इलाम । देशकै पहाडी क्षेत्रको सबैभन्दा ठुलो सूर्योदय नगरपालिकामा विकास बजेट पुस महिनाको पहिलो सातासम्ममा ४ प्रतिशत पनि खर्च भएको छैन । २० करोड बढी विकास बजेट रहेको सूर्योदय नगरपालिकाले पुश १५ देखि मात्रै विकासका पूर्वाधारका काम शुरु गर्ने योजना छ । १४ वटा रहेको नगरपालिकाका क्षेत्रका हिउँद बर्षानै गाडि चल्ने ग्रामीण सडकको डिपिआर निर्माणको काम अन्तिम चरणमा रहेकाले दोस्रो सातादेखि पूर्वाधार क्षेत्रको बजेट कार्यान्वयनमा जाने सुचना अधिकारी खगेन्द्र बर्देवाले बताउनुभयो ।
७८ करोड चालु आर्थिक वर्षको बजेट नगरपरिषद्बाट पास गरिएको सूर्योदय नगरपालिकाले जेठको अन्त्यसम्मा विकास बजेट खर्च गरिसक्ने योजना बनाएको छ । ठेक्का मार्फत गर्नुपर्ने योजना संझौताको काम अन्तिम चरणमा पुगेको छ, नगरपालिकाका सुचना अधिकारी बर्देवाले भन्नुभयो–‘पुषको १५ देखि उपभोक्ता समितिबाट गर्नुपर्ने र निर्माण व्यवसायीबाट गर्ने सबै योजना एकसाथ संझौता गरि जेठ मसान्तभित्र विकास बजेट खर्च गरिसक्ने योजना छ ।’
१० करोड विकास बजेट रहेको दक्षिणि गाउँपालिका चुलाचुलीमा पनि अहिलेसम्म विकास बजेट खर्च भएको छैन । साना र धेरै योजना छनौट गरेको चुलाचुली गाउँपालिकामा ५ महिनामा ५ प्रतिशत पनि पुँजिगत बजेट खर्च नभएको प्रमुख प्रशासकिय अधिकृत काजिमान राईले बताउनुभयो । चैत्र मसान्तभित्र विकासका ओजनाको ८० प्रतिशत सक्ने कार्यतालिका बनाएपनि गाउँपालिकाले अहिलेसम्म योजना संझौता गर्न सकेको छैन । योजना धेरै र प्राविधिक कर्मचारी कम भएका कारण विकासका योजनाको स्टामेट गर्न समस्या भएपनि उपभोक्ता समितिहरुलाई प्रशिक्षण दिएर पुषको २० देखि सबै योजना संझौता गरि कार्यान्वयन शुरु गर्ने प्रशासकिय अधिकृत काजिमान राईको भनाइ छ । ठेक्का मार्फत गर्ने योजनाहरु थोरै भएकाले बर्षात लाग्नु अघिनै सबै काम गर्ने गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईले बताउनुभयो ।
जिल्लाको उत्तरी सन्दकपुर गाउँपालिकाले विकासे बजेट खर्च गर्न शुरु गरेपनि प्रगति न्युन छ । प्रदेश सरकारबाट छनौट भएका विकासका योजनाको अख्तियारी आएपछि सबै योजना कार्यान्वयनमा लाने सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताउनुभयो । हामीले उपलब्ध प्राविधिक जनशक्तिलाई योजनाको सर्भे र स्टामेटमा खटाएका छौ–राईले भन्नुभयो–‘संघीय सरकारबाट प्राप्त बजेटबाट विनियोजन भएका योजनाहरु संझौता हुने थालेकाले चैत्र मसान्तमा सबै काम सक्छौँ । ९ करोड विकास बजेट रहेको सन्दकपुर गाउँपालिकाले चालु आर्थिक वर्षमा वडाबाट गाउँपालिकाको केन्द्र जोड्ने र एक वडाबाट अर्को वडा जोड्ने सडक, खानेपानी र सिचाई योजनालाई प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष उदयबहादूर राईले बताउनुभयो ।
दक्षिणि देउमाई नगरपालिकाले आर्थिक वर्षको ५ महिनामा ३० प्रतिशत विकास बजेट खर्च गरेको छ । ५४ करोड कुल बजेटमध्ये पहिलो चौमासिकमा निकासा भएको बजेटबाट पूर्वाधारका कामको प्रगति ३० प्रतिशत रहेको देउमाई नगरपालिकाका मेयर सूर्य पोखरेलले बताउनुभयो । हामी चैत्र मसान्त भित्रमा सबै काम सक्छौँ मेयर पोखरेलले भन्नुभयो–‘पूर्वाधार निर्माणमा देखिएका समस्या आए तत्काल हल गरि सबै काम बर्षात अघि नै सक्नेछौ ।
इलाममा १० वटा स्थानीय तह रहेका छन् । १० वटा स्थानीय तहहरुले धेरैजसो सडक खानेपानी, विद्युत, सिचाई र संचार क्षेत्रमा विकास बजेट विनियोजन गरेका छन् ।