इलाम । नेपाली चिया क्षेत्रको समस्या अध्ययन गर्न गठन भएको उच्चस्तरीय कार्यादलको प्राविधिक उप समितिले पूर्वी नेपालका चिया बगान र उद्योगको अध्ययन गरेको छ । चियाको उत्पादन, प्रशोधन, बजारीकरण र श्रम क्षेत्रमा देखिएका समस्या समाधानका लागि गठन भएको उच्च स्तरीय समितिको प्राविधिक उप समितिले इलाम र झापाका चिया बगान तथा उद्योगको अध्ययन गरेको हो ।
किसान, उद्योग र बजारीकरण आवश्यक नितिगत तथा प्राविधिक सहयोगको बारेमा अध्ययनका लागि श्रम रोजगार तथा सामाजिक विकास मन्त्रालयका उप सचिव कविन्द्र नेपाल सहितको ३ सदस्य टोली खटिएको छ । आइतबारबाट काम शुरु गरेको टोलीले झापाका चिया उद्योगी, व्यवसायी, किसानसँगको सुझाव संकलन गरि आज इलामका ठुला मझौला, साना उद्योगी तथा किसानसँगै अन्तरक्रिया सम्पन्न गरेको छ ।
प्राविधिक समितिले चिया क्षेत्रमा श्रम ऐन कार्यान्वयन, किसान तथा उद्योगीका समस्या, अर्गानिक उत्पादन र बजारीकरण गर्ने उपायाका बारेमा गरिएको अध्ययन उच्चस्तरीय समितिमा छलफल गरि सरकारलाई प्रतिवेदन बुझाउने समितिका सदस्य तथा उद्योगी उदय चापागाईले बताउनुभयो ।
उद्योगीहरुले सरकारले जारी गरेका श्रम ऐन २०७५ चिया क्षेत्रमा लागु गर्न नसक्ने बताएपछि सरकारले २ महिना अघि श्रम तथा रोजगार मन्त्रालयका सचिव महेश प्रसाद दाहालको संयोजकत्वमा उच्चस्तरीय कार्यदल गठन गरेको थियो ।
उप सचिव कविन्द्र नेपाल सहितको ३ जनाको प्राविधिक उप समितिमा श्रम रोजगार तथा सामाजिक विकास मन्त्रालयका मेकानिकल इञ्जिनियर जोजिजु र शाखा अधिकृत प्रेम उपाध्याय रहनुभएको छ । प्राविधिक उप समितिले किसान, उद्योगी र व्यवसायीसँग अन्तरक्रिया गरि सरकारले गर्नुपर्ने सहयोग कामका बारेमा उच्चस्तरीय समितिलाई पुष २५ गतेसम्म प्रतिवेदन पेश गर्नेछ । त्यसपछि छलफल गरि सरकारले नेपाली चिया क्षेत्रमा गर्नुपर्ने कामका बारेमा उच्चस्तरीय समितिले ठोस अध्ययन सहितको प्रतिवेदन पेश गर्ने सदस्य उदय चापागाईले बताउनुभयो ।