Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

एकजना कर्मचारीको भागमा ११ शाखासम्म, इञ्जिनियरले वडा सचिवको समेत काम

एकजना कर्मचारीको भागमा ११ शाखासम्म, इञ्जिनियरले वडा सचिवको समेत काम

  • ग‌गा पराजुली
  • बुधबार, पौस १८ २०७५


एकजना कर्मचारीको भागमा ११ शाखासम्म, इञ्जिनियरले वडा सचिवको समेत काम

इलाम । दक्षिणि इलामको माई नगरपालिकामा ९६ जना कर्मचारीको आवश्यक भएपनि ९ जना मात्रै कार्यारत छन् । १० वडा रहेको नगरपालिकाले आन्तरिक श्रोतबाट ५ जना कर्मचारी थपेपनि कर्मचारीलाई कामको भार थपिने क्रम बढ्दो छ । नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत समेत नभएको १० महिना बितेको नगर प्रमुख दिपक थेवेले बताउनुभयो । अधिकार र काम थपिएपनि नगरपालिकामा नहुँदा योजना कार्यान्वयन, अनुगमन र प्रशासनिक काम गर्ने समस्या रहेको हो ।
कर्मचारी अभावले माई नगरपालिकामा एक कर्मचारीले ११ वटा फाट हेर्छन् भने इञ्जिनियरले वडा सचिवको समेत काम गर्छन् । वडा सचिवको काम र योजना कार्यान्वयनमा लाग्नुपर्ने प्राविधिकले वडा सचिवको समेत काम गर्नुपर्दा विकास निर्माणका योजनाले गति लिन सकेका छैनन् ।
दक्षिणकै चुलाचुली गाउँपालिकामा कर्मचारी नहुँदा योजना कार्यान्वयनको काम हुन सकेको छैन । गाउँपालिकामा प्राविधिक र प्रशासनिक कर्मचारीहरु पर्याप्त मात्रा नहुँदा कामको गति सुस्त रहेको छ । २९ जनाको कर्मचारी संघ सरकारले पठाउनुपर्ने भएपनि अहिले १० जना मात्रै कर्यारत छन् । वडा सचिव सबै वडा नहुँदा जनताको काम गर्न समस्या रहेको अध्यक्ष प्रदिपचन्द्र राईले बताउनुभयो । वडा कार्यालयमा योजना हेर्ने प्राविधिक साहायक र सचिव केन्द्र सरकारबाट आउनुपर्नेमा अहिले कुनै वडामा पनि प्राविधिक छैनन् । गाउँपालिकाको केन्द्रमा १७ जनाको दरबन्दि भएपनि अहिले ५ जना मात्रै कार्यरत रहेका छन् । शाखा अनुसारको कर्मचारी नहुँदा बजेट भएर पनि काम गर्न नसकिएको प्रमुख प्रशासकिय अधिकृत काजिमान राईले बताउनुभयो ।
कृषि, पशु, स्वास्थ्य र लेखा शाखाका प्रमु भएपनि ८ वडा बढी शाखाको जिम्मा लिने कर्मचारी नहुँदा काम कसरि गर्ने भन्ने गाउँपालिकामा समस्या रहेको छ । उत्तरी सन्दकपुर गाउँपालिकामा समस्या उस्तै छ । २२ जना कर्मचारी संघ सरकारबाट समायोजन भएर आउनुपर्नेमा अहिले ८ जना मात्रैले गाउँपालिकाको काम धानिरहेका छन् । सबै वडामा वडा सचिवहरु भएपनि प्राविधिक कर्मचारी र शाखा अनुसारको कर्मचारी नहुँदा योजना कार्यान्वयनमा समस्या रहेको गाउँपालिकाका प्रवक्ता गिरिराज खनालले बताउनुभयो । गाउँपालिकामा प्राविधिक कर्मचारी नहुँदा भौतिक पूर्वाधारको योजना कार्यान्वयन र अनुगमनको काम गर्ने नसकिएको हो ।
पहाडी क्षेत्रको ठुलो नगरपालिका सूर्योदय नगपालिकाको मुख्य प्रशासनिक भवनमा ३९ जना कर्मचारी आवश्यक छ । तर अहिले १५ जनाले काम गरिरहेको प्रमुख रणबहादूर राईले बताउनुभयो । हामीलाई आवश्यक पर्ने कर्मचारीहरु नहुँदा काम गर्न समस्या देखिएको छ प्रमुख राई भन्नुभयो—‘इलामका अन्य स्थानीय तहको तुलनामा कर्मचारी धेरै देखिएपनि ठुलो क्षेत्रफल संरचना भएकाले कर्मचारी अभावले पिरोलेको छ ।’ १४ वडा रहेको नगरपालिकाको २ वडा वडा सचिव छैनन् भने प्रमुख कार्यालयका धेरै वटा शाखाहरुका प्रमुख नभएको मेयर राईले जानकारी दिनुभयो ।
उत्तरपूर्वी माईजोगमाई गाउँपालिकाको मुख्य प्रशासनिक कार्यालय ४ जनाले धानेको छ । २१ जना कर्मचारीको दरबिन्द मुख्य प्रशासनिक कार्यालयमा भएपनि अहिले प्रमुख प्रशासकिय अधिकृत, लेखा प्रमुख, प्रशासन प्रमुख र एक प्राविधिक मात्रै छन् । गाउँपालिकाको ६ वटा वडामध्ये ४ वडामा मात्रै वडा सचिव छन् भने मुख्य प्रशासनिक कार्यालयका शाखाहरु रित्तै रहेको प्रमुख प्रशासकिय अधिकृत चन्द्र बस्नेतले बताउनुभयो । केन्द्र र वडा गरि २९ जना कर्मचारीको दरबन्दि भएपनि अहिले ११ जना मात्रै कार्यरत हुँदा काम गर्न समस्या भएको अध्यक्ष जित बहादूर राईले बताउनुभयो ।
२०१७ सालमा गठन भएको सदरमुकाम रहेको इलाम नगरपालिकाको समस्या उस्तै छ । नगरपालिकामा ४२ जना कर्मचारी आवश्यक भएपनि अहिले संघ सरकारबाट खटिएका ७ जना मात्रै कमचारी छन् । पुरानो नगरपालिका भएकाले आन्तरिक श्रोतबाट राखिएका कर्मचारीले काम चलिरहेको प्रमुख प्रशासकिय अधिकृत सहदेव रायमाझिले बताउनुभयो ।
जिल्लाको पश्चिमि देउमाई नगरपालिकाको मुख्य प्रशासनिक कार्यालय र वडा कार्यालय संचालनका ७० जना कर्मचारी आवश्यक पर्छ । तर अहिले २२ जनाले काम गरिरहेको र आन्तरिक श्रोतबाट अत्यावश्यक कर्मचारी थप गरि काम गरिरहेको प्रमुख सुर्य पोखरेलले बताउनुभयो ।
इलाममा १० वटा स्थानीय तह छन् । स्थानीय तह गठन भएपछि तत्कालित जिल्ला विकास समिति, जिल्लाका बिषयगत कार्यालय र संघ सरकारबाट कर्मचारी खटाएर काम संचालन गरिएको थियो । स्थानीय तह गठन पछि निर्वाचनबाट जनप्रतिनिधिहरु आएपछि पूर्णरुपमा स्थानीय तह संचालनका कानुन निर्माण भएपनि सेवा दिने कर्मचारी अभाव रहेको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले बताउनुभयो । कर्मचारी कम भएर काम गर्न समस्याका गुनासा दिनैपिच्छे स्थानीय तहबाट आउने गरेको जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले बताउनुभयो । स्थानीय तहबाट कर्मचारी चाँडो पठाउन पहल गर्नुपर्यो भनेर माग आउने क्रम बढेको छ प्रमुख बरालले भन्नुभयो— हामीले गुनासा संघ सरकारसँग पुर्याउने गरेको र संघ सरकारबाट माघ १५ सम्म कर्मचारी व्यवस्थापन गरिसक्ने आस्वासन पाएका छौँ ।

प्रतिक्रिया
सम्बन्धित समाचार