Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

अनसनरत केसिलाई एन्टिबायोटिक औषधी दिन सुरु

अनसनरत केसिलाई एन्टिबायोटिक औषधी दिन सुरु

  • सन्देश सम्वाददाता
  • मंगलबार, माघ १ २०७५


अनसनरत केसिलाई एन्टिबायोटिक औषधी दिन सुरु

इलाम ।  स्वास्थ्य अवस्था बिग्रदै गएपछि इलाममा अनसनरत डा गोविन्द केसीलाई सुईबाट एन्टिबायोटिक आईभी एन्टिबायोटिक औषधी दिन सुरु गरिएको छ । मंगलबार अस्पतालले जारी गरेको सूचनामा केसीको स्वास्थ्य अवस्था अझ कमजोर हुँदै गएकाले उनकै सहमतिमा आईभी एन्टिबायोटिक औषधी दिन सुरु गरिएको जनाइएको छ ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा वृजेशकुमार साहले केसीलाई अन्य कुनै पनि औषधी प्रयोग नगरिएको जानकारी दिनुभयो । केसीको दायाँ फोक्सोमा निमोनिया भएको, रगतमा चिनीको मात्रा कम हुँदै गएको, मुटुको चाल घटेर ३५ र बढेर २०० सम्म पुगेको, शरीरमा अक्सिजनको मात्रा घटेर ८० प्रतिशतसम्म पुगेको पनि अस्पतालले जनाएको छ ।
केशिको टाउको दुखेको, पेट पोलेको, खुट्टाको मांशपेशीको दुखाइ बढेको र स्वास फेर्न अप्ठेरो हुन थालेको छ । अस्पतालले इन्फेक्सन हुन सक्ने हुनाले केसीलाई भेट्ने मानिसलाई सीमित गरी माक्स, गाउन र क्याप लगाएर मात्र भेट्न मिल्ने व्यवस्था मिलाएको छ । केशिको मुटुको चाल अनियमित भएको हुँदा आईसीयू वा सीसीयूमा राखेर उपचार गर्न आवश्यक भएको भन्दै इलाम अस्पतालले आफ्नोमा उक्त सेवा नरहेको पनि बताएको छ ।
१५ औं अनसनका क्रममा आफूसँग सहमति भएको बुँदाको अक्षरस पालना गरी चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने लगायत ६ बुँदे माग राखेर केसी १६ औं पटक पुस २५ गते इलाममा अनसन बसेका छन् । स्वास्थ्य अवस्था बिग्रिएपछि इलाम अस्पताल लगिएका केसीले त्यहीँ नै अनसन जारी राखेका छन् । रोगसँग लड्ने क्षमता अत्याधिक कम भएकाले, मुटुको चालपनि अनियमित भएकाले अहिले साँझबाट एन्टिबाइटिक औषधि लिन तयार भएको र औषधि दिन शुरु गरिएको अस्पतालका डाक्टर वृजेशकुमार साहले बताए ।

नागरिक समाजद्वारा डा केसीको जीवन रक्षाको अपिल

पूर्वप्रधानन्यायाधीशसहित नागरिक समाजका अगुवा, बुद्धिजीवी तथा सामाजिक अभियन्ताहरूले डाक्टर केसीको जीवन रक्षाको अपिल गरेका छन्।

विगत ७ दिनदेखि आमरण अनशनरत डाक्टर गोविन्द केसीसँग सरकारले गरेको सम्झौताको कार्यान्वयन गर्दै डाक्टर केसीको जीवन रक्षा गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहित नागरिक समाजका अगुवा, बुद्धिजीवी तथा सामाजिक अभियन्ताहरूले सरकार तथा जनप्रतिनिधिसमक्ष अपिल गरेका हुन्।

पछिल्लो सम्झौता प्रधानमन्त्री केपी शर्मा ओलीको पहल र संलग्नतामा उनकै निवासमा भएका वार्तापछि सम्भव भएको स्मरण गराउँदै त्यसको कार्यान्वयनको जिम्मेवारी सरकार, जनप्रतिनिधिसहित प्रधानमन्त्री स्वयंले लिनुपर्ने उनीहरूले बताएका छन्।

उनीहरूले चिकित्सा शिक्षा विधेयकलाई डा। केसीसँगको पछिल्लो सम्झौताबमोजिम पारित गर्न र डा केसीको जीवन रक्षा गर्न सरकार तथा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई अपिल गरेका हुन्।

नागरिक समाजको अपिल जस्ताको तस्तै

सरकार र जनप्रतिनिधिलाई नागरिक समाजको अपिल

१। नागरिक अभियन्ता डा। गोविन्द केसी हाल सत्याग्रहमा रहनुभएको अवस्थाप्रति हाम्रो ध्यानाकर्षण भएको छ । राज्यको इमान र विश्वसनीयता समाजका लागि संवेदनशील र महत्वपूर्ण कुरा हो । नेपाल सरकारले यसअघि डा। केसीसँग गरेका सम्झौता कार्यान्वयन गर्नु सरकार तथा संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको जिम्मेवारी हो ।

२। पछिल्लो सम्झौता प्रधानमन्त्री केपी शर्मा ओलीजीको पहल र संलग्नतामा उहाँकै निवासमा भएका वार्तापछि सम्भव भएको हो । त्यसैले, यो सम्झौताप्रति प्रधानमन्त्रीजीको व्यक्तिगत जिम्मेवारी पनि जोडिएको हामी स्मरण गराउन चाहन्छौँ ।

३। हाल संसदीय प्रक्रियामा रहेको चिकित्साशिक्षा विधेयकलाई डा। केसीसँगको पछिल्लो सम्झौताबमोजिम पारित गर्न र डा। केसीको जीवनरक्षा गर्न सरकार तथा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई अपिल गर्दर्छौं ।

४। सत्तारूढ दलको संसदीय नेतासमेत भएको नाताले प्रधानमन्त्रीज्यूले यसअघि आफ्नो निर्देशनबमोजिम डा। केसीसँग भएका सहमति र सम्झौताका पक्षमा आवश्यक संसदीय सहमति निर्माणमा पनि विशेष ध्यान दिनुहुनेछ भन्ने विश्वास लिएका छौँ ।

प्रतिक्रिया
सम्बन्धित समाचार