Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

कृषि अनुसन्धान परिषद्को कार्यालय स्थापनापछि आलुबालीका किसान उत्साहित

कृषि अनुसन्धान परिषद्को कार्यालय स्थापनापछि आलुबालीका किसान उत्साहित

  • सुजन तिमसिना
  • बिहिबार, पौस २६ २०७५


कृषि अनुसन्धान परिषद्को कार्यालय स्थापनापछि आलुबालीका किसान उत्साहित

इलाम ।  नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यालय स्थापना भएर आलुबालीको अनुसन्धानमा सक्रिय भएपछि पुर्वी नेपालको पहाडी जिल्लाका किसान उत्साहित भएका छन् । इलामको सन्दकपुर र माइजोगमाई गाउँपालिकामा पर्ने जौवारीमा सरकारले नेपाल कृषि अनुसन्धान परिषद् नार्कको कार्यालय स्थापना भएपछि किसानलाई प्राविधिक सेवा र उन्नत जातका आलुका बिऊ खरिदका लागि सहज भएको हो ।
२०२२ सालमा निर्माण शुरु भई २०३६ सालसम्म संचालनमा आएको आलु विकास केन्द्र बन्द भएको लामो समयपछि सरकारले २०७२ सालमा त्यहका जग्गा उपभोग गर्दै हिमाली क्षेत्रको अनुसन्धान केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । तत्कालिन कृषि विकास मन्त्री हरिबोल गजुरेलले उद्घाटन गरेको कृषि अनुसन्धान परिषद् नार्कको अनुसन्धान केन्द्रमा अहिले आलुबाली, सागसब्जि र बंगुर पालन सम्बन्धि अनुसन्धान गरिँदै आएको छ । अलपत्र अवस्थामा रहेको ८ हजार ८ सय २५ रोपनी क्षेत्रफलको सरकारी जग्गा उपभोगका लागि सरकारले नार्कको कार्यालय स्थापनापछि आलुको बिऊ उत्पादन गरि सरल मुल्यमा बिक्रि गर्ने काम प्रमुख रुपमा रहेका कार्यलयका प्रमुख तथा बरिष्ठ बालि विज्ञ राम कटुवालले बताउनुभयो ।

२ हजार ८ सय ३५ मिटर उचाईमा अनुसन्धान केन्द्र स्थापना गरिएपछि इलाम, पाँचथर र ताप्लेजुङ्ग जिल्लाका किसानले सहज रुपमा गुणस्तरीय आलुको विउ पाएका छन् । अनुसन्धान केन्द्र स्थापना भएपछि आलुको बीऊको माग उच्च भएको बरिष्ठ बालि विकास अधिकृत राम कटुवालको भनाइ छ । शुरुमा भौतिक पूर्वाधार निर्माण गर्ने, अनुसन्धान केन्द्रमा आवश्यक संरचना निर्माण गरि आलुको परिक्षण र बिऊ उत्पादन मात्रै गरेको थियो ।
१२ महिना चिसो हुने जैबारीमा आलु बाहेक अन्यबालिको अनुसन्धानका लागि संम्भाव्यता कम रहेकाले गृन हाउमा तरकारी बालीको अनुसन्धान थप गरिएको छ । आलुबालीको अनुसन्धान र उत्पादन ठुलै मात्रामा गरिँदै आएको केन्द्रमा बार्षिक ११ टन बढी आलुको बिऊ उत्पादनपछि किसानलाई प्रदान गर्दै आएको छ । गुणस्तरीय बिऊ पाउने भएपछि किसानहरुको आकर्षण बढेसँगै किसानको माग अनुसार केन्द्रले बाह्य अनुसन्धान केन्द्रबाट समेत सेवा प्रदान गर्दै आएको छ ।
केन्द्रले उच्च पहाडमा उत्पादन हुने खालका तरकारीबाली र कृषिबालीहरुको अनुसन्धान तथा प्रमाणिकरण गरिरहेको प्रमुख कटुवालले बताउनुभयो । राम्रो देखिएका आलुका जात, कृषि उपजका जाँच गरिँदा किसानलाई सहयोग पुगेको सन्दकपुर गाउँपालिकाका किसान उमेश गुरुङ्गले बताउनुभयो ।
किसानहरुको समुह मार्फत धाम, गहुँ र मकैको बिऊ उत्पादनको काम गर्दै आएको अनुसन्धान केन्द्र पाख्रिबास कालो बंगुरलाई प्रवद्र्धनका लागि सुर्योदय नगरपालिका र माईजोगमाई गाउँपालिकामा प्रजनन् केन्द्रहरु स्थापना गरिँदै आएको छ । जनक देव, डेजिरे, कार्डिनल, कुफ्री ज्योती, खुमल सेतो, खुमल उपहार प्रजातिको आलुको बीऊ उत्पादन हुने केन्द्रमा अत्याधिक माग भएपछि किसानलाई भने अनुसारको आपूर्ती गर्न सकेको छैन ।
भारत, भुटानबाट आलुको बिऊ आयात हुने गरेको भएपनि केन्द्र स्थापना भएपछि किसानहरुले बाह्य आलुको बिऊको प्रयोग गर्न छोडेका छन् । सदरमुकामदेखि उत्तरमा रहेको जौबारीमा यातायातका साधन चल्ने गाडि स्तरउन्नती नभएपनि किसानहरु आफै बिऊ लिन जाने गरेको अनुसन्धान केन्द्रले जनाएको छ । अनुसन्धान केन्द्रमा अहिले सात प्रजातिको आलुको बीऊ उत्पादन गर्छ भने बाह्य अनुसन्धान केन्द्र नयाँबजारबाट धान, गहुँ, घाँस लगायतका कृषि उपजको अनुसन्धान गरिँदै आएको छ ।
आलुखेतीको अनुसन्धानर बिऊ उत्पादनका लागि राम्रो भएपनि सडक र संचारको सुविधा नहुँदा काम गर्न गाह्रो भएको अनुसन्धान केन्द्रका प्रमुख राम कटुवालले बताउनुभयो । केन्द्रले आलुसँगै आगामि वर्षमा जडिबुटी, बाख्रापालन, पशुपालन र उच्च पहाडमा उत्पादन हुने फलफुलको अनुसन्धान गर्नका लागि थप बजेट माग गरिएको वहाँले बताउनुभयो ।
केन्द्रमा उत्पादन भएको आलुको बीऊ ग्रेडका आधारमा प्रतिमनको दुई हजार चारसयदेखि तीन हजार रुपैयाँसम्मका विक्री गरिन्छ । केन्द्रले उत्पादन गरेको एक मन आलुको बीऊबाट औसतमा १६ मनसम्म आलु उत्पादन हुने गरेको छ । केन्द्रमा उत्पादन भएको बीऊ मध्य पहाडी क्षेत्रको समुन्द्री सतहको एक हजार दुईसय मिटर देखि चार हजार मिटरसम्मको उचाइमा खेती हुने गरको । भारतसँग सीमा जोडिएको पर्यटकीय क्षेत्र रहेकाले जौबारीको अनुसन्धान केन्द्रलाई कृषि पर्यटनको रुपमा विकासका लागि समेत नार्कको केन्द्रिय कार्यालयमा प्रस्ताव गरिएको केन्द्र प्रमुख कटुवालले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार