पशुपतिनगर । इलामको सुर्योदय नगरपालिकामा रहेको मेची अञ्चल आयुर्वेद औषधालयमा निःशुल्क वितरण गर्ने औषधिहरुको खरिद गरिएको छ । संघीय सरकारबाट स्थानीय तहमा हस्तान्तरित कार्यक्रम अनुसार सूर्योदय नगरपालिकाले औषधि खरिद गरेको हो ।
आर्थिक वर्ष २०७५÷०७६ मा वितरण गरिने औषधिहरुको खरिद गरि विरामीहरुलाई निःशुल्क वितरण गरिएको मेची अञ्चल आयुर्वेद औषधालयका प्रमुख खगेन्द्र पौडेलले बताउनुभयो । औषधालयको ओपिडिबाट जाँच पश्चात वितरण गरिने २३ प्रकारका औषधि ३ लाख रुपैयाँको औषधि खरिद गरिएको हो ।
यस्तै गाउँघर क्लीनिकबाट निःशुल्क वितरण गरिने ८ प्रकारका औषधि २ लाख बराबरको खरिद गरि नगरपालिकाले औषधालयमा हस्तान्तरण गरेको हो । औषधालयले संचालय गर्दै आएको जेष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन कार्यक्रममा आवश्यक २५ हजार बराबरको भिटामिनयुक्त ३ प्रकारको औषधि र सुत्केरी महिलाको लागि आवश्यक पर्ने एक प्रकारको औषधि २५ हजार बराबरको खरिद गरिएको हो । यस्तै पञ्चकर्म अर्थात फिजियोथेरापि संचालनका लागि ३ प्रकारका औषधि २५ हजारको खरिद गरि बिरामीहरुलाई सेवा दिन थालेको हो ।
पछिल्लो समय मानिसहरुमा आयुर्वेद चिकित्सा प्रति आर्कषण बढ्दै गएपछि निःशुल्क वितरण गर्ने औषधिको माग समेत बढेको छ । आधुनिक जिवनशैली र विषादीयुक्त खानपानले मानिसहरुमा नसर्ने रोगले बढी सताउन थालेपछि मानिसहरुमा एलोपेथिक भन्दा आयुर्वेदिकमा सर्वसाधारणको चासो र आर्कषण बढ्दै गएपछि औषधिको माग बढ्दै गएपछि नगरपालिकाले छोटो प्रक्रियाबाट औषधि खरिद गरेको थियो ।
मेची अञ्चल आर्युेवेद औषालय इलामको तथ्याङक अनुसार आर्थिक बर्ष ०७४÷७५ मा जिल्लाका आर्थिक बर्षमा संख्या बृद्धि भइ ५ हजार २ सय २७ पुगेको कार्यालयका प्रमुख खगेन्द्र पौडेलले बताउनुभयो ।
एलोपेथिक उपचारको तुलनामा असर काम हुने भएकाले आयुर्वेद औषधी प्रति आर्कषण बढदै गएको पौडेलले जानकारी दिनुभयो । आयुर्वेद उपचारको माग बढ्दै गएपछि मेची अञ्चल आयुर्वेद औषधालयले ग्रामिण तहका बासिन्दाहरुलाई लक्षित गरी गाँउघर क्लिनिक समेत संचालन गर्दै आएपछि औषधिको समेत माग बढ्दै गएको हो । सुर्योदय नगरपालिका–१२ आइतबारेमा मेची अञ्चल आयुर्वेद औषधालयको अतिरिक्त जिल्लाका अन्य ४ स्थानबाट आयुर्वेदिक सेवा संचालन गरिरहेको छ ।
औषधालयले विभिन्न ३० भन्दा बढी प्रकारका रोगहरुको उपचार गर्दै आएको छ । जेष्ठ नागरिक, सुत्केरी महिला र नसासम्बन्धि पंचकर्म जस्ता रोगको समेत उपचार गर्दै आएको औषधालयमा धेरैजसो ग्याट्रिक र बाथ रोगी बिरामीले सेवा लिँदै आएका छन् ।