २ ठुला गौरवका योजना हुनेछन । संघिय सरकार मार्फत व्यवस्थापन हुने सो योजना ३० करोड माथीको हुनेछ । जस्मा हामीले देउराली मंगलबारे जितपुर सिद्धिथुम्का हुँदै विर्तामोड जोडने सडक र पर्यटन विकासलाई छनौट गरेका छौ ।
५ बर्षपछि नेतृत्व हस्तान्तरण हुँदा कुन रुपमा देउमाइ नगरलाई पाइन्छ ?
डेढ बर्षको कार्यकाल सम्पन्न भइसक्दा हामीले पुर्वधार मात्र होइन नितीगत स्थायित्वको लागी कठोर काम गर्नुपरेको छ । ५ महिना त्यसै निर्वाचनका कारण काम हुन सकेन । निर्वाचन ताका कर बढायो भन्ने हंगामा गरिएको थियो । पहिलो निर्वाचन गराउने पुष्पकमल दाहाल प्रचण्ड र दोश्रो निर्वाचन गराउने शेरबहादुर देउवाकै पालमा ड्राफट भएको स्थानिय सरकार संचालन ऐन २०७४ अनुसार ३ करोड राजस्व संकलन गर्न नसक्ने नगरपालिका घटुवा हुने प्रावधान राखिएको थियो । एकिकृत सम्पती कर लागु नगर्ने स्थानिय तहको अनुदान रोक्का गरिने जस्तो कठोर निर्णयहरु भएका थिए ।
नगरलाई बचाउनका लागी साझा धारणाका साथ एकिकृत सम्पती कर लागु गरेका थियौ । यहि एकिकृत सम्पतीकर निर्वाचन ताका मसला बनेको थियो । अहिले देशभर नै एकिकृत सम्पती कर, घर नक्सा अभिलेखिकरण लागु भएको छ । गत बर्षबाट नै हामीले सुरुवात गरेका कारण अहिले स्यावासीको पात्र भएका छौ । देशभरमै करको तुलना गर्दा सवैभन्दा सस्तो कर देउमाइ नगरपालिकाको हो । नगरपालिकाको स्थायित्वको लागी स्थानिय तह पुर्नसंरचना आयोगबाट रेखाङकन भएको भौतिक संरचना निर्माणलाई कडाइका साथ कार्यान्वयन गरेका छौ । ६ नं वडामा केही समस्या देखिएको थियो तर अहिले समाधान भइसकेको छ ।
प्रहरी कार्यालय र नगर भवन एकै स्थानमा हुँदा केही समस्या देखिएको थियो । हाल १ करोडमा प्रहरीलाई जग्गा खरिद गरिदिएका छौ । नगरलाई चाहिने ल्यान्डफिल्ड साइट आगामी बर्ष व्यवस्थापन गर्ने छौ । फोहोर बोक्ने ट्रिपर र ट्रयाक्टरको व्यवस्था गरेका छौ । नगरपालिकाको केन्द्रमा सार्वजनिक शौचालय निर्माण गरेका छौ । नगरलाई अस्थिर बनाउने मसला अब बन्ने छैन । किन भने हामीले ऐन , निती, नियम बनाएर एउटा गतिमा हिडाएका छौ । आगामी निर्वाचित भएर आउने जनप्रतिनिधीलाई नगर संचालनमा सहज हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार