इलाम । संघीय सरकार र प्रदेश सरकारका कार्यालय राख्ने स्थान अभावले इलामका एक भवनमा तीन कार्यालयको बोर्ड राखिएपनि काम हुन सकेको छैन । पुरानो खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको भवनमा प्रदेश र संघीय सरकारको एक कार्यालयको स्थान तोकिएपनि कार्यलय समयमा कर्मचारी अटाउनै समस्या छ ।
संघीय सरकार र प्रदेश नम्बर एकको सरकारबिच श्रोत बाँडफाँड हुँदा खानेपानि तथा सरसफाई डिभिजन कार्यालय इलामको श्रोत प्रदेश सरकाको डिभिजनलाई हस्तान्तरण गर्यो । साविक मेची अञ्चलका चार जिल्ला कार्यक्षेत्र रहेर पाँचथर डिभिजनको मुख्य कार्यालय तोकिएको प्रदेश एकको खानेपानी तथा सरसफाई कार्यालयको इलाममा फिल्ड कार्यालय बसेर जिम्मा लिएको थियो ।
योजनासँगै श्रोत हस्तान्तरण भएपछि प्रदेशको खानेपानी डिभिजन कार्यालयले काम गरिरहेको अवस्थामा संघीय सरकारले चार जिल्ला कार्यक्षेत्र तोकेर अर्को आयोजना कार्यालय स्थापना गर्यो र प्रदेश सरकारकै सहरि विकास तथा भवन डिभिजन कार्यालयपनि तोकियो । २ भवन रहेको साविक खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको एक भवनमा स्टोर भरिएको छ भने ६ कोठा रहेको अर्को भवनमा ३ वटै कार्यालयका कर्मचारी कहाँ बसेर काम गर्ने भन्नेमा चिन्तित छन् ।
कार्यालय प्रमुख लेखिएको कोठामा २ जना कार्यालय प्रमुख कार्यालय समयमा हरेक दिन बस्छन् । एक जनाको मुकाम पाँचथर रहेकाले फिल्डका आयोजना हेर्न आउँदा जम्माभेट हुन्छ । तर तीन वटै कार्यालयको प्रशासनिक काम समेत अघि बढ्न सकेको छैन । संघीय सरकारको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको सहरि विकास तथा भवन डिभिजन कार्यालयको केन्द्र रहेपनि कार्यालयमा फर्निचर लगायका सामग्रीको अभावसँगै कर्मचारी बसेर काम गर्ने वातावरण छैन ।

कात्तिक ५ गते इलाममा मुख्य कार्यालय राख्ने निर्णय भएको प्रदेश सरकारको सहरि विकास तथा भवन डिभिजनले कार्यालयको बोड चार स्थानमा सारेपछि यहाँ आईपुगेको हो । शुरुमा इलाम सदरमुकामका धोविधार स्थित एक निजी घरमा बोर्ड राखेर काम गर्ने तोकिएपनि घरधनीले घरखाली गरेनन् । त्यसपछि दूई स्थानमा कार्यालय राख्ने भवन खोजिएपनि ठाउँ नपाएपछि प्रमुख जिल्ला अधिकारीको पहलमा धोविधारास्थित तत्कालिन खानेपानी डिभिजन कार्यालयको भवनमा सारिएको प्रमुख सुमन कुमार मिश्रले बताउनुभयो ।
संघीय सरकारको खानेपानी तथा ढल निकाय आयोजना झापामा बस्ने र प्रदशे सरकारको कार्यालय पाँचथरमा स्थापना भएपछि हामीलाई कार्यालय संचालनका लागि तोकियो प्रमुख मिश्रले भन्नुभयो–‘ संघीय सरकारको कार्यालय इलाममै स्थापना भएपछि काम गर्ने स्थान अभाव भएको हो ।’ कात्तिक ५ गते प्रदेश सरकारको सहरि विकास तथा भवन डिभिजन स्थापना भएको थियो भने पुष १९ गते संघीय सरकारले खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय स्थापना भयो ।

पुरानो डिभिजनकै कार्यालयमा रहने गरि खानेपानी तथा ढल व्यवस्थापन कार्यालय रहने भनेपनि प्रदेश स्तरका २ कार्यालयलाई व्यवस्थापन गरिएका कारण काम शुरु नै नभएको आयोजना प्रमुख विपुल लालदाशले बताउनुभयो । प्रमुख लालदाश भन्नुहुन्छ–‘कार्यालयको स्थान त तोकियो तर २ कार्यालय संचालनको लागि नै ठाउँ नभएको अवस्थामा हामीले काम नै शुरु गर्न सकेका छैनौ ।’ प्रदेश स्तरको खानेपानी तथा सरसफाई डिभिजनको फिल्ड कार्यालय मात्रै भएपनि बढी योजना इलाम भएकाले प्राविधिक जनशक्ति इलाममा बस्दै आएका छन् ।
संघीय सरकारबाट हस्तान्तरण भएका आएका योजनाका निर्माण सामग्री राखिँदै आएकाले पनि प्राविधिक कर्मचारी इलाममा बढी रहेका छन्, डिभिजन प्रमुख शुरतलाल चौधरीले भन्नुभयो–‘ओजनाका काम धेरै भएकाले हाम्रो फिल्ड कार्यालयमा कर्मचारी बढी बस्ने गरेका छन् ।’ सरकारले सहरि विकास तथा भवन कार्यालयको डिभिजनका लागि छुट्टै स्थानमा व्यवस्था भएपछि काम गर्न सहज हुने चौधरीले बताउनुभयो ।
इलाममा धेरै स्थानका निजी घर खोजिएपनि नभेटिएकाले खारेज भएको जिल्ला भु–संरक्षण कार्यालयको भवन जग्गा उपलब्धका लागि पहल गर्न सम्बन्धित निकायमा आग्रह गरिएको सहरी विकास तथा भवन निर्माण डिभजनका प्रमुख सुमनकुमार मिश्रले बताउनुभयो ।
मूलुक संघीय संरचनामा गएको लामो समय वित्दा पनि कार्यालायको व्यवस्थापनसम्ममा ध्यान नपुर्याएको अवस्थाले कर्मचारीमात्र हैन सेवाग्राहीलाई पनि प्रभाव परेको छ । यो कार्यालयमा रहेका ९ वटा कोठावाट संघ र प्रदेश अन्तर्गतका ३ वटा कार्यालयको काम सम्पादन भइरहेको छ । ‘यहाँसम्म आउदा चार ठाउँ परिवर्तन गरिसकेका छौं,’ शहरी विकासका सुमनले भन्नुभयो, ‘२४ जना कर्मचारीले नियमित काम गर्नु पर्ने अवस्थामा २ ३ वटा कोठावाट कसरी काम अघि बढाउने ।’
सहरी विकास अन्तर्गत मात्र ६० करोड रुपैयाँ भन्दा धेरैका योजना सम्पादन गर्नु पर्नेछ । चालु आर्थिक वर्षमा नै यतिधेरै काम गर्नु पर्ने जिम्मेवारी वोकेको कार्यालय प्रमुख कूर्सीमा नै बस्न सकेका छैनन् । संघीय खानेपानी तथा ढल व्यवस्थापनले चालु आर्थिक वर्षमा १९ करोड रुपैयाँ वरावरको योजना सञ्चालन गर्नु पर्नेछ । आर्थिक वर्षको ६ महिनापछि पनि कार्यालयको टुङ्गो भएपछि कसरी काम सम्पादान गर्ने टुङ्गो छैन । ९ जना कर्मचारीले काम गर्नु पर्ने अवस्थामा आफै कार्यालय बाहिर वस्नु पर्ने अवस्थाले कसरी समयमा काम सम्पादन गर्ने आयोजना प्रमुख विपुल लालदासले भन्नुभयो ।