Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नदि र सीमसारका उजाड क्षेत्रमा वृक्षाराेपरण गरि संरक्षणमा जलविद्युत कम्पनीको लगानी

नदि र सीमसारका उजाड क्षेत्रमा वृक्षाराेपरण गरि संरक्षणमा जलविद्युत कम्पनीको लगानी

  • सुजन तिमसिना
  • शनिबार, माघ १२ २०७५


नदि र सीमसारका उजाड  क्षेत्रमा वृक्षाराेपरण गरि  संरक्षणमा जलविद्युत कम्पनीको लगानी

इलाम ।  इलाम र झापाको उर्भर भुमिको सिँचाईमा योगदान दिँदै आएका खोला, नदि र सीमसारको मुहान सरक्षणका लागि इलामका सरोकारवाला निकाय एक भएका छन् । उत्तरी इलामको सन्दकपुर गाउँपालिकामा पर्ने खोला र नदीका मुहानको क्षेत्र खुल्ला सीमानाका कारण उजाड भएपछि पुनः हरियाली बनाउन सन्दकपुर गाउँपालिकाले वृक्षारोपणका लागि नेतृत्व गर्दै आएको छ । भारत सँग सीमाना जोडिएका उत्तरी इलामको सबै उजाड क्षेत्रलाई १० वर्षमा पुनः हरियालि बनाउने अभियानमा जिल्लाका सरकारी निकाय र अरबौँ लगानी गरि विद्युत उत्पादन गर्ने जलविद्युत आयोजनाहरुले साथ दिएका छन् ।
जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बरालको अध्यक्षतामा सुरक्षा निकाय, वन क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकाय, जलविद्युत आयोजनाका लगानीकर्ता, गाउँपालिका बिच वृक्षारोपण गर्न लगानी जुटाउने निर्णय भएको छ । जिल्लामा संचालनमा रहेका १३ वटा विद्युत आयोजना र जिल्ला वन कार्यालय, सुरक्षा निकाय, सन्दकपुर गाउँपालिका र जिल्ला समन्वय समिति लगायतका सरोकारवाला निकायहरु एकजुट भएका हुन् । जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा भएको बैठकले सन्दकपुर गाउँपालिका र जिल्ला वन कार्यालयले सबै जलविद्युत आयोजनाहरुसँग समन्वय गरि वृक्षारोपणको काम अघि बढाउने निर्णय भएको सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताउनुभयो ।
माई नदी, जोगमाई खोला र पुवाखोला को मुहान क्षेत्र सन्दकपुर गाउँपालिकाका विभिन्न क्षेत्र रहेको सो क्षेत्रमा वृक्षारोपणका लागि जलविद्युत आयोजनाले वृक्षारोपणका लागि लगानी गर्ने प्रतिवद्धता गरेका छन् । माई नदीको मुहान रहेको ३ हजार ६ सय ३६ मिटर उचाईको सन्दकपुर क्षेत्रको वृक्षारोपणका लागि माई खोलामा संचालनमा रहेका ९ वटा जलविद्युत आयोजनाहरुले १५ पहिलो चरणमा १५ लाख रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जनाएका छन् । विद्युत आयोजनाको तर्फबाट पञ्चकर्या अपर माई जलविद्युत आयोजनाबाट एक लाख ७८ हजार, पञ्चकन्या माई क्यासकेट आयोजनाले एक लाख ८ हजार ६ सय, सगरमाथा जलविद्युत कम्पनीबाट एक लाख ७१ हजार ४ सय, सुपरमाई जलविद्युत आयोजनाबाट एक लाख ४० हजार लगानी गर्ने निर्णय भएको छ । यस्तै माई नदीमा संचालनमा रहेको साम्लिङ्ग जलविद्युत आयोजनाले एक लाख ७० हजार, हिमाल दोलखा जलविद्युत आयोजनाबाट ७१ हजार ५ सय हिमाल दोलखा क्याकेटबाट १ लाख ४२ हजार ८ सय, सानिमा जलविद्युत आयोजनाबाट ३ लाख ९२ हजार ८ सय र सानिमा क्यासकेड जलविद्युत आयोजनाले १ लाख २४ हजार ९ सय रुपैयाँ नदीखोलाका मुहान संरक्षण गरि वृक्षारोपण गर्ने योजनामा लगानी गरेका हुन् । इलामको माईखोलाबाट ८५ मेगावाट विद्युत उत्पादन हुँदै आएको छ ।
जिल्लाकै पुवाखोलामा विद्युत आयोजना संचालन गर्ने प्रवद्र्धकहरुले मुहान क्षेत्रमा वृक्षारोपणका लागि एक लाख ५० हजार सन्दकपुर गाउँपालिकालाई सघाउने निर्णय गरेका छन् । पुवाखोलामा पुवाखोला १, पुवाखोला २ र जोशि हाइड्रोपावर गरि तीन वटा जलविद्यतु आयोजना संचालनमा रहेका छन् । यी आयोजनाबाट १३ मेगावाट विद्युत उत्पादन हुँदै आएको छ ।
वृक्षारोपणका लागि पुवाखोला १ जलविद्युतले ४८ हजार, पुवाखोला २ ले ६० हजार र जोशि हाइड्रोपावरले ४२ हजार सहयोग गरेका छन् । जिल्लाकै जोगमाई खोलाबाट संचालनमा रहेको जोगमाई हाइड्रोपावर कम्पनीले वृक्षारोपण अभियानमा ५० हजार आर्थिक दायित्व वहन गर्ने र आफ्नो आयोजना प्रभावित क्षेत्रमा वृक्षारोपण गर्ने योजना रहेको छ । जलविद्युत आयोजनाले दायित्व वहन गरेको रकम दुई किस्तामा सन्दकपुर गाउँपालिकाको बैंक खातामा जम्मा गर्ने र कार्यान्वयनका लागि अगाडि बढ्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी श्रवणुकार तिमसिनाले बताउनुभयो ।
सीमावर्ती भारतीय क्षेत्रमा सिहलिला नेलनल पार्क बनाई हरियालि बनाएपनि नेपाली भु–भाग चोरी तस्करीले उजाड भएपछि वनलाई जोगाउन र खुल्ला फाटलाई हरियो बनाउने अभियान सन्दकपुर गाउँपालिकाले ३ महिना अघि शुरु भएको थियो । इलामका चार खोला माई, पुवा, देउमाई जस्ता ठुला खोला र सयौँ साना खोला खोल्साको मुहानका साथै तीन दर्जन बढी सिमसार क्षेत्र रहेको सन्दकपुर गाउँपालिकाका उच्च हिमाली क्षेत्रको वन मासिएपछि पुनः हरियो बनाउने अभियानमा जलविद्युत आयोजनाको सहयोगले उत्साहित भएको सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदयबहादुर राईले बताउनुभयो ।
सन्दकपुर गाउँपालिकाको माथिल्लो क्षेत्र लोपउन्मुख रेडपाण्डा, थार, ध्वासे चितुवा, सयौँ जडिबुटी र ३ सय ५० बढी प्रजाती चराहरु बासस्थापन पनि हो । जंगल बढाउने र हरियो सन्दकपुर गाउँपालिका बनाउने अभियान अन्तरगत बिरुवाको वृक्षारोपण गर्ने अभियान अन्तरगत गाउँपालिकाले अहिले विभन्नि जातका एक हजार किलो रुख बिरुवाको बिऊ संकलन गरि वृक्षारोपण गरिसकेको छ । उच्च हिमाली क्षेत्रमा बिदेश प्रजातीको बिरुवाहरु बढ्दै जाँदा बातावरणिय असरसँगै वन्यजन्तुको बासस्थानमा माँसिदै गएको गाउँपालिकाको ठहर छ । त्यसकारण सीमा क्षेत्रमा वन फडानी भएर उजाड हुँदा भु–क्षय बढेकाले ५ वर्षमा २० लाख बिरुवाको वृक्षारोपण गर्ने योजना बनाएको गाउँपालिकाका प्रवक्ता गिरिराज खनालले बताउनुभयो । वन फडानीले सिमसार क्षेत्र पनि सुक्दै गएकाले स्थानीय जातका बान्टे, कटुस, बज्राठ, चाँप, लालिगुराँस, सिरिस, काउलो, धुपि, लौँठसल्ला लागायका बिरुवाको वृक्षारोपणका लागि नर्सरी राख्ने काम धमाधम भइरहेको छ । एक हजार किलो बिरुवाको बिऊको नर्सरी राख्ने काम अन्तिम चरणमा पुगेको र २ हजार किलो बिऊको अर्को नर्सरी चाँडै राख्ने काम शुरु गरिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताउनुभयो ।
१० वर्षमा पूर्णरुपमा हरियाली बनाएर अहिले उजाड भएका डाँडाहरुमा जंगल विस्तार गरि पर्यापर्यटनको प्रवद्र्धनमा जोड दिएको गाउँपालिका अध्यक्ष उदय राईले बताउनुभयो । झापाको समेत उर्भर भुमिलाई सिचाई दिँने माई नदी लगायतका खोला र खोल्साको मुहान रहेको सन्दकपुर, छिन्टापु, गैरिबास, कालपोखरी, आलुबारी, जौबारी, बिखेभञ्ज्याङ्ग लगायतका भारतीय सीमा क्षेत्रको नेपाली वन मासिएकाले प्राथमिकताका साथ पुनः हरियाली बनाउने अध्यक्ष राईको भनाइ छ । सन्दकपुर गाउँपालिकामा रहेका २८ वटा सामुदायीक वन र अब गठन हुने ३ वटा सामुदायीक वनका उपभोक्तालाई ५० प्रतिशत अनुदानमा बिरुवा वितरण गरि वृक्षारोपण गर्ने योजना रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार