काठमाडौं । प्रा डा गोविन्द केसीले आफ्नो १६औँ अनसन इलामबाट सुरु गर्ने भएका छन्। अनसनको बन्दोबस्त मिलाउनका लागि उनी मंगलबार इलाम पुगिसकेका छन्। सरकारसँग भएको सम्झौता पूरा गर्न दिएको समयसीमा सकिएलगत्तै सरकारलाई दबाब दिन इलाम पुगेर अनसन सुरु गर्न लागेका हुन् । यसअघि उनी १५औँ अनसन जुम्लामा बसेका थिए। सरकारले आफ्ना मागहरू पूरा गर्ने छाँटकाट नदेखेपछि डा। केसीले मंगलबारबाट पुनः अनशन सुरु गर्ने भएका हुन्। यसअघि पुस दुई सोमबारसम्म आफ्नो माग पूरा गर्न अल्टिमेटमु दिएका उनले पूरा नभए अनसन सुरु गर्ने बताएका थिए। तर संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले केही समय दिन आग्रह गरेपछि १७ गतेसम्मको समयसीमा दिएका थिए। यद्यपि मंगलबारसम्म पनि उनको माग पूरा गर्ने कुनै संकेत नभएपछि केसी १६औँ अनशन सुरु गर्ने मनस्थितिमा पुगेका हुन्।
केसी अनसनको लागी इलाम पुगिसकेको उनका सहयोगी अविशेकराज सिंहले टुइटर मार्फत सार्वजनिक गरेका छन ।
१६ औ सत्याग्रहको लागि डा गोबिन्द केसीले दिनुभयको अल्टिमेटमको आज अन्तिम दिन भयकाले डा केसी सत्याग्रहको तयारीको लागि पुर्बी नेपालको इलाम पुगिसक्नुभयको छ र यसपालिको लडाइँ इलामबाट लडने हुनुभयको छ।
आशा छ सरकार समयमै गम्भीर बन्ने छ र माग सम्बोधन हुनेछ! pic.twitter.com/nfnFgZMKpX— Dr Abhishek Raj Singh (@SinghR_Abhishek) January 1, 2019
डा। केसीसँग सरकारले विगतमा गरेको सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक संसदमा दर्ता भएको छैन। उनले सम्झौताविपरीत स्वास्थ्य शिक्षाका सिटिइभिटीअन्तर्गतका कार्यक्रमहरू चिकित्सा शिक्षा आयोगको कार्यक्षेत्रबाट हटाउन तथा आवासिय चिकित्सकहरूलाई हतोत्साही गर्न तथा माफियाहरूका अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिनेतिर सरकार लागेको आरोपसमेत लगाएका छन्।
गत साउन १० गते सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्ने, संसदबाट चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने, सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम सुरु गर्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबिबिएस भर्ना सुरु गर्नुपर्ने, नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारवाही गर्नुपर्नेलगायतका माग केसीका रहेका छन्।
निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गर्नुपर्ने उनले आफ्नो मागमा उल्लेख गर्दै आएका छन्। केसी गतअसार १६ गते १५औँ अनशन जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बसेका थिए। पछि सरकारले उनलाई उपचारका लागि भन्दै काठमाडौं ल्याएको थियो। डा। केसीको १५औँ अनसन २७ दिनमा तोडिएको थियो। (थाहा खबरबाट)