साङ्रुरुम्बा । इलाम नगरपालिका वडा नम्बर १२ को पहिरो ६४ वर्षपछि नियन्त्रणमा आएको छ । पहिरो नियन्त्रणका लागि जल उत्पन्न प्रकोप तथा सिचाई डिभिजन कार्यालय विराटनगरले सटके पहिरो नियन्त्रण तथा संरक्षण उपभोक्ता समिति गठन गरि २०६७ सालमा नियन्त्रणको काम शुरु गरेको थियो । स्थानीय समुदायको सक्रियतामा पहिरो नियन्त्रणका लागि सरकारले आर्थिक वर्ष २०६९÷०७० सालबाट बजेट विनियोजन गरेको थियो ।
आर्थिक वर्ष २०६९÷०७० सालमा पहिरो नियन्त्रणका लागि ३५ लाख, आर्थिक वर्ष २०७०÷०७१ मा २२ लाख र आर्थिक वर्ष २०७१÷०७२ सालमा १९ लाख ६७ लाखमा पहिरो नियन्त्रणका खर्चिएको थियो । आर्थिक वर्ष २०७१÷०७२ सालमा पहिरो नियन्त्रणको काम पुरा भएपछि अहिले पहिरो क्षेत्रमा हरियालि छाएको उपभोक्ता समितिका अध्यक्ष महेन्द्रबहादुर राईले बताउनुभयो । पहिरो शुरु भएको क्षेत्रबाट तारजालि लगाई बग्न नदिएको र अन्य क्षेत्रमा बाँस रोपण लगायतको वृक्षारोपण गरिएको थियो ।
नियन्त्रणको कार्यक्रम शुरु भएको वर्ष केहि मात्रामा पहिरो बगेपनि अहिले पुर्णरुपमा नियन्त्रणमा आएको उपभोक्ता समितिका अध्यक्ष महेन्द्रबहादुर राईले बताउनुभयो । २०११ सालबाट शुरु भएको पहिरोेका कारण तत्कालिन साङ्रुम्बा गाविसको ५ वटा वडाका बासिन्दा जोखिममा परि हरेक वर्ष विस्थापित हुँदै आएका थिए । ‘सटके पहिरो’ नामले चिनिएको पहिरो नियन्त्रणका लागि तत्काल पहल नभएपछि यसले आकार लिँदै गएको थियो ।
२०२५ सालको भदौ, अशोज र कात्तिक महिनामा आएको अविरल बर्षापछि पहिरो नियन्त्रण बाहिर गएको थियो । पहिरो नियन्त्रण बाहिर गएपछि साङ्रुम्बा क्षेत्रबा ३ सय बढी परिवार विस्थापित भएको स्थानीय बताउँछन् । २०२५ सालमा २० घर दलित समुदाय र ३२ घरधुरी आदिवासी जनजाति समुदाय विस्थापित भएका थिए ।
पुवाखोलाबाट शुरु भएको पहिरोको लम्बाई एक हजार ५ सय मिटर र चौडा ९ सय मिटर लामो रहेको स्थानीय रत्न आधारभुत विद्यालयका प्रधानाध्यापक महेन्द्र बहादूर राईले बताउनुभयो । स्थानीयबासीको हरेक वर्ष विस्थापित हुनुपर्ने र खेतियोग्य जमिन बनाउने क्रम पहिरोबाट बढेपछि २०२५ सालदेखिनै नियन्त्रणका लागि सरकारलाई माग गरिँदै आएको थियो । पहिरो नियन्त्रणका लागि तत्कालिन राजा विरेन्द्रसँग समेत आग्रह गरिएको थियो ।
स्थानिय तह गठनहुुनु अघि साविक साङ्रुम्बा गाविसको एक, दुई, ३, ४ र ६ वडाका कोप्चे, डाँडागाउँ, तुन्दिम, लादेबेसि, बारुङ्ग टोल र गैरिगाउँ टोलका ५ बढी परिवार प्रभावित भइ चिन्तामा बसोबास गर्दै आएका थिए ।