Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

शिक्षकलाई नियमित गराउन विद्युतीय हाजिरीको व्यवस्था

शिक्षकलाई नियमित गराउन विद्युतीय हाजिरीको व्यवस्था

  • गोविन्द लामिछाने
  • शनिबार, पौस १४ २०७५


शिक्षकलाई नियमित गराउन विद्युतीय हाजिरीको व्यवस्था

मङ्गलवारे । फाकफोकथुम गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठले गाउँपालिकाका सबै विद्यालयमा विद्युतीय हाजिरी राखिने बताउनुभएको छ ।
इलामको फाकफोकथुम गाउँपालिका–४ फूएतप्पामा रहेको विष्णु माध्यमिक विद्यालयको ६८ औं वार्षिक उत्सवका अवसरमा शुक्रवार उहाँले शिक्षा क्षेत्रको सुधारका निम्ति पहिलो पटक शिक्षकलाई नियमित गराउन विद्युतीय हाजिरीको व्यवस्था गर्न लागिएको बताउनुभएको हो ।
विष्णु माविलगायत गाउँपालिका भरका ४२ वटै विद्यालयलाई आगामी वर्ष गाउँसभाबाट विशेष व्यवस्था गर्न लागिएको उहाँले बताउनुभयो । तीन दिनसम्म सञ्चालित कार्यक्रमको पहिलो र दोस्रो दिन विद्यालयका अतिरिक्त क्रियाकलाप आयोजना गरियो । अतिरिक्त क्रियाकलापमा विजयी विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरियो ।
सोही अवसरमा विद्यालयमा सहयोग पुर्याउने पूर्वप्रधानाध्यापक, शिक्षक तथा समाजसेवीलाई दोसल्ला ओढाएर सम्मान गरियो । सम्मानित हुनेहरूमा पूर्वप्रअ चन्द्रप्रसाद खनाल, रमेशप्रसाद रेग्मी, यादवप्रसाद अधिकारी, पूर्व शिक्षक प्रेमबहादुर मगर र नरेन्द्रकान्त पौडेल रहनुभएको छ । उहाँहरूलाई गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठ, गाउँपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्रप्रसाद भट्टराई, वडाध्यक्ष हरिप्रसाद दंगालीले दोसल्ला तथा सम्मान पत्र प्रदान गर्नुभयो ।
विद्यालयमा टिकानाथ खनाल र नेत्रकुमारी खनालले आफ्ना स्वर्गीय मातापिताको नाममा स्थापना गर्नुभएको शशीकृष्ण अक्षयकोषबाट प्राप्त व्याजबाट एसईई परीक्षामा उत्कृष्ठ अंक ल्याउने सुजना खनाल, दिपकिशोर रेग्मी, मिलन मगर र हरिमाया मगरलाई पुरस्कृत गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक खेम राना, वडाध्यक्ष हरिप्रसाद दंगाली, हुपेन्द्र खनाल, श्रोतव्यक्ति खगेन्द्रप्रसाद भट्टराईलगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार